|

उदयपुर : जिल्लाको पहाडी क्षेत्रका किसानहरू अदुवा खेतीबाट आत्मनिर्भर बनेका छन्। परम्परागत खेती छाडेर व्यावसायिक अदुवा खेती थालेपछि किसानहरूको अाम्दानी बढेको हो। 

जिल्लाको आठै स्थानीय तहका मध्य पहाडी क्षेत्रका किसान अदुवा खेतीमा आर्किषत भएका छन्। विशेषगरी कटारी नगरपालिकाको हर्देनी, मयाँखु, लेखानी, सिरिसे, लिम्पाटार लगायतका क्षेत्रका किसानले व्यावसायिक रूपमा अदुवा खेती गरेका छन्। अदुवाबाट वार्षिक रूपमा तीनदेखि १० लाखसम्म अाम्दानी लिने गरेको उनीहरू बताउँछन्।

गाउँ गाउँमा पुगेको कृषि सडकको माध्यमबाट अदुवाले सहज रूपमा बजार पाउन थालेपछि अाम्दानी बढेको कटारी नगरपालिका ११ का किसान राजत राउतले बताए। ‘हर्देनी, मयाँखु लगायत क्षेत्रका अदुवा उत्पादन हुने प्रचार–प्रसार भएसँगै भारतीय तथा काठमाडौं, विराटनगर र पोखरा व्यापारीहरू सिधै यहाँ खरिद गर्न आउनथालेका छन,’ उनले भने, ‘एक किसानले सामान्य रूपमा तीन लाखदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन्।’ व्यापारी घरघरमा खरिद गर्न आउँदा किसानले राम्रो मूल्य पाउन थालेको उनले बताए।

गतवर्ष अदुवाबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरेका मयाँखुका किसान मोहन श्रेष्ठले यसपालि बिउ बाहेक अाठ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्यमा रहेको बताउँछन्। ‘गएको वर्ष अदुवा धेरै थियो, मूल्य प्रतिकिलो ३० देखि ३५ सम्म थियो,’ उनले भने, ‘यो वर्ष सुरुमै ६० रुपैयाँ पुगेकाले आशा पलाएको छ।’

सरकारी तथा गैर सरकारी निकायबाट अदुवा खेतीमा सहयोग हुन थालेपछि अन्य किसान पनि यसमा आकर्षित भएका छन्। हरेक वर्ष अदुवा खेती गर्ने किसानको संख्या बढ्दै गएको छ भने जग्गाको क्षेत्रफल पनि विस्तार हुँदै गएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। उदयपुरको १५० हेक्टरभन्दा बढी जग्गामा दुई हजार मेट्रिक टनभन्दा बढी अदुवा उत्पदान हुँदै आएको ज्ञान केन्द्रको भनाइ छ। ज्ञान केन्द्रका बाली विकास अधिकृत रामसेवक ठाकुरले यो वर्ष सुरुमै राम्रो मूल्य अाएकाले किसानको आम्दानी बढ्ने दाबी गरे।

आर्थिक वर्ष ०७२\०७३ मा हालको कटारी नगरपाकिला हर्देनी, मयाँखु, लेखानी क्षेत्रलाइए अदुवाको पकेट क्षेत्र घोषणा गरिएको थियो। पकेट क्षेत्र घोषित भएपछि अदुवा प्रशोधनका लागि अनुदानको रूपमा  समुदायलाई  मेसिन उपलब्ध गराइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.