फिचर

'... अनि नख्खु जेल ब्रेक गरियो’
SHARES

'पार्टी बिग्रिएको होइन, पार्टी चलाउने नेताहरू बिग्रिएका हुन्'

कात्तिक १८, २०७५

    काठमाडौं : वि.सं. २०२५ तिर किसान आन्दोलनको रापले क्रमश: पूर्वी नेपालमा पनि छुँदै थियो। किसानहरू जमिन्दारविरोधी आन्दोलनमा स्वत:स्फुर्त रूपमा सरिक हुँदै थिए। कम्युनिस्ट आन्दोलनको एउटा उद्गमस्थान झापामा पनि त्यसबेला निमुखा किसानलाई आन्दोलनले छोएको थियो। त्यही आन्दोलनले धेरै नेतालाई जन्म दियो। कति नेताहरू अहिले पनि सक्रिय राजनीतिमा छन् भने कोही निस्क्रिय भइसकेका छन्। केही पार्टीबाटै पाखा पनि लगाइएका छन्।

    झापाको किसान आन्दोलनले उनलाई पनि निकै राजनीतिक चेत दिलायो। निमुखा र गरिब किसानका लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले चिमोट्यो। २०-२१ वर्षको लक्का जवान। यो समय जनताका लागि नगरे कहिले गर्ने भन्ने विषयले दिनैपिच्छे चिमोट्थ्यो रे उनलाई। त्यसैले उनी किसान आन्दोलनमा होमिए।

    सुरुमा स्वतन्त्र रूपमा आन्दोलन चलिरहेको थियो। राजनीतिक दलका नेताहरू पनि किसान आन्दोलनमा सहभागी थिए तर आन्दोलनले राजनीतिक रूप लिएको थिएन। श्रीप्रसाद सिवाकोटी, अम्बर अधिकारी, डम्बर बानियाँ, तिलविक्रम ढकाल जस्ता नेताहरूले पनि किसान आन्दोलनलाई साथ दिएका थिए। 

    एकातिर किसान आन्दोलन चलिरहेकै थियो। मनमोहन अधिकारी नेतृत्वको मार्क्सवादी कम्युनिस्ट पार्टीबाट छुटेर पूर्वपश्चिम प्रान्तीय कमिटी बन्यो र आन्दोलन सुरु भयो। त्यसपछि किसान आन्दोलनमा पनि राजनीति घुस्यो। पूर्वमा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ, सीपी मैनाली, राधाकृष्ण मैनाली जस्ता नेताहरू किसानसँगै कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए। 

    २०२७ सालमा किसानको निकै ठूलो आन्दोलन भयो। त्यो क्रममा भीष्म धिमालसहित तीन जना पक्राउ परे। त्यो बेला करिब २०-२५ दिन जेलमा बसे उनीहरू। त्यसपछि भीष्म तारिखमा छुटे। त्यो बेला क्रमश: किसान आन्दोलनमा राजनीति घुस्दै थियो। जेलबाट छुटेपछि धिमाल पनि सीपी मैनाली, राधाकृष्ण मैनाली, रामनाथ दाहाललगायत नेताको सम्पर्कमा पुगे। उनलाई नेताले तारिख नधाउन सुझाव दिए। कम्युनिस्ट आन्दोलनमा लाग्न प्रेरित पनि गरे।

    त्यसपछि कम्युनिस्ट आन्दोलमा होमिए उनी। लगत्तै मूल्य नियन्त्रण आन्दोलन भयो। त्यस क्रममा उनीहरूले प्रशासन घेराउ गरे। काँकडभिट्टा बोर्डरमा सडकमै राती सुते पनि। ‘हामीले नेपालको चामल भारतमा जान हुँदैन भनेका थियौँ’, भीष्मले भने, ‘नेपालमा चामलको मूल्य घट्नुपर्‍यो भन्ने हाम्रो माग थियो।’ त्यो आन्दोलनदेखि धिमाल पनि प्रहरीको 'नोटिस'मा परे। उनको नाममा वारेन्ट जारी नै भयो।

    त्यसपछि उनी पनि नचाहँदा नचाहँदै कम्युनिस्ट बने। उनी मात्र होइन, झापमा त्यो बेला धेरै जना नचाहँदा नचाहँदै कम्युनिस्ट बनेको उनी सुनाउँछन्। 

    २०२८ सालमा झापा आन्दोलनले उग्र रूप लियो। तत्कालीन पंचायती सरकारले नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहालको हत्या गर्‍यो। त्यसपछि धिमालसहितका नेताहरू भूमिगत भए। 

    त्यो बेला उनी इन्डियन कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगे। नक्सलबारीमा धिमालका आफन्त थिए। उनी त्यहाँ पुगेपछि कम्युनिस्ट पार्टीका नेताको विचार सुन्दा आन्दोलनको ऊर्जा मिल्ने गरेको उनी सुनाउँछन्। केही त गर्नै पर्छ भन्ने प्रभाव उनमा पनि पर्‍यो। भूमिगतकै क्रममा उनी २०२९ माघ १ गते काँकडभिट्टाबाट पक्राउ परे। 

    'अनि नख्खु जेल ब्रेक गरियो'

    पक्राउ परेपछि उनको जीवनमा सबैभन्दा दुःखद् क्षण सुरु भयो। उनले त्यसपछि १७ वर्ष लामो जेल जीवन बिताउनुपर्‍यो। पक्राउ गरेपछि उनलाई झापा जिल्ला कारागार चन्द्रगढी पुर्‍याइयो। त्यहाँ १५ महिना राखेपछि उनलाई वीरगंज लगियो। वीरंगजमा १५ दिन राखेपछि केन्द्रीय कारागारमा ल्याइएको उनी स्मरण गर्छन्। त्यहाँ करिब सात दिन राखेपछि उनीहरूलाई नख्खु जेलमा पुर्‍याइयो। 

    नख्खु जेलमा झापा आन्दोलनका नेताहरू भेला भएका थिए। त्यहाँ उनीहरू अरूभन्दा फरक बौद्धिक देखिएका धिमाल बताउँछन्। एक वर्षसम्म केही योजनाबिना उनीहरू जेल बसे। त्यसपछि एक दिन जेलमा यसै बस्न नहुने निष्कर्ष निस्कियो। ‘बाँचे जनताको साथमा पुगिन्छ, मरे शहीदको सूचीमा परिन्छ भन्ने भयो’, उनी भन्छन्, ‘त्यसपछि हामी जेलबाट भाग्ने निष्कर्षमा पुग्यौँ।’ 

    त्यो बेला नख्खु जेलमा झापा विद्रोहका नेताहरू सी.पी. मैनाली, घनेन्द्र बस्नेत, धर्म घिमिरे, नरेश खरेल, नारद वाग्ले, जीवन मगर, राजेन राजवंशी, हर्क खड्कालगायत थिए। उनीहरूसँगै कम्युनिस्ट नेताहरू माधव पौडेल, प्रदीप नेपाल, वीरबहादुर लामा, गोपाल शाक्य, परमेश्वर यादव र अशोक न्यौपाने पनि थिए। १५ जना नेताहरू जेलबाट भाग्ने योजना बनाउन छलफलमा जुटे। 

    ‘त्यो बेला तीन विकल्प निस्किए- पहिलो पर्खाल नाघ्ने, दोस्रो जेलबाट प्रहरीलाई आक्रमण गर्दै जाने र तेस्रो सुरुङ खनेर भाग्ने’, उनले भने, ‘तर डरपोक तरिकाले भाग्नुहुँदैन भनेर साथीहरूले सुझाव दिनुभयो। त्यो गर्दा पनि धेरै क्षति हुने देखियो अनि पर्खाल नाघ्न पनि संभव थिएन। चारैतिर करेन्ट लगाइएको थियो। हामीले चिनयाँ कम्युनिस्ट पार्टीले जेल ब्रेक गरेको सम्बन्धी किताब 'टनेल वार' पढेका थियौँ। जेल ब्रेक गर्ने निधो गर्‍यौँ।’ तर जेल ब्रेक गर्नु सहज थिएन। त्यसबेलाको कडा सुरक्षा। त्यसलाई तोडेर भाग्नुपर्ने अवस्था थियो। 

    त्यसपछि त्यहाँ कसले के गर्ने भन्ने जिम्मेवारी पनि छुट्याइयो। सीपी मैनालीले आउने मान्छे भेट्ने काम गर्थे। उनले प्रशासनका बारेमा पनि जानकारी लिने गर्थे। प्रदीप नेपाल जेलमा हुँदा पनि कला र साहित्यमा निकै रुचि राख्थे। उनी त्यहाँ गितार बजाएर अन्य कैदी तथा जेल प्रशासनलाई भुलाउने काम गर्थे। 

    त्यसपछि सुरुङ खन्न सुरु भयो। सुरुङ खन्न सुरु २०३३ माघको अन्तिम साता भएको धिमाल बताउँछन्। उनीहरूबीचमा कसले सुरुङ खन्न सुरु गर्‍यो भन्ने विवाद अझै छ। उनीहरूमध्येका माधव पौडेल आफूले खन्न सुरु गरेका दाबी गर्छन् तर धिमाल भने त्यो स्वीकार गर्न तयार छैनन्।

    ‘यो हामीबीचमा पनि विवाद भएको विषय हो। अस्ति साथीहरूले किताब लेख्ने भन्नुभयो तर धेरै कुरा ढाँट्न खोजियो। मैले मेरो कलम बन्द भनेँ’, उनले भने, ‘पहिला माधव पौडेल पनि खन्न जानुभएको थियो तर उहाँ फर्कनुभयो। वीरबहादुर तामाङ र मैलेचाहिँ खन्न सुरु गरेका थियौँ। अहिले उहाँ मैले सुरु गरेको भन्दै जिद्धी गर्नुहुन्छ। त्योचाहिँ मलाई चित्त बुझेन।’ 

    त्यो बेला सुरुङ खन्न ३२ दिन लागेको थियो। जेलमा बस्नेलाई सब्जी खेती गर्नका लागि बारी थियो। त्यसका लागि कुटो थियो। त्यही कुटोले सुरुङ खन्न सुरु गरेको धिमाल बताउँछन्। ‘हामीले त्यो बेला एउटा कुटो अनि भरुवा बन्दुकको नालले जेलको बार बनाइएको थियो, त्यो प्रयोग गर्‍यौँ’, उनले भने, ‘त्यसबाहेक डाडु, पन्यु पनि सुरुङ खन्न प्रयोग गर्‍यौँ।’ 

    खन्दै गर्दा त्यहाँबाट निस्किएको माटो र ढुंगा कहाँ व्यवस्थापन भयो? भन्ने जिज्ञासा जोकोहीलाई पनि लाग्न सक्छ। तर उनीहरूले निकै बुद्धिमानी अपनाएका थिए। ‘सीपी मैनालीले विज्ञान पढ्नुभएको। माटो यति निस्किन्छ भनेर अनुमान लगाउनुभयो। तर त्योभन्दा बढी माटो निस्कँदा हामीलाई समस्या भयो’, उनले भने, ‘त्यहाँ ढुंगा खासै निस्किएन। निस्किएका ढुंगालाई हामी त्यही सुरुङमा एकतर्फ राख्थ्यौँ। माटोको व्यवस्थापनमा निकै समस्या भएको थियो।’ 

    माटोलाई पानीले भिजाएर बगाएको धिमाल सम्झिन्छन्। ‘त्यहाँ नजिकै इनार थियो। त्यहाँबाट पानी ल्याएर माटो बगाउँथ्यौँ। लुगाको गोजीमा माटो ल्याएर लुगा धुने निहुँमा माटो बगाउँथ्यौँ’, उनले भने, ‘अरू माटो हामीले कोठामा अोछ्यान जस्तो बनाएर राख्थ्यौँ। त्यहाँमाथि अोछ्यान लगाउँथ्यौँ अनि तरकारीबारीमा राखेर पनि व्यवस्थापन गर्‍यौँ।’ 

    जेलको प्रशासन र अन्य कैदीले थाहा पाउने डर पनि त्यतिकै थियो। अशोक न्यौपानेबाहेक १४ जना नेताले त्यसलाई गोप्य राखेका थिए। उनीहरूलाई अन्य कैदी र जेलरले पनि राम्रै व्यवहार गर्थे। ‘हामी अरू जस्तो जेलरलाई नराम्रो व्यवहार गर्दैनथ्यौँ। जेलको नाइकेलाई पनि सम्मानका साथ बोलाउँथ्यौँ’, उनी भन्छन्, ‘जेलरहरूले हामीलाई झापाली भन्थे। यी झापालीहरू अरूलाई नराम्रो गर्दैनन्, गरे सहँदैनन् भन्थे र हामीलाई चलाउँदैनथे। हामीले उनीहरूलाई प्रभावमा राखेका थियौँ।’

    सुरुङ खन्दै गर्दा माथिबाट काठको फल्याक राखेर उनीहरूले थाहा नपाउने बनाएका थिए। सुरुङ खन्दा त्यहाँबाट आवाज आउँछ कि भनेर निकै बुद्धिमता अपनाएको धिमालले बताए। ‘हामीसँग धेरै संकेत थिए। अलिक कडा ठाउँमा खन्नुपर्ने छ भने प्रदीप नेपालले निकै जोडका साथ गितार बजाएर गीत गाउनुहुन्थ्यो’, उनी भन्छन्, ‘हामीले सुरुङभित्र बिजुलीको बल्ब पुर्‍याएका थियौँ। यदि बाहिरको अवस्था खतरा छ भने संकेतका रूपमा त्यो बल्बलाई झ्याप्पझ्याप्प मार्दै बाल्दै गरिन्थ्यो।’

    यसरी संघर्ष गर्दा ३२ दिनपछि ६५ मिटरको सुरुङ पनि तयार भयो। त्यसबेला १४ जना कम्युनिस्ट नेताहरूले निस्किएर कहाँ बस्ने भन्ने योजना पनि बनाएका थिए। उनीहरूले कम्युनिस्टलाई सहयोग गर्ने अशोक न्यौपानेलाई पनि सँगै लिएर निस्कने योजना बनाए। केही महिना उनीहरूले काठमाडौं बस्ने योजना बनाएका थिए तर असफल भयो। 

    जेलमा संँगै बसेका साथी हर्क खड्का हराएपछि उनीहरूले काठमाडौं नबस्ने योजना बनाएको धिमाल बताउँछन्। ‘हर्कजी सबैसँगै हुँदा पक्राउ परिन्छ भनेर त्यहाँबाट एक्लै जानुभएछ’, उनी भन्छन्, ‘उहाँ पक्राउ पर्नुभयो भने हामीलाई पनि समस्या हुन्छ भन्ने लागेर हामी काठमाडौं नबस्ने भयौँ। तर पार्टीको कामका लागि सीपीलगायतका नेताहरू काठमाडौंमै बस्ने भन्ने सल्लाह भयो। हामी दुई दिन हात्तीवनमा बस्यौँ।’

    त्यसपछि धिमाल, नारद वाग्ले, धर्म घिमिरे, नरेश खरेल, घनेन्द्र बस्नेतलगायतका नेता जनतासँगै काम गर्न भनेर पूर्वतिर लागे तर तत्कालीन पंचायत सरकारको व्यापक खोजीमा रहेका उनीहरू कहाँ भाग्न सक्थे र! लगत्तै हेटौँडाबाट पक्राउ परे। 

    अनि हथ्कडी खोलियो

    पक्राउ पर्नेबितिकै उनीहरूलाई पुनः नख्खु जेलमै लगियो। जेल ब्रेकको पक्राउपछि जेल जीवन निकै कष्टकर बन्यो उनीहरूको। त्यसपछि उनीहरूलाई हात र खुट्टामा हथ्कडी र नेलकडी लगाएर एक जना मात्र अट्ने कोठामा राखियो। तर त्यो बेला उनीहरूलाई अलिकति पनि पश्चताप थिएन। ‘हामीलाई फेरि पक्राउ गरियो। अब गर्छौ भन्दै सोध्थे’, उनी भन्छन्, ‘तपाईंहरूको पक्रने काम, हाम्रो भाग्ने भन्दै जवाफ फर्काउँथ्यौँ।’

    दोस्रो पटक पक्राउ गरिएको एक महिनापछि ललितपुर जिल्ला अदालतमा बयानका लागि लगियो। त्यसबेला उनलाई धिमाल जातिको सोझो भनेर सुरुमा बयान लिन तयार गरिएको उनी बताउँछन्। ‘मलाई सुरुमा बयान लिन खोजियो। सबै सत्यसत्य भन भनियो’, उनले भने, ‘तर म बोल्दै बोलिनँ। किन नबोलेको भन्दै सोधेपछि मैले श्रीमान यो अपराधी घर हो कि न्यायको घर हो? भनेर सोधेँ। अपराधीको घर हो भने भोटे तल्चा लगाउनु, होइन भने हात र खुट्टामा लगाएको साङ्लो खोल्नु भनेँ।’

    त्यसपछि न्यायाधीशले हथ्कडी खोल्न निर्देशन दिए तर त्यसको चाबी लिन नख्खु नै पुग्नुपर्ने अवस्था आएको उनी सुनाउँछन्। ‘हातको त खोलियो तर खट्टाको खोल्न समस्या थियो। त्यसलाई फुटाउनै पर्थ्यो’, उनी भन्छन्, ‘त्यसपछि मात्र मैले बयान दिएँ।’ उनीसँग १७ वर्ष लामो जेल जीवन बिताएको अनुभव छ। २०४६/०४७ को जनआन्दोलनभन्दा तीन महिनाअघि मात्र उनी रिहा भएका थिए। 


    ... र अन्त्यमा 
    अहिलेको राजनीतिक अवस्था देखेर उनी धेरै दुखी छन्। ‘हामीले यसकै लागि आन्दोलन गरेका थिएनौँ’, उनी भन्छन्, ‘हामी त परिवर्तनका लागि लडेका थियौँ।’ आफूहरूले जति आन्दोलन गरे पनि अहिले फेरि देश वर्गीय विभेदमै फसेको उनी बताउँछन्। 

    ‘अहिले कम्युनिस्ट पार्टी बिग्रिएको होइन, पार्टी चलाउने नेताहरू बिग्रिएका हुन्’, उनी भन्छन्, ‘हामी वर्गीय विभेद अन्त्य गर्न लडेका थियौँ तर हात्तीका दुई खाले दाँत हुन्छन् भनेजस्तै भयो। वर्गीय विभेदकै कारण अहिले म यो स्थानमा छु तर किन आन्दोलनमा लागेछु भन्नेचाहिँ कहिल्यै लागेन।’

चिरञ्जिबी घिमिरे

पत्रकार घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]