|

तेह्रथुम : कार्यालय समयमा सेवाग्राहीलाई सेवा दिनुपर्ने कर्तव्यबाट बिमुख भई कार्यालय बिदा नै नभई घर पुगेका कर्मचारीले हाजिरी भने गरेका छन्। नेपाल विद्युत प्राधिकरण, तेह्रथुम बितरण केन्द्रका एक कर्मचारीले २० गतेसम्मको हाजिरी अगाडि नै गरेर घर गएका हुन्।

नेपाल विद्युत प्राधिकरण, तेह्रथुम बितरण केन्द्रका इलेक्ट्रिसियन कर्मचारी सन्तोषकुमार झाले कात्तिक २० गतेसम्मको हाजिरी गरेको कार्यालयको हाजिरी तथा बिदा रेकर्ड रजिष्टरमा उनले गरेको हस्ताक्षरबाट देखिन्छ। बधचौडा ५ धनुषा घर भएका कर्मचारी झा विगत ६ महिनादेखि नेपाल विद्युत प्राधीकरण, तेह्रथुम बितरण केन्द्रमा कार्यरत थिए। 

ट्रेड युनियनको क्षेत्रीय कार्यालयमा कार्यक्रममा १६ गते नै विराटनगर गएका उनले २० गतेसम्मको हाजिरी अगाडि नै गरेको विषयमा बिदा बसेका कर्मचारीको हाजिरी खातामा आफूले रातो लगाएर आफू पनि विराटनगर आएको नेपाल विद्युत प्राधिकरण, तेह्रथुम वितरण केन्द्रका प्रमुख प्रेमबहादुर भण्डारीले बताए। १६ गतेको कार्यक्रममा गएका भागवत मेहनता र सन्तोषकुमार झाको खातामा रातो लगाएर नै आफू हिडेको उनले पटकपटक जोड दिनसम्म भ्याएका छन्।

 पछिल्ला दिनको हाजिरी गर्ने त सम्भावनै छैन, अझ हाजिरी नगरी घर जाने कर्मचारीहरूको पनि हाजिरी खातामा काटेको प्रमुख भण्डारीले जिकिर गरेका छन्।उनले इ–हाजिरी अनलाइन हुने भएकाले त्यसमा फरक नपर्ने भन्दै खाताको हाजिरी भने आफूले काटेको बताए। यदि कुनै पनि कर्मचारीले यस्तो किसिमको फटाई गरेको पाइएमा कर्मचारीलाई सरुवा गर्ने तथा नियम कानुनअनुसार कारबाही गर्ने प्रमुख भण्डारीले बताए। 

व्यवस्था परिवर्तन भए पनि मानिसको मानसिकता र प्रवृति नफेरिएसम्म देश विकास र समृद्धिमा फड्को मार्न नसकिने हुन्छ। त्यसमा पनि राज्यको स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरू नै गैरजिम्मेवार भए भने योजना कार्यान्वयन तथा देश विकासमा समस्या आउने गर्दछ। तसर्थ सबै नागरिक आ-आफ्नो काम, कर्तव्यप्रति जिम्मेवार भई समृद्ध नेपाल निर्माणमा लाग्नु आजको आवश्यकता हो।

असल कर्मठ कर्मचारीलाई पुरस्कृत गर्दै भ्रष्ट तथा गैरजिम्मेवार कर्मचारीलाई सजायको व्यवस्था गर्नुपर्ने अगुवाहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.