|

रुकुम पश्चिममा रहेका छवटा स्थानीय तहमध्ये बाँफीकोट गाउँपालिका पनि एक हो। पर्यटन र विद्युत उत्पादनका हिसाबले बाँफीकोट गाउँपालिका अन्य गाउँपालिका भन्दा विकासका संभावना बोकेको स्थानीय तह पनि हो। जिल्लाकै प्रमुख पर्यटकीय स्थल स्यार्पुताल यही गाउँपालिकामा छ। त्यस्तै, जिल्लाकै पुरानो र ठूलो स्यार्पुताल विद्युत उत्पादन केन्द्र पनि बाँफीकोटमै छ। संघीय सरकारको संरचनासँगै बाँफीकोट गाउँपालिका विकासका लागि पनि त्यहाँको सरकारले पनि जनप्रतिनिधि पाइसकेको छ।

यसै विषयमा चुनावमा गरिएको वाचा, विकास उपलब्धि र संभावनाका लागि गरिएका पहलका विषयमा बाँफीकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीसँग थाहाखबरकर्मी मेगराज खड्काले गरेको कुराकानी प्रस्तुत छ।

गाउँपालिकाले हिजोआज के कस्ता गतिविधि संचालन गरिरहेको छ ?

बाँफीकोट गाउँपालिका अहिले यस आर्थिक वर्षको बजेट कार्यान्वयनको चरणम नै छ। विगतका वर्षहरूमा गाउँगाउँमा बजेट जाने तर खर्च हुन नसक्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि समयमै काम र समयमै भुक्तानी गर्ने अभियानमा हामी जुटेका छौँ। विगतका वर्षहरूमा जिल्लामा हुने विकास निर्माणका काम निर्माण उपभोक्ता समितिमार्फत् हुने गरेको भए पनि यस वर्षदेखि जिल्ला समन्वय समिति रुकुम पश्चिमको निर्देशन तथा गाउँ कार्यपालिकाको निर्णयअनुसार उपभोक्ता समितिलाई विस्थापित गर्दै श्रम सहकारी संघमार्फत् काम थालिएको छ। त्यसमार्फत् आर्थिक वर्षको अन्त्य हुनुभन्दा पहिले नै प्रभावकारी तरिकाले परिषद्‍बाट विकास निर्माणका लागि छुट्टिएको रकम खर्च हुने र जनताको प्रत्यक्ष जनजीवनसँग जोडिने अपेक्षा गरेका छौँ।

श्रम सहकारीमार्फत् विकास निर्माणको काम गर्दैमा विकास निर्माणमा भइरहेको भ्रष्टाचार र कामचोर प्रवृत्ति अन्त्य होला र?

एकदम हुन्छ। अघिल्ला वर्षहरूमा जसरी निर्माण उपभोक्ता समितिमार्फत् काम हुने गरेको थियो, त्योभन्दा धेरै गुणा राम्रो काम श्रम सहकारीमार्फत् गर्दा हुने संभावना देखिएपछि हामीले यस्तो कामको सुरुवात गरेका हौँ। उपभोक्ता समितिमा राजनीतिक प्रभाव र डुप्लिकेसन धेरै हुने गरेको छ। एउटै घरका आफन्तहरू मिलेर बनाउने, समितिले कुनै कर तिर्नु नपर्ने, दर्ता गर्नु नपर्ने, विधानलगायतका अन्य महत्त्वपुर्ण काम गर्नु नपर्ने, प्रत्येक वर्ष अडिट गर्नु नपर्ने तर योजनामा मात्र केन्द्रित गरेर गठन गर्ने गरिन्थ्यो। त्यसले गर्दा योजना निर्माण हुञ्जेलसम्म मात्र उपभोक्ता समिति हुने गरेको थियो भने पछि निस्क्रिय हुने गरेको थियो। त्यसले गर्दा विकास निर्माणमा पारदर्शिता र काममा प्रभावकारिता देखिँदैनथ्यो। तर अब त्यसो हुँदैन। प्रचलित कानुनअनुसार नै सहकारी गाउँपालिकामा दर्ता हुन्छ। विधानअनुसार चल्छ, प्रत्येक वर्ष अडिट हुन्छ, राजस्व तिर्छ र त्यसले गर्दा संस्था जोगाउन पनि माया लाग्छ।

उपभोक्ता समितिको जस्तो योजना सकिएपछि सहकारी निस्क्रिय हुँदैन। जबसम्म सहकारी संस्था खारेज हुँदैन, तबसम्म उक्त योजना र काममा लगाव र ध्यान रहिरहन्छ। गाउँपालिकामा हालसम्म चार-पाँचवटा श्रम सहकारी दर्ता भएका छन्। प्रत्येक वडामा एउटा जस्तो श्रम सहकारी गठन हुने क्रममा छन्। ती सहकारीमार्फत् आफ्नो वडामा हुने विकास निर्माणको काम प्रभावकारी तरिकाले हुन्छ।

तपाईंलाई जनताले विकास र समृद्धिको आशा गरेर जिताएर गाउँपालिकामा पठाए। तपाईंले जनताका लागि के गर्नुभएको छ आजको दिनसम्म?

हामी दिनरात जनताकै विकास र समृद्धिको यात्रामा छौँ। जनताको इच्छा र आवश्यकता एकै वर्षमा पूरा गर्न संभव छैन। हामीले चुनावको बेला त्यो पनि भनेका थिएनौँ। आफ्नो पाँच वर्षको कार्यकालमा पूरा गर्छौं भनेका थियौँ र आफ्नो कार्यकालमा आफूले भनेका कुरा पूरा गरेर छोड्छौँ। हालसम्मको कुरा गर्दा गाउँपालिकाभित्रका नागरिकहरूको धेरै आवश्यकता पूरा गर्ने काम गरिएको जस्तो लागेको छ।

मेरो कार्यकालपछि पनि ६१ किलोमिटर सडक खनिएको छ। अहिले हाम्रो १० नम्बर वडाबाहेक नौवटै वडामा कच्ची भए पनि सडकको संजाल पुगेको छ। वडा कार्यालयमा जाँदा सररर बाइक वा गाडीमा जान सकिन्छ। त्यस्तै, बाँफीकोट गाउँपालिकामा रहेका करिब ८० प्रतिशत बढी जनताको घरमा बिजुलीको पहुँच पुर्‍याइएको छ। बाँकी २० प्रतिशत जनताको घरमा पनि विद्युत लाइन पुर्‍याउने काम तीब्र भइरहेको छ। स्वास्थ्यका क्षेत्रमा पनि धमाधम काम भइरहेको छ। पहिलेदेखि भएका स्वास्थ्य केन्द्रहरूलाई स्तरवृद्धि गर्नेदेखि औषधि अभाव हुन नदिनेदेखि लिएर प्रविधिमैत्री बनाउन पहल गरिएको छ।

देशका विभिन्न भागमा र रुकुम पश्चिमकै पनि केही स्थानीय तहहरूमा चर्को कर भयो भनेर विरोध गरेको पाइन्छ तर हाम्रो गाउँपालिकामा कर तिर्नमा मर्का परेको त्यस्तो कुनै गुनासो अहिलेसम्म छैन।

बाँफीकोट गाउँपालिका- ४ छिनखेतमा टेलिमेडिसियन केन्द्र स्थापना गर्ने काममा जुटिरहेका छौँ। शिक्षाको विकास र विद्यालयमा नियमित अनि प्रभावकारी पढाइका लागि दरबन्दी खाली रहेका आवश्यक ठाउँमा ७४ जना करार शिक्षक भर्ना गरिएको छ। यीलगायतका अन्य विषयमा पनि सबै पूर्णता नभए पनि कामको थालनी गरिएको छ।

बाँफीकोटमा रहेको स्यार्पुतालबाट उत्पादन गरिएको जिल्लाकै पहिलो विद्युत पुरानो भयो, वर्सेनि क्षमता घट्दै छ भनेर भनिन्छ। यसले गर्दा जिल्लामा विद्युत आवश्यकता पूरा गर्न केन्द्रीय लाइन विस्तार गरिएको छ। उक्त विद्युत उत्पादन केन्द्रलाई गाउँपालिकाले क्षमता वृद्धि गर्न सक्दैन?

एकदम तपाईंले भनेकै जस्तो विद्युतको पहिलेको भन्दा क्षमता घट्दै गए पनि हामीले नयाँ विद्युत उत्पादनको पहल गरिसकेका छौँ। जमानामा बनाएको उक्त विद्युतले काम पनि कति गरोस्! हाल २०० किलोबाट मात्र विद्युत उत्पादन भइरहेको छ। त्यस क्षेत्रको जललाई उपयोग गरी विद्युत बाल्न र रुकुम पश्चिममा रहेका सबै स्थानीयतहरूको दीर्घकालीन रूपमा आम्दानीसमेत बढाउन काम थालनी भइसकेको छ। जिल्ला समन्वय समिति रुकुम पश्चिमको नेतृत्वमा रुकुम पश्चिममा रहेका छवटै स्थानीय तहहरूको लगानीमा नयाँ विद्युत उत्पादनका लागि स्यार्पु हाइड्रो कम्पनी दर्ता भइसकेर सर्भेको कामसमेत भइरहेको छ। पहिलो चरणमा प्रत्येक स्थानीय तहबाट करिब ३०/३० लाख लगानी गर्ने र पछि सबै खर्च व्यहोर्ने भन्ने छ। पछि जनताले पनि शेयर हाल्न पनि पाउँछन्।

हाम्रो गाउँपालिकामा रहेको स्यार्पुतालको पानीबाट ४५० किलोवाटको नयाँ विद्युत उत्पादन भएमा हाम्रो गाउँपालिका मात्र नभएर जिल्लाभर विद्युतको समस्या हुनेछैन। जिल्लाभर पुगेर बाहिर बेच्ने र स्थानीय तहरूको नियमित आम्दानीको स्रोतसमेत बनाउने हाम्रो योजना छ। त्यस कारण बाँफीकोट गाउँपालिका विद्युत उत्पादनको केन्द्र पनि बन्छ।

अन्य गाउँपालिकाहरूमा चर्को कर लिए भनेर विभिन्न माध्यमबाट आलोचना भइरहेको छ, तपाईंको गाउँपालिकामा कर प्रणाली कस्तो छ?

देशका विभिन्न भागमा र रुकुम पश्चिमकै पनि केही स्थानीय तहहरूमा चर्को कर भयो भनेर विरोध गरेको पाइन्छ तर हाम्रो गाउँपालिकामा कर तिर्नमा मर्का परेको त्यस्तो कुनै गुनासो अहिलेसम्म छैन। हामीले जग्गाको तिरोको कुरा गर्ने हो भने प्रति रोपनी पाँच रुपैयाँ मात्र लिएका छौँ। जिल्लाकै अन्य स्थानीय तहमा त्यसको मात्रै डेढ-दुई सयसम्म लिएको पाइन्छ। त्यस कारण गाउँपालिकाले करै नलिने भन्ने कुरा त भएन। आगामी दिनहरूमा केही कर वृद्धि पनि हुनसक्छ। गाउँपालिका संचालनका लागि पनि कर त नागरिकबाट लिनु नै पर्‍यो तर अन्य स्थानीय तहहरूको भन्दा निकै कम लिएका छौँ। जनतालाई मर्का परेको छैन।

रुकुमको बाँफीकोट गाउँपालिका एउटा पर्यटकीय क्षेत्र पनि हो। जिल्लाकै चर्चित पर्यटकीय स्थल स्यार्पुताललगायतका अन्य संभावना पनि छन्। त्यसको प्रवर्द्धन गर्ने केही गुरुयोजना बनाउनुभएको छ?

हो, हाम्रो बाँफीकोट गाउँपालिका जिल्लाकै एउटा प्रमुख पर्यटकीय क्षेत्र पनि हो। स्यार्पुताललगायतका अन्य केही महत्त्वपूर्ण पर्यटकीय संभावना हाम्रो गाउँपालिकामा छन्। यसको प्रचार प्रसार, प्रवर्द्धन गर्न र त्यसलाई गाउँपालिकाको आम्दानीसँग जोड्न हामीले सोचिरहेका छौँ। केही समयमै हामीले गाउँपालिकाको समग्र विकास गुरुयोजना बनाउँदै छौँ। त्यसमा पर्यटनको मुद्दा नसमेटिने त कुरै छैन। स्यार्पुतालको प्रचार प्रसार र प्रवर्द्धनका लागि प्रदेश सरकारबाट पनि केही बजेट आएको छ भने केन्द्र सरकारका तालतलैया हेर्ने विभाग र निकायहरूबाट पनि आर्थिक सहयोग ल्याउने पहल भइरहेको छ। त्यस कारण गुरुयोजनापश्चात स्पार्पुतालको विकास, प्रचार प्रसार र पर्यटक भित्र्याएर गाउँपालिकाको आम्दानी अनि जनताको जीवनस्तर उकास्न प्रभावकारी तरिकाले काम हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.