|

पर्वत: राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले देश बनाउने कुरामा सबै एकजुट हुन आग्रह गरेका छन्। पर्वतको मोदी गाउँपालिका ८ स्थित पशुपति माबिको स्वर्ण महोत्सव समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले अहिले झगडा गर्ने भन्दा पनि सबै एक भएर देश बनाउने समय भएकाले सबैलाई एकजुट हुन आग्रह गरेका हुन्।

अध्यक्ष तिमिल्सिनाले संघीयता कार्यान्वयनको चरणमा सबै एक नहुने हो देश दुर्घटनामा पर्न सक्ने बताए। उनले भने, ‘देश बनाउनका लागि एक आपसमा झगडा गर्ने होइन। बिचार जे भए पनि एक भएर अघि बढौं।’ अहिले मुलुकमा ऐन परिमार्जन र नयाँ ऐन बनाउने काम भइरहेकाले सरकारका कामले गति लिन नसकेको भएपनि हिउँदे अधिवेशनमा सबै ऐन परिमार्जन र नयाँ ऐन बनेपछि काम गर्ने सहज वातावरण बन्ने उनको भनाई छ।

संघीय संसदको आगामी हिउँदे अधिबेशनबाट मुलुकका तीन वटै तहलाई आवश्यक पर्ने सबै कानुन बनाउने अध्यक्ष तिमिल्सिनाले बताए। कानुनको अभावमा काम रोकिने अवस्थाको अन्त्य गर्न संघीय संसदले सबै कानुन निर्माण र परिमार्जन गर्ने उनको भनाई छ। ‘अहिले सम्म कानुनको अभावमा तीन वटै तहका सरकारले चाहे जति काम गर्न नसकेको अवस्था छ।’ उनले भने, ‘यसपटकको हिउँदे अधिवेशनको पहिलो प्राथमिकता नै मुलुकका लागि आवश्यक सबै  कानुन बनाउने भएकाले सबै तहले काम गर्न सक्ने वातावरण बन्छ।’

आगामी पुसदेखि संघीय संसदको  हिउँदे अधिवेशन बोलाइने बताउँदै अध्यक्ष तिमिल्सिनाले ३३९ वटा ऐनलाई संशोधन गर्ने तथा थप १२४ वटा नयाँ कानुन निर्माण गर्ने काम हिउँदे अधिवेशनमा गरिने जानकारी दिए। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्वत जिल्लामा हरेक वर्ष ५० किलोमिटरको दरमा सडक कालोपत्रे गरिने र पर्वतमा ३०० किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताए।

गण्डकी प्रदेशमा सन्२०२२ सालमा २० लाख पर्यटक भित्र्याउने योजनासहित काम अघि बढेको बताउँदै पर्यटकको चाप पोखराले धान्न सक्ने अवस्था बनाउन गाउँगाउँमा होम स्टे स्थापना गरिने मन्त्री लम्सालको भनाई छ। नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जाभेदले नेपाल र पाकिस्तानको सम्बन्ध जनस्तरमा रहेको बताउँदै पशुपति माविका विद्यार्थीलाई छात्रवृत्तिका विभिन्न प्याकेजको घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.