|

भक्तपुर : काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाक्लो उपस्थिति भएका शहरहरूमा गाईजात्रादेखि यन्या पुन्ही अर्थात ईन्द्रजात्रासम्म साँस्कृतिक महोत्सवको माहोल हुने गर्छ। ऐतिहासिक र धार्मिक महत्त्वका महाकाली, देवी, भैलः, ईन्द्र अप्सरा, लाखे, मयुर र बाँदर नाचलगायतका नाचले नेवार समुदायलाई रातभर जागा राख्ने गर्छ। 

भक्तपुरमा ईन्द्रजात्राको समाप्तिसँगै बडादशैँ र धान भित्र्याउन व्यस्त रहने नेवार समुदाय बडादशैँको कोजाग्रत पूर्णिमाको साँझदेखि एक महिना दाफा भजनमा रमाउने गर्छ। तर मध्यपुर थिमी- ७ नगदेशका ८२ वर्षीय गुरु भक्तबहादुर घजु भने साँझ परेपछि आफ्ना ११ वर्षीय पनाति दीपेन घजुलाई पछिमाको परताल

नातिङ धाँ, नातिङ धाँ, 
नातिङ द्रुख, निखता द्रुख नाथ था था
ताक घिनी घिन
घेन्दुक घिनी घिनी 

भन्दै पछिमा बजाउन सिकाउने कार्यमा व्यस्त छन्। घजु आफ्नो पनातिलाई यो बाजाको तालसँगै अन्य साँस्कृतिक बाजाहरू तबला, मादल, ढलक, धिमे, बाँसुरी, हार्मोनियमलगायत बाजा सिकाउने कार्यमा समेत व्यस्त देखिन्थे। छोरा नातिले साँँस्कृतिक महत्त्वका प्याखँ (नाच) र नेवारी मौलिक बाजाहरू सिके पनि गुरु बनेर अरूलाई सिकाउने चासो दिएनन्। त्यसैले पनातिले आफ्नो बिँडो थामुन् भन्ने आकांक्षाले पढ्ने, लेख्ने र विद्यालय जाने समयबाट बचेको समयमा बाजाको सीप निखार्दै ल्याएको गुरु घजुले बताए। उनले भने, ‘मेरो पनातिले यी सबै बाजाहरूसँगै मसँग भएका नाचहरू सिकेमा पाँचौँ पुस्ताको गुरुले पूर्णता पायो। यसलाई सिकाएको खण्डमा मैले अर्को गुरु जन्माउनुपर्छ भन्ने मलाई लाग्दैन। यसमा विश्वस्त छु।’

गुरु घजुले आफ्नो घरको पाँचौँ पुस्तालाई गुरुको रूपमा स्थापित गर्ने उद्देश्यले दैनिक एक घण्टा पनातिलाई आफूमा भएको ज्ञान बाँडिरहेका छन्। गुरु घजु मध्यपुर थिमीकै जीवित साँस्कृतिक धरोहर हुन्। मध्यपुर थिमी क्षेत्रमा साँस्कृतिक बाजागाजा र ऐतिहासिक महत्त्वका नाचहरूका प्रख्यात गुरुहरू श्रीगोपाल प्रजापतिलगायतका गुरुहरू जन्माउने श्रेय गुरु घजुमा जान्छ। 

‘बाजेको त मलाई केही थाहा छैन तर मसँग जे जति ज्ञान छन्, ती सबै मेरो बुबाको देन हो। त्यो ज्ञान मैले मेरो पुस्तालाई मात्र नभएर थिमी, चपाचो, ख्याननी र भूलाँखेललाई बाँडेँ। त्यहाँ धेरै गुरुहरू जन्माएँ। अब म त्यो ज्ञान मेरो आफ्नो पुस्तामा बाँड्न चाहन्छु, जसले मेरो बिँडो थामोस्। मेरो घरमा गुरु खाली नहोस्’, उनले भने, ‘मेरो बुबा, म, छोरा, नाति र अहिले पनाति गरी पाँचौँ पुस्ताको गुरु जन्माउने तरखरमा छु।’ 

यति कलिलै उमेरमा पढाइसँगै यी सबैको भार कसरी थाम्छ बच्चाले? भन्ने प्रश्नमा उनले भने, ‘मैले नौ वर्षमा सिकेर १६ वर्षमा गुरु भएर निस्किएँ। सिक्न गाह्रो छैन। मनमा नासद्योः (नृत्यनाथ)को बास हुनुपर्छ। सिकाउनुपर्छ, सिक्नुपर्छ। यसलाई निरन्तरता दिनुपर्छ अनि स्वतः सिक्नेको मनमा नासद्यःले बास गर्छ। सजिलै सिकिन्छ। मात्र एकाग्रता हुनुपर्छ। मेरो घरमा नृत्यनाथको बास छ, सिकिन्छ पनि।’ 

नगदेश नृत्यनाथ भजन खलः र सिद्धि गणेश खलःका गुरुका रूपमा समेत स्थापित हुन सफल घजुले चार हातखुट्टाले काम गरेसम्म संस्कृति जगेर्नामा समर्पित हुने अठोट व्यक्त गरे। ८२ वर्षको उमेरमा पनि देश विदेशको जस्तोसुकै कुनाकाप्चामा गएर साँस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने क्षमता राखेका घजु देशभरिका जस्तोसुकै गुरु अगाडि आफूलाई निपूर्ण गुरुका रूपमा स्थापित गर्न सक्षम रहेको दाबी गर्छन्।

पारिवारिक पृष्ठभूमि

मध्यपुर थिमी- ७ नगदेशका भक्तबहादुर घजुको जन्म सामान्य किसान परिवारमा भएको थियो। वि. संं. १९९३ मा बुबा जीतलाल र माता शिरकुमारीबाट ११औँ सन्तानको रूपमा उनको जन्म भएको थियो। ११ सन्तानहरूमध्ये कान्छो छोराको रूपमा जन्म लिएका घजुका दाजुभाइ, दिदीबहिनीमा आफू र एक दिदीले मात्र बाँच्न पाउने अवसर पाएका थिए।

बुबा जीतलाल घजु आफू सानैदेखि भजन, विभिन्न बाजागाजालगायत विभिन्न नाचहरूको गुरुका रूपमा प्रख्यात थिए। सबै दाजुहरूको देहान्त भएका कारण बुबाले आफ्नो शाख जोगाओस् भनी नौ वर्षको कलिलै उमेरदेखि विभिन्न बाजागाजाका साथ विभिन्न नाचहरूको बारेमा घरमै प्रशिक्षण दिए। हातमा कपी, कलम र किताब बोकी विद्यालय जाने समयमा किताबको शिक्षाको सट्टा उनलाई महाकाली, भैल, पुलुकिसी, म्हेखा प्याखः (मयुर नाच), लाखे प्याखः, लुसिचा प्याखः, कप्या फेनेगु प्याखः र वाःपिज्याः प्याखःको शिक्षा दिए। उनले त्यो सबै शिक्षा उत्तीर्ण गरी १६ वर्षको कलिलै उमेरमा आफूलाई बहुप्रतिभाका धनी गुरुका रूपमा स्थापित सफल भए। आफू गुरु भएपछि थिमी, चपाचो, ख्याननी, भूलाँखेल र कला परिषद् थिमीलगायतका स्थानहरूमा समेत विस्तार गरी श्रीगोपाल प्रजापति, सिद्धिबहादुर र रामकृष्ण वैद्य जस्ता गुरु जन्माउन सफल भए। 

संस्कृति जगेर्नासँगै यसरी गरे संघर्ष

ती छोरा र तीन छोरीसहित परिवार पाल्ने भार पनि घजुमै थियो। पुर्ख्याैली पेसा कृषि भए पनि कृषिले मात्र परिवार धान्न सक्ने स्थिति नभएपछि उनले लामो समय संस्कृति जगेर्नासँगै नारायणघाटबाट धान ल्याई चामल बेच्ने काम गरेर परिवार धान्दै आएको बताए। 

‘परिवार पाल्न जीवनमा काम नगरेको खासै केही छैन होला’, उनले भने, ‘जीवनमा संघर्षको कुरा गर्‍यो भने कति कति। नौ वर्षको उमेरदेखि मैले नाच, बाजा, भजन, धर्मलक्ष्मी संवाद र संस्कृत ज्ञान त्यतिकै सिकेको होइन। यसमा पनि मैले धेरै संघर्ष गरेँ। बुबालाई संस्कृति जगेर्ना गर्न आफूले बिँडो थामिदेअोस् भन्ने चाहना थियो। मैले त्यो पूरा गरेँ। सिक्नुपर्छ, सिकाउनुपर्छ र निरन्तरता दिनुपर्छ। त्यो सिद्धान्तलाई आत्मसात गरी अगाडि बढेँ। आज म सफल भएँ।’ उनले विगतलाई सम्झँदै भने, ‘बुबाले मलाई यो शिक्षा दिएको समय भजन गाउँदा होस् या बाजा बजाउँदा, एउटा शब्द र ताल नमिलेपछि लामो लठ्ठीमा बाँडेको सिस्नुको स्वाद चाख्नुपर्थ्याे।' 

पछिमा बजाएर महाकाली नाचको परतालमा मग्न थिए उनी। बाजा बजाउँदै गर्दा एउटा शब्द मिलेन, बुबाले लामो लठ्ठीको स्वाद चखाइहाले। उनले भने, ‘वास्तवमा भन्ने हो भने मैले बुबाबाट सिस्नुको स्वाद चाख्नुपर्ला भनेरै प्रशिक्षण लिएको सात वर्षको अन्तरालमा महाकाली, भैरव, पुलुकिसी, म्हेखा प्याखः, लाखे प्याखः, लुसिचा प्याखः, कप्या फेनेगु प्याखः र वाःपिज्याः प्याखःकासँगै यस नाचका तालका बाजाहरू, धर्मलक्ष्मी सम्वाद शास्त्र र संस्कृत शिक्षाको ज्ञान हासिल गरेँ।’ 

नगदेशबासीहरू अहिले पनि घजुलाई गुरुदक्षिणा नलिने गुरुका रूपमा चिन्छन्। उनले आठ दशकको आफ्नो जीवनयात्रा अन्य पेसासँगै संस्कृति जगेर्नामा समर्पित गरिसके। यसबीचमा उनले कसैसँग पनि गुरुदक्षिणा स्वरूप पैसा र अन्न माग गरेनन्। ‘आफूसँग भएका ज्ञान बाँडेर कमाउने गुरुमा म परिनँ। मैले ज्ञान बेच्ने होइन, मात्र बाँड्ने हो। ज्ञान भनेको व्यापार गर्ने कुरो होइन। मात्र बाँड्ने कुरो हो’, उनले भने, ‘१६ वर्ष छँदादेखि अहिलेसम्म मैले धेरै गुरु जन्माएँ। कति गुरुहरूको देहान्त नै भयो। एउटा गुरु मेरो आफ्नो माइलो छोराको पनि दुर्घटनाले मृत्यु भइसक्यो। कसैसँग पनि गुरु दक्षिणा मागिनँ। त्यसैले मलाई सबैले मेलै दिएको शिक्षाको दक्षिणा स्वरूप मलाई सम्मान स्वरूप शिरमा बेत्ताली र शरीर ढाक्ने एक जोर लुगा दिन्छन्। म यसैमा सन्तुष्ट छु।’ 

सम्मानसँग आफ्नै शिष्यका कारण अवसर गुमाए

उपत्यकालगायत विभिन्न जिल्लाका तारे होटलहरूमा हुने साँस्कृतिक कार्यक्रममा थुप्रै पटक सम्मानित र पुरस्कृत हुने अवसर पाएका घजुले फिनल्याण्डमा गएर विभिन्न नाचहरू प्रस्तुत गरेको अनुभव सँगालेका छन्। साथसाथै भक्तपुर महोत्सव, विराट नेपाल भाषा, भिजन नेपाल, नेवाः गुठी, ज्यापु महागुठी र नेवाः दे दबुबाट सम्मान गरेको उनले सुनाए।

यन्या पुन्हीको समयमा वसन्तपुरमा महाकाली नाचको निर्णायकको रूपमा समेत लामो समय काम गरिसकेको घजुको अनुभव छ। गुरु घजुले आफूले पाएको अवसर आफूले जन्माएका शिष्यकै कारण पटक पटक गुमाउनुपरेको तीतो अनुभव पनि सँगालेका छन्। उनले भने, ‘मैले सिकाएका मेरा शिष्यहरू गुरु भएर आएका छन्। कतिले त विदेशमा थुप्रै पटक सम्मान पाए। कति राज्यबाटै पुरस्कृत भए त कतिले नागरिक अभिनन्दन जस्तो सम्मान पाए। त्यसमा मलाई नै खुसी लाग्छ किनभने मैले दिएको शिक्षाबाट आज उनीहरूले देश विदेशमा नेवारी संस्कृतिको चिनारी दिन सफल बनेका छन्।’

गुरु घजुमा आत्मसन्तुष्टि मात्र छैन, दुःखेसो पनि छ आफ्ना शिष्यहरूप्रति। उनले भने, ‘कति कुरामा मैले दुःखका साथ भन्नुपर्छ- मैले जन्माएका शिष्यबाट मलाई सम्मान लिन बोलाउँछन्। आफूभन्दा माथि बसिदिन्छन्। मानौँ, मलाई उनीहरूले जन्माएको जस्तो व्यवहार गर्छन्। यसले मलाई कहिलेकाहीँ साह्रै दुःखी बनाउँछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.