|

विराटनगर : ट्यांकरको लक तोडेर भएको डिजेल चोरीमा संलग्न भएको आरोप लागेका विराटनगरस्थित नेपाल आयल निगमको प्रदेश कार्यालय प्रमुख दिनेश यादवले चोरीमा आफ्नो संलग्नता नरहेको दावी गर्दै ढुवानीकर्ताकै दोष रहेको दावी गरेका छन्।

तेल चोरीमा संलग्न चालक तथा ढुवानीकर्तालाई प्रतिबन्ध लगाउँदै चोरी भएको दुई हजार ४८४ लिटरको दोब्बर मूल्य चार लाख ९३ हजार ९१८ रुपैयाँ जरिवाना गराएको यादवले बताएका छन्। बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी यादवले मंसिर ६ गते कम तेल (डिजेल) ढुवानी गर्ने को १ ख ५९६५ नम्बरको ट्यांकरका मालिक सुखदेव सिंह र चालकलाई जरिवाना गरी ढुवानीमा प्रतिबन्ध लगाएको बताएका हुन्।

यादवले सिंहले सञ्चालन गरेका ११ वटै ट्याङ्करलाई रोक लगाएको जानकारी दिएका छन्। पत्रकार सम्मेलनमा यादवले तेल चोरी प्रकरणमा आफ्नो विषयलाई लिएर विभिन्न टीकाटिप्पणी भएको भन्दै सचेत भएर समाचार सामाग्री प्रकाशन प्रसारण गर्नसमेत आग्रह गरे।

ताल्चा लागेकै अवस्थामा डिजल चोरी भएको घटनामा आफ्नो संलग्नता नरहेको दावी गर्दै यादवले त्यस विषयमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको बताए। घटनाको जाँचबुझ भइरहेकोले त्यसबारे थप बोल्न नमिल्ने उनको दावी छ। तर, ट्यांकरको तालाको एउटा साँचो नेपाल आयल निगम प्रमुख र अर्को भारतको बरौनी डिपोका प्रमुखसँग हुने भएकोले तेल चोरीमा यादवको संलग्नता रहेको आरोप लागिरहेको छ।

तेल चोरीको विषयमा छानबिन गर्न निगमको केन्द्रीय कार्यालयबाट उपनिर्देशक अञ्जना पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले छानबिन गरी मंसिर १४ गते काठमाडौं फर्किएको भए पनि आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन। घटनाको सिआइबीले पनि छानबिन गरिरहेको छ।

तेल ढुवानी गर्दा अधिक मात्रामा तेल चोरी हुन थालेपछि निगमले ताल्चा लगाउने ‘सिस्टम’ सुरु गरेको थियो। तर, ताल्चा लगाएकै अवस्थामा तेल चोरी भएपछि निगम नै विवादमा मुछिएको छ। त्यसमाथि घटनामा मुछिएका यादवलाई अझै निलम्बनसमेत नगरी सोही जिम्मेवारीमा राख्नुले गम्भीर आशंका बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.