|

हेटौंडा : एबीसी पोखराले चौथो संस्करणको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। हेटौंडा ६ स्थित वंशगोपाल माविको खेल मैदानमा भएको फाइनल खेलमा बुटवल भेट्रान्सको चुनौती १–० गोलअन्तरले पन्छाउँदै पोखराले प्रतियोगिता उपाधि आफ्नो नाममा लेखाएको हो।

पोखराको जितमा एकमात्र निर्णायक गोल मनोज राजले गरे। उनले खेलको १३ औं मिनेटमा गरेको गोल नै प्रतियोगिता च्याम्पियन बनाउन निर्णायक रह्यो। उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए। खेलको अधिकांश समय बल बुटवलले नियन्त्रणमा राखे पनि गोल गर्न भने असफल रह्यो। पोखराका डिफेन्डर तथा गोलरक्षक अगाडि बुटवलको खेलाडी केही चलेन।

प्रतियोगिताको विजेताले नगद एकलाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई ३ नम्बर प्रदेश प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसका संसदीय दल नेता इन्द्रबहादुर बानियाँले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा पोखराका मानकाजी गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए। पोखराका गोलरक्षक रविन शाही, डिफेन्डर जय थापा, मिडफिल्डर विजय गुरुङ उत्कृष्ट खेलाडी घोषित भए।

बुटवलका फरवार्ड सोम गरबुजा उत्कृष्ट फरवार्ड घोषित हुँदा आयोजक हेटौंडा भेट्रान्सका अनुप लामा सर्वाधिक गोलकर्ताको पुरस्कारबाट सम्मानित भए। हेटौंडा भेट्रान्सको आयोजना तथा हेटौंडा उपमहानगरपालिका ६ को सहआयोजनामा भएको प्रतियोगितामा देशभरका १४ वटा टोलीको सहभागिता रहेको थियो। मंसिर १९ गतेबाट सञ्चालन भएको प्रतियोगिता नकाउट आधारमा सञ्चालन गरिएको थियो।

हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए। उनले प्रतियोगिताले खेलकुदको माहौल बनाउने र पुराना खेलाडीबीच भेटघाटको वातावरण बनाउनका लागि आयोजना गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.