विचार

बिन्दास जिन्दगी
SHARES

मंसिर २०, २०७५

    आखिर जीवन न हो। कहिले कहाँ त कहिले कता। अनेकौँ व्यक्तिबाट प्रभावित बनिन्छ। मेरा सुख, दुःखमा कतिले मनबाट मुस्कान छरे, आँसु झारे। कतिले सुख, दुःख दिए तर अहँ, त्यसले न उनीहरूलाई मुस्कान दियो, न त आँसु नै। प्राणीको स्वभाव नै अचम्मको हुँदोरहेछ। कहिले कुन मोडमा कस्ता व्यक्तिसँग ठक्कर खानुपर्ने हो– न मलाई थाहा छ, न त कसैलाई पत्तो नै। त्यस्ता व्यक्तिहरूसँगको संगतले जीवनको मार्ग नै परिवर्तन पनि हुनसक्छ वा हुनसक्थ्यो। यो हामी सबैको भोगाइमा पर्छ। कति याद रहन्छन् त कतिलाई फेरि मस्तिष्कको कुनै कुनाबाट उखेल्नुपर्छ। यो स्तम्भ यस्तै व्यक्तिहरूमा समर्पण गर्ने चेष्टा छ। कति यहाँका परिचित पनि हुनसक्लान्, कति नितान्त अपरिचित।

    मेरो जन्मको कारकमध्ये एक, मेरा बाबा। जीवनमा अहिलेसम्म भोगेका सुख दुःखका सर्जक पनि। मानसिक रूपमा बलिया तर कलिला र मायालु। गुण थिए त अवगुण पनि– हरेक मानवमा झैँ। हामी त्यो समयमा जन्मियौँ। कहिलेकाहीँ रोमाञ्चक लाग्छ त कहिले चुकचुक– आजका पुस्ताले भोगेका सेवा सुविधा देख्दा। आजका पुस्ताझैँ सुविधाभोगी थिएनौँ तर अघिल्ला पुर्खाभन्दा केही सुविधा सम्पन्न नै थियौँ, मान्नै पर्छ। 

    म जन्मादा काठमाडौंमा चक्रपथ बनिसकेको नै थियो। जति बनेका थिए, ती सबै चिल्ला नै थिए– काठमाडौंका सडकहरू। अहिलेझैँ नाक थुनेर हिँड््नुपर्दैनथ्यो। गौशाला–चाबहिल खण्डको चक्रपथमा हामी फुटबल खेल्थ्यौँ। यस्ता अनुभव सँंगालेका हामी नै अहिले जिब्रो मात्र टोक्न सक्छौँ। अब त्यो क्षण भोग्न सकिँदैन।
    काठमाडौंका सुविधा सम्पन्न केही ठाउँको गन्तीमा आउँथ्यो, चाबहिल। तर पनि साँझ परेपछि ट्याक्सी चढेर घर आउन गुरुजीलाई पशुपतिनाथलाई झैँ आराधना गर्नुपथ्र्यो। रातको कुरा त छाडी दिऔँ। 

    हुनत नेपाल राष्ट्र बैंकको वरिष्ठ दर्जामै जागिरे थिए, बाबा। तर हामी सम्पन्न थिएनौँ। हिजोआजझैँ टेबलमुनिको आम्दानी पनि त सहज थिएन त्यसताका। तर पनि बजारमा प्राप्त सुविधा भोग गर्न सक्ने आर्थिक अवस्था नभएको भने होइन। चाबहिलको घर त्यही जागिरबाट जोडेका थिए। भन्थे, ‘मेरा हजुरबा नामुद जुवाडे रे! त्यति मात्र कहाँ हो र, काठमाडौंमा रक्सी खाने पहिलो पुस्ताका बाह्मण पनि रे! बिन्दास! न घरको, न त परिवारकै चिन्ता। राणाले दिएका सरकारी जागिरसमेत छाडेर जोगीझैँ बने रे! मैले देखिनँ। सम्पत्ति जुवामा उड्यो। नाम मात्रको पतिका कर्तुतबाट समेत आजित नबनेकी मेरी बजैले सन्तानलाई शिक्षादीक्षा दिलाइन्।’

    पिता जति त नहोला तर पनि मेरा बाबामा पिताको अवगुण आएकै थियो। गुणका बारे थाहा भएन। तर सुन्छु, साह्रै कोमलभावका थिए रे मेरा हजुरबा पनि, बाबा जस्तै। सरुवा रोग हुँदोरहेछ, बाउको गुण–अवगुण– थोरै–बहुत मात्रामा हस्तान्तरण हुँदै जाने। जसरी मेरा बाबामा सर्‍यो, अलिकति मैले पनि पाएँजस्तो लाग्छ। 
    त्यो समयमा पप्लु खेलिन्थ्यो। म्यारिज जन्मिएको थिएन। शनिबार वा बिदाको दिन आयो कि पप्लु र बोतलमा रमाउँथे मेरा बाबा र उनका मित्रहरू। हामी दर्शक। खेलेको र खाएको हेर्‍यो, रमायो। त्यसैले कखरासँगै पप्लुका ‘पप्लु र टिप्लु’ चिन्न थालियो। बिस्तारै खेल्न पनि थालियो आफू जस्तासँग।

    त्यो समयमा राती १–२ बजेसम्म खेल्थे बाबा र साथीहरू– मलाई दर्शक बनाएर। बाबाको प्रिय थिएँ म। कान्छो छोरो, पुल्पुलिएको भन्थे। जित्दा एक–दुइटा नोट थमाइदिइहाल्थे। आफू पनि खुसी। कतिबेला निदाइन्थ्यो, पत्तै नहुने। राती उठाएर जुवाडेहरूसँगै घरतिर हिँडाउँथे। कहिलेकाहीँ त कुपण्डोलदेखि पनि। त्यो बेला मोटरसाइकल चढ्नु अहिलेका पुस्ताले बिएमडब्ल्युको सपना देखेझैँ थियो। २०३० को दशकको मध्यतिरका ती दिनहरू सम्झँदा अहिले पनि मन रोमाञ्चक हुन्छ।

    मेरा बाबा राम्रा लेखक पनि थिए। पारिवारिक माहोलमा पत्रकारिता र साहित्य घुलिएर पनि होला। पशुपतिदेव पाण्डे, बालमुकुन्ददेव पाण्डे जस्ता धुरन्धर मामाहरूको त्यो गुण मेरा बाबामा पनि थियो। तर राष्ट्र बैंकको जागिरको चक्करमा मेरा बाबाले देखेका अनेकौँ सपना पूरा गर्न सकेनन्। उनको कमसेकम एउटै भए पनि स्तरीय पुस्तक निकाल्ने धोकोलाई समयको रस्साकस्सीले पूरा हुन दिएन। तर पनि अरूका लागि भने प्रशस्तै लेखिदिए– दामका खातिर। 

    हुनत २०३७/०३८ सालतिरै घरमा मोटरसाइकल पनि आयो– होण्डा सिजी। त्यो बेला त्यस्तो मोटरसाइकलमा हुँइकिनुको शान नै बेग्लै। अफिसले दिएको थियो। मात्र ४ कक्षामा पढ्दा म मोटरसाइकल चलाउन सक्ने बनेँ। साथीभाइको अगाडि आफ्नो शान नै भिन्नै।

    मानसिक रूपमा बलिया थिए बाबा। मनले बिन्दास थिए। प्रेममा जीवन देख्थे मेरा बाबा। त्यसैले जतिसुकै कठिन परिस्थितिमा पनि आफूलाई डगमगाउन दिएनन्। समयसँग जुधिरहे। उफ्फ्! गरेनन्। जीवनसँग प्रेम गरे। मदिरासँग प्रेम गरे। तासका ५२ पत्तीसँग प्रेम गरे। पत्नीबाहेक एकाध महिलासँग पनि प्रेम गरे रे!

    नेपाल र नेपालीका लागि बहुदलीय व्यवस्था कति फलिफापसिद्ध भयो, थाहा भएन। तर मेरा बाबाका लागि बहुदलको आगमनसँगै निराशा उपहारका रूपमा आउन थाल्यो। हुनत राष्ट्र बैंकले चढ्नका लागि गाडी दिएकै थियो। तर पनि त्यो नीलो रंगको सिजी मोटरसाइकल फिर्ता लगेको थिएन। बहुदलीय व्यवस्था पुनःस्थापना भएको केही दिनभित्रै केही कर्मचारी आएर छापामार शैलीमा बाइक फिर्ता लगे। ‘फिर्ता ल्याइदे भनेकोे भए ल्याइदिइहाल्थेँ नि!’, बस् यति मात्र बोले बाबा त्यस दिन।
    सपना कसले पो देख्दैन र! मेरा बाबाका पनि अनेकौँ सपना थिए, जसमा नेपाल राष्ट्र बैंकको पहिलो ओहदाको कुर्सीसम्म बस्ने रहर पनि थियो।

    २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ल्याएको ३० वर्षे अनिवार्य अवकासको सिकार बने, उनी। त्यसैले होला, कसैको दुःख देख्न नसक्ने मेरा कोमल हृदयका बाबाले गिरिजाप्रसाद कोइरालाको मृत्युमा खुइय पनि गरेनन्। बरु त्यो दिन उनले आफूले कुनै समयमा भोगेको मानसिक पीडालाई एक क्वार्टर जिनमा निचोरेर पिएका थिए होलान्।

    राष्ट्र बैंकबाट अवकास पाए पनि विभिन्न संस्थामा सल्लाहकारका रूपमा काम गरिरहे। त्यसैले उनले कहिल्यै उदेक मानेर घरमै समय बिताएनन्। सपना त थिए तर ससाना। ठूलाबाहेक सबै सपना पूरा गरे होलान् जीवनमा। बाबुले रित्याएको अंशका लागि वर्षौं भाइसँग तारेख खेपेका दिन अलिक उत्तेजित दिखिन्थे। एकाध पेगपछि बाहेक कहिल्यै उनको मुखले निराशा बोलेन। २०५७ सालमा फोक्सोको क्यान्सरलाई हराएका थिए मेरा बाबाले। फोक्सो काटेका थिए, डा. प्रकाश सायमीले। विदेश गएर उपचार गर्दिनँ भन्ने उनको एकोहोरो रटानका सामु घुँडा टेक्नुपरेको थियो परिवारले। २०६२ सालमा दुवै मिर्गौला ‘फेल’ भएको रिपोर्ट आउँदा पनि अविचलित रहे मेरा बाबा। दैव संजोग मात्र तीन पटक डाइलाइसिस गरेपछि दोहर्‍याएर कहिल्यै त्यो रोग फर्केर उनको नजिक आएन।

    मानसिक रूपमा यति बलिया थिए मेरा बाबा, जसले कहिल्यै आफ्नो प्रेम र चाहनालाई अधुरोमा छाडेनन्। सायद उनीसँग दुःख ग्रहण गर्नसक्ने क्षमता (विल पावर) अद्वितीय थियो। तर जब कान्छो, प्यारो छोरा अर्थात् म मुटु रोगको शिकार भएँ, चिकित्सकले बाँच्ने–नबाँच्ने दोहोरो तर्क गर्न थाले अनि अलिक खङ्ग्रिन थाले उनी। त्यसबेला उनको ‘विल पावर’ले काम गरेन। संसार छाडे। त्यही विल पावर ममा हस्तान्तरण भएको छ कि जस्तो पनि लाग्छ, कहिलेकाहीँ।

    मानसिक रूपमा बलिया थिए बाबा। मनले बिन्दास थिए। प्रेममा जीवन देख्थे मेरा बाबा। त्यसैले जतिसुकै कठिन परिस्थितिमा पनि आफूलाई डगमगाउन दिएनन्। समयसँग जुधिरहे। उफ्फ्! गरेनन्। जीवनसँग प्रेम गरे। मदिरासँग प्रेम गरे। तासका ५२ पत्तीसँग प्रेम गरे। पत्नीबाहेक एकाध महिलासँग पनि प्रेम गरे रे! तर उनको ठूलो प्रेम अक्षरसँग थियो। पुस्तकसँग थियो अनि आफ्नो कर्मसँग थियो, जुन उनको देहत्याग गर्नु अघिल्लो दिनसम्म कायम रह्यो। दुःखी थिए, खुसी थिए, रंगीन थिए, प्रेमी थिए। जे गुण–अवगुण थियो, त्यसैमा रमाए, अरूलाई पनि रमाउन सिकाए। 

    चिन्तनराज पाण्डे। नमन्।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]