थाहा संवाद

'पद र सम्मानको लडाइँमा पटक पटक हिंसाको सिकार भएकी छु'
SHARES

मंसिर २०, २०७५

    अष्टलक्ष्मी शाक्य, नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेतृ। उनी हाल प्रदेश ३ की इन्चार्ज छन्। दुई पार्टी एक हुनुअघि नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य प्रदेश ३ मा मुख्यमन्त्रीकी दाबेदार थिइन्। तर हालका मुख्यमन्त्री डोरमणि पौडेलसँग प्रदेश दलका नेतामा हार व्यहोरेपछि तत्कालका लागि मुख्यमन्त्री बन्ने उनको बाटो बन्द भयो।

    लामो समय भूमिगत रहेर पंचायती व्यवस्थाविरूद्ध लडेकी शाक्य प्रजातन्त्र अाएपछि तत्कालीन नेकपा एमालेमा विभिन्न भूमिकामा रहेर काम गरेकी थिइन्। संघर्षशील महिला नेतृको छवि बनाएकी उनी एमालेकाे नेतृत्वमा बनेका तत्कालीन सरकारमा उद्योग र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनिन्। 

    महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको सन्दर्भमा उनै अष्टलक्ष्मी शाक्यसँग थाहासञ्चार नेटवर्ककी ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंश–

    महिला हिंसालाई कसरी परिभाषित गर्नुहुन्छ?

    शारीरिक, मानसिक लगायत विविध खालका हिंसा हुने भएकाले यसको परिभाषा फराकिलो छ। हाम्रोजस्तो पितृसत्तात्मक समाज र सामन्ती व्यवस्थामा महिलालाई अझै पनि विलासिताको साधन र क्षमताहीनको दर्जामा राखिन्छ। महिला र पुरुष समान हुनै सक्दैनन् भन्ने गलत दृष्टिकोण यथावत् रहेका कारण हरेक क्षेत्रमा महिलाहरू कुनै न कुनै रूपमा हिंसाको शिकार बनिरहेको अवस्था छ। त्यसैले राजनीतिक क्षेत्रमा पनि हिंसा छैन भन्न सकिँदैन। 

    राजनीतिक क्षेत्रमा महिलामाथि अनेकौँ असमानता र भेदभाव हुने भएकाले नै हामी नेतृहरूले हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम र अभियानहरू चलाइरहेका छौँ।  राजनीतिक क्षेत्रमा प्रवेश गर्ने महिलाले आफू सुरक्षित भएको महसुश गर्न सक्नुपर्छ। साथै सम्मानित र मर्यादित वातावरणमा राजनीति गर्न पाउनुपर्छ भन्ने माग गर्दै म आफैँ पनि लामो समयदेखि निरन्तर यो अभियानमा सक्रिय छु। 

    यति लामो राजनीतिक यात्राका दौरान तपाईंसँग शारीरिक वा मानसिक हिंसामा परेको अनुभव छन् कि ?

    शारीरिक हिंसाको शिकार हुनु परेको छैन। राजनीतिक संघर्षमा मैले पार्टीमा स्थान बनाउने क्रममा कैयौँ अप्ठ्यारा अवस्थाबाट गुज्रिएर यहाँसम्म आइपुगेँ। मलाई पार्टीभित्र सिनियर वा जुनियर सबैले सम्मानपूर्ण व्यवहार गर्दै आउनुभएको छ। फरक आस्था भएका राजनीतिक दलका नेता कार्यकर्ताले पनि सम्मान गर्नुहुन्छ। तर राजनीतिक क्षेत्रमा काम गर्ने सन्दर्भमा भने महिला भएको नाताले मैले  कुनै न  कुनै रूपमा अपमान र हिंसा धेरैपटक भोग्नु परेको छ।

    लामो समयदेखि राजनीतिमा निरन्तर सक्रिय भइरहँदा महिलालाई पार्टीमा महत्त्वपूर्ण पद पाउने अवसरबाट वञ्चित गराइएको छ। यो पनि एक किसिमको हिंसा हो। पार्टीभित्र महत्त्वपूर्ण पद र पुरुषसरह अधिकार वा समानताका लागि म धेरैपटक लडेको छु। पद र सम्मानको लडाइँमा पटकपटक हिंसाको शिकार बनेकी छु।कैयौँपटक अपमानित भएको छु।  

    प्रदेश ३ मा वाम गठबन्धले स्पष्ट बहुमत ल्याएपछि तपाईँ पनि मुख्यमन्त्रीको आकांक्षी हुनुहन्थ्यो। महिला भएकै कारण पार्टीले तपाईंलाई मुख्यमन्त्री बन्न नदिएको मान्नुहुन्छ? 

    एउटा कारण यो पनि हो। पुरुषले महिलालाई असहयोग गन त छँदैछ, महिलाले पनि महिलालाई सहयोग गर्दैनन्। महिलाले जिम्मेवारी लिन सक्दैनन् भन्ने गलत चिन्तन व्याप्त छ। मेरो राजनीतिक संर्घष, योगदान, त्याग र इमान्दारितालाई कदर गर्न नसकेको कारण मुख्यमन्त्री हुन नदिइएको हो भन्ने मैले ठानेको छु। विचार र विधिमा क्रमशः पार्टी कमजोर हुँदै गएर यसभित्र मौलाएको गुटबन्दीले सृजना गरेको जटिल परिस्थितिका कारण पनि मैले प्रदेश ३ को मुख्यमन्त्री जस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्न पाइनँ। पार्टीले मलाई यो अवसरबाट वञ्चित गरेकै हो। 

    आरक्षण, कोटा र समावेशिताका नाममा महिला खोज्ने तर महत्त्वपूर्ण निर्णय लिने बेला वास्ता नगर्ने राजनीतिक संस्कारबारे तपाईँ के भन्नुहुन्छ? 

    महिलालाई विभेद, असमान, शोषण गर्न पाइँदैन भनेर संविधानले प्रष्ट लेखेको अवस्थामा पनि आज हामी कुरीति, कुप्रथा, विभेद, असमानता र शोषण भोग्न बाध्य छौँ। तर सँधैभरि यही अवस्था र चिन्तन अब हाम्रो समाजमा रहन सक्दैन। किनभने अबका महिला हरदम सकारात्मक भूमिकाको खोजी र पर्खाइमा छन्। समाज गतिशील, परिवर्तनशील  छ।

    नयाँ नयाँ सोचहरू आइरहेका छन्। एकातिर महिला पुरुष समान भन्ने कुरा विश्वव्यापी भइसकेको छ भने अर्कोतिर हाम्रो मुलुकमा संविधानले यसलाई सुनिश्चित गरिसकेको अवस्था छ। त्यसैले यो संस्कार छिट्टै अन्त्य हुने म पूर्ण विश्वस्त छु।

    नेतृत्व र निर्णायक तहमा कम संख्यामा महिला पुगेका छन्, तीमध्ये एकदमै न्युन संख्याले मात्रै आफ्ना तर्क र अडान निर्धक्कसँग राख्छन्। के महिलामा अझै ‘कन्फिडेन्ट’ आइनसकेको हो? 

    हो, अधिकांश नेतृमा तर्क र विचार राख्ने सन्दर्भमा समस्या देखिन्छ। मुलुकको संविधान, हक, कानुन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिले महिला हक, अधिकार र समानताको ग्योरन्टी गरे पनि हामीले आफ्ना कुरा निर्धक्कसँग राख्न सकेका छैनौँ। सम्पूर्ण हिसाबले यो बिलकुल छैन भन्ने चाहिँ होइन। महिला सशक्तिकरण धेरै अगाडि बढेको छ। बोल्न नसक्ने महिलाहरू बोल्न सक्ने भएका छन्, अधिकार भनेको थाहा नपाउने महिलाहरू अधिकारको लडाइँ लडिरहेका छन्, जुन महिला आन्दोलन र संघर्षको दौरानमा प्राप्त भएको महत्त्वपूर्ण उपलब्धि हो।

    पितृसत्ता र सामन्तवादी सोचले पुरुषलाई मात्रै अघि बढ्न प्रेरित गरेका कारण महिला पछि परेका हुन्। संस्कार, संस्कृति र हुर्काइका कारण पनि महिलाको चौतर्फी विकास हुन नसकेको यर्थाथलाई पनि भुल्नु हुँदैन। 

    महिला अधिकार स्थापना गराउने अभियानमा तपाईं  निकै जुझारु र संघर्षरत हुनुहुन्छ तर, महिलालाई उनीहरूको कानुनी अधिकारबारे बुझाउन किन नसक्नुभएको? 

    कानुन निमार्णको चरण र प्रक्रिया जति महत्त्वपूर्ण थियो त्यो भन्दा पनि धेरै महत्त्वपूर्ण भनेको कार्यन्वयनको पाटो हो। कार्यान्वयन गर्ने सवालमा सरकार र सम्बन्धित जिम्मेवार निकायहरू गम्भीर देखिएका छैनन्। सुगमदेखि दूर दराजका महिलालाई सहज रूपमा कानुनको पहुँचमा पुर्याउन समुदाय, महिला संगठन र नेतृहरूले पनि सशक्त र दबाबमूलक कार्यक्रम गर्नुपर्छ।  

    कानुन कार्यान्वयन असाध्यै फितलो हुँदा पिडकहरू सजिलै उम्किरहेका छन्। पीडितहरू न्याय नपाएर छट्पटिएर बस्नुपरेको अवस्था छ। कानुन कार्यान्वयनको पाटो फितलो हुनुका साथै अपराधीलाई संरक्षण दिइएका कारण कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अझैसम्म पत्ता लगाउन नसकिएको हो। पितृसत्तात्मक सोच नहटेको कारण महिलालाई घरभित्र वा घरबाहिर हिंसा, अपमान, दुर्व्यवहार, बलात्कार र हत्या भइरहेको छ। समाजले महिलाको अस्तित्व स्वीकार गर्न नसकेका कारण र महिलाई सम्मान गर्न नसकेका कारण यी सबै घटना भइरहेका छन्। 

    कानुन कार्यान्वयन भनेको मानविय आचरणसँग जोडिएर आउने विषय पनि हो। जबसम्म महिला पुरुष समान हुन् भन्ने सोचको विकास वा स्तर बढ्दैन तबसम्म यस्ता जघन्य घटना भइरहन्छन्। समाजमा बढ्दै गएका महिला हत्या हिंसा र बलात्कार घटनाप्रति म अत्यन्तै गम्भीर छु। यस्ता घटनाले समाज मात्रै होइन देशकै छवि बिगार्छ। न्यायपूर्ण समाजको सृजना गर्ने भन्दै गर्दा महिला हिंसाका घटनामा सम्बन्धित निकाय भने मौन छ गम्भीर छैन। तसर्थ महिला हिंसा अन्त्यका लागि मेरो संघर्ष जारी रहनेछ।  

    हिंसा अन्त्य गर्न महिलाकै भूमिका कस्तो हुनुपर्छ? 

    महिला हिंसा अन्त्यका लागि महिलाकै भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ र हुनुपर्छ पनि। आफूलाई हिंसा भएको छ भने पनि लुकाएर नबस्ने र अरु महिला हिंसामा परेको देखेमा आवाज उठाउने गर्नुपर्छ। यसलाई लुकाएर बस्दा झन् भयङ्कर रूप हुन जान्छ। हिंसा सहेर बस्नु पनि एक प्रकारको हिंसा नै हो। हिंसा लुकाएर र सहेर बस्दैमा तेस्रो व्यक्ति आएर तपाईंलाई न्याय दिँदैन।

    आफूमाथि भइरहेको हिंसा र अन्यायको विरोध गरे सक्षम नारीको परिचय बन्छ। चेतनाको विकाससँगै पछिल्लो समय महिलाहरू विरोधमा उत्रिन थालेका पनि छन्, जुन सकारात्मक पक्ष हो। यद्यपि यति नै पर्याप्त भने अझै सशक्त र संगठित रूपमा आवाज उठाउनु जरुरी छ। 

    अन्त्यमा, तपाईं आबद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्व बहुमतको सरकारले महिला हिंसा न्युनीकरणका लागि खेलेको भूमिकाप्रति सन्तुष्ट हुनुहुन्छ? 

    महिला हिंसाविरुद्धको अभियान चलिरहँदा सरकारले देशका विभिन्न स्थानमा गरिरहेको औपचारिक कार्यक्रमहरू राम्रै छन् तर, यतिले पुग्दैन। शहर र स्थानकेन्द्रित कार्यक्रमले हिंसा अन्त्य हुदैन। जहाँ हिंसा हुन्छ, त्यहाँ सरकार पुगेकै हुनुपर्छ। त्यो देखिँदैन।

    भन्नैपर्छ, दुईतिहाइको वर्तमान वाम गठबन्धन सरकार पीडितलाई न्याय दिने सवालमा सरकार चुकेकै हो। कतिपय घटनामा पिडक खुलेआम हिड्ने र पीडित न्यायका लागि छट्पटाइरहँदासमेत सरकार नदेखे झैं गरी बसेको छ। महिलालाई न्याय दिने सवालमा सरकार चुकेको छ। यो पक्कै राम्रो होइन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]