|

 

 

तिमीलाई गहिरो गरी पढ्नका लागि

मैले एउटा सिंगो रात मागेको छु।

 

म कल्पना गर्न सक्छु-

तिम्रा खुट्टादेखि शिरसम्म

पत्रपत्र पल्टाउँदै

एउटा अनन्त आनन्दको रहस्य पढ्दै गर्दा

जून सर्वाङ्ग हुने छ र

पोखिने छ, आकाशमा।

 

हो त्यही एक रात-

म सिंगो जीवनको तिर्खा मेट्न चाहन्छु

त्यस पछि मैले

कुनै चरम सुखको तिर्खा पाल्नु नपरोस्।

 

तिमीमा भरिएर

उथलपुथल बन्दै गएको

यौवनको तालमा

म डुबुल्की मार्न चाहन्छु

यसपछि

जीवनमा कहिल्यै गर्मी नचढोस्।

 

तिमी तारे भीर जस्तो

कति कठिन छौ

त्यही रात म

तिमीमा आरोहण गर्न चाहन्छु

यसपछि

चढ्नु पर्ने सबै चाहनाहरू

सदाका लागि समाप्त पार्न चाहन्छु

अनि एउटा सफल आरोही बनेर

जीवनभर सन्तुष्ट रहन चाहन्छु।

 

हो, त्यही एक रात

तिमीमा फुलेका गुलाफको सुगन्धले

म जीवनभर सुगन्धित हुन चाहन्छु

ताकि, सुगन्धको अर्को कुनै राग खोज्नु नपरोस्।

 

तिमीलाई गहिरो अध्ययनका लागि

मैले एउटा सिंगो रात मागेको छु

हो, त्यही रात-

ममा उम्लिएका काउकुती पोख्ने छु

अनि जीवनभरका लागि हलुका हुने छु।

 

जिन्दगीमा

डुबुल्की मार्नुपर्ने तालहरू

चढ्नुपर्ने आकाङ्क्षाहरू

पोख्नुपर्ने रहरहरू

अनि नाङ्गिएर सप्तरंगी बन्ने कल्पनाहरू

सबैसबै समाप्त पारेर

एउटा गम्भीर तृष्णा मेटाउन चाहन्छु।

 

तिमी

अध्ययनको कहिल्यै अन्त्य नहुने

विश्वविद्यालय जस्तो

जीवनभरको तिमीमाथिको अध्ययन

एकै रातमा समाप्त पार्ने

दुस्साहस गर्दै छु।

 

तिमीलाई गहिरो अध्ययन गर्नका लागि

एउटा अँध्यारोको अनुष्ठान गरेर वसेको छु

हो, त्यही अँध्यारोमा

म पनि पत्रपत्र खोलिने छु

तिम्रा सामु।

 

हो, त्यही रात

तिमीले सदाका लागि

मलाई उन्मुक्त पार्नुपर्ने छ

जिन्दगीका वासनाहरूबाट।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.