|

उदयपुर : गएको ०७४ भदौ ३१ गते शनिबार तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सुनकोसी नदीमा दुई पुलको एकसाथ शिलान्यास गरेका थिए। अहिले एक वर्षपछि पनि ती दुवै पुलको निर्माणको कामले गति पाउन सकेको छैन।

प्रधानमन्त्री देउवाले हेलिकोप्टर चढेर तामझामका साथ शिलान्यास गरेको पुलको कामले गति नलिँदा सर्वसाधरणमा निराशा छाएको छ। उदयपुरसँगै जोडिएको खोटाङ र भोजपुर गरी दुई जिल्ला जोड्ने पुलको कामा अहिले ज्यूँका त्यूँ छ। उदयपुरको त्रियुगा नगरापलिका- १४ घाप्लाङ र खोटाङको बराहा पोखरी गाउँपालिका- २ घाप्लाङमा पर्ने सुनकोसी नदीमा पक्की पुलको काम अहिले ठप्प छ। यसैगरी सुनकोसीकै उदयपुरको चौदण्डीगढी नगरपालिका– १ रानीटार र भोजपुरको आमचोक गाउँपालिका– १० को दारेगौडा-पाञ्चा जोड्ने पक्की पुलको काम शिलान्यासमै सीमिति भएको हो।

‘२०५६ सालदेखि पुल बन्ने हल्ला थियो’, भोजपुर आमचोक गाउँपालिकाकी कौशिला कार्कीले भनिन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षअघि शिलान्यास गरे, पुलको काम निरन्तर हुन्छ भन्ने लागेको थियो भएन।’ उनले एक वर्षअघि चुनाव आउँदै गरेकाले भोट माग्नका लागि मात्र शिलान्यास गरिएको र अहिले जति काम हुनुपर्ने हो, त्यो नभएको बताइन्।

उदयपुरको चौदण्डीगढी नगरपालिका- १ मा पर्ने रानीटार र भोजपुरको आमचोक गाउँपालिकाको शत्रु सुनकोसी नदी हो। त्यही शत्रुलाई हराउनका लागि बन्ने पुलको शिलान्यास हेरेका भोजपुरका साविकका १४ वटा गाविस अर्थात् आमचोक गापाका सर्वसाधारण र चौदण्डी नगरपालिका- १ का सर्वसाधारण निराश बनेका छन्।

दुवैतिर सडक संजाल जोडिए पनि सुनकोसी नदीमा पुल नहुँदा पाउने दुःख कहिल्यै नहट्ने भएको छ। यता, उदयपुरको त्रियुगा नगरापलिका- १४ धाप्लाङ र खोटाङको बराहा पोखरी गाउँपालिका जोड्ने पुलको पनि कथा उस्तै छ। खोटाङका दक्षिणी भेगका स्थानीय सर्वसाधरण र उदयपुरका स्थानीय सर्वसाधरण पुल निर्माणले गति नलिँदा निराश बनेका छन्। ‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षअघि शिलान्यास गरेको पुलको निर्माण कार्यमा हालसम्म एउटा पनि पिलर निर्माण भएको छैन’, स्थानीय अभिशास राईले भने, ‘पुल बनेपछि दुई जिल्लाको सिधा यातायात संचालन हुने थियो तर एक वर्षअघिबाट निर्माण कार्य सुरु भएको पुलको काम अझै सुरु भएको छैन।’

दुई पुलकै ठेकेदार बेपत्ता 

२०७३ असार ३० गते नेपाल सरकारबाट ०७६ असारसम्म काम सक्ने गरी दुई पुलकै ठेक्का रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौंले लिएको थियो। शिलान्यासमै एक वर्ष ढिलाइ भयो। ०७३ सालमा शिलान्यास हुने पुल ०७४ भदौमा मात्र तात्कालीन प्रधानमन्त्री देउवाले शिलान्यास गरेका थिए। देउवाले दुई पुलको शिलान्यास नेपाली सेनाको हेलिकोप्टरबाट आएर गरे। पहिलो पटक उदयपुर र भोजपुरको बीचमा पर्ने रानीटारमा पहिलो शिलान्यास गरे त्यसपछि हेलिकोप्टरबाटै खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीकै किनार धाप्लाङ पनि हिन्दू परम्पराअनुसार ब्राह्मण पढाएर शिलान्यास गरेका थिए। दुवै पुल एक वर्षअघि शिलान्यास भई २० देखि २५ प्रतिशत काम सम्पन्न हुनुपर्ने थियो तर राजनीतिक अनुकूलता खोजिने परम्पराले निरन्तरता पाउँदा एक वर्ष ढिलाइ भएको थियो।

उदयपुर र भोजपुर जोड्ने पुल उदयपुरको बेल्टार–रानीटार हुँदै भोजपुर सडक खण्डमा पर्छ। त्यसैगरी उदयपुर र खोटाङ जिल्ला जोड्ने पुल गाईघाट–साउने–धाप्लाङ हुँदै बराहा पोखरी सडक खण्डअन्तर्गत पर्छ। निर्माणको जिम्मा पाएको रसुवा स्वच्छन्द पप्पुल जेभी काठमाडौंले एउटा पुल २२ करोड २५ लाख रुपैयाँका दरले दुवै पुल ४४ करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्नुपर्नेछ।

पाँच स्पान भएको पुलको २०० मिटर लम्बाइ र १०.५ मिटर चौडाइ छ। ०७६ असार २९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको पूर्वी सेक्टर कार्यालय धरान सुनसरीले जानकारी दिएको छ। निर्माण सामग्री लैजाने सडक नभएका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको रसुवा स्वच्छन्द पप्पु जेभीका साइट प्रतिनिधि युवराज थापा मगरको भनाइ छ। ‘सरहरू आउनुभएको छैन’, उनले भने, ‘पुलको काममा किन ढिलाइ भयो भनेर भन्ने हैसियतको समेत म होइन।’

यसो भन्छ पुल योजना पूर्वी सेक्टर कार्यालय

पुल निर्माण सामग्री लैजानै समस्या भएकाले पुल निर्माण कार्य ढिला हुन गएको पुल योजना पूर्वी सेक्टर कार्यालय प्रमुख इन्जिनियर अर्जुन अर्यालले बताए। ‘दुवै पुलको हालसम्मको काम पाँच प्रतिशत मात्र सम्पन्न भएको छ’, उनले भने, ‘आगामी ०७६ असार मसान्तभित्र सक्ने सम्झौता भए पनि सकिने अवस्था छैन।'

अर्यालयका अनुसार साउने धाप्लाङ पुलको खोटाङतर्फको भागमा पुन: डिजाइन भएको र रानीटारमा निर्माणका लागि स्काभेटर तथा डोजरहरू लैजान समस्या भएकाले निर्माणमा ढिलाइ भएको हो। 

दुवै पुल नहुँदाको पीडा

दुवै पुल खोटाङ र भोजपुरबाट उदयपुर जोड्न अपरिहार्य पुल हुन्। दुवै जिल्ला सदसरमुकामबाट दक्षिण भेगले उदयपुरसँग सिधा सम्पर्क राख्छ। यता, उदयपुरको सदरमुकामबाट अर्थात् उदयपुरका बजारबाट विभिन्न उपभोग्य वस्तु ढुवानी हुने यस क्षेत्रमा सडक नहुँदा खच्चडको प्रयोग गरिन्थ्यो।

अहिले सडक भएर पनि सिधा यातायात सुचारु नहुँदा समस्या पर्ने गरेको छ। ‘पारि सुत्केरी हुन नसकेर महिला छटपटाइरहेकी छन्’, भोजपुर आमचोक गापाका स्थानीय नवीन राईले भने, ‘डोकोमा बोकेर झोलुङ्गे पुलबाट वारि ल्यायो, एम्बुलेन्स छैन, पारिको एम्बुलेन्स वारि आउँदैन, पारिबाटै गृह जिल्लामा पनि जाँदैन।’

उनका अनुसार घिर्नीका माध्यमबाट डोजरलगायतका साना सवारी साधन उदयपुरबाटै दुवै जिल्लाको सदरमुकामबाट दक्षिण भेगमा पुगेका छन्, 
जुन खोटाङ र भोजपुरका कोसी गढतिरमा पर्छन्। दुवै ठाउँमा झोलुङ्गे पुल बनेको पनि धेरै वर्ष भएको छैन। ‘आठ वर्ष लागेर झोलुङ्गे पुल बन्यो’, उदयपुरको त्रियुगा नगरपालिका धाप्लाङका कुमार सार्कीले भने, ‘अब कति वर्ष लागेर पक्की पुल बन्ने हो, थाहा छैन।’

लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका खोटाङका जन्तेढुंगा गाउँपालिका र बराहा पोखरी गाउँपालिकाका सार्वसाधरणहरूले दैनिक उपभोग्य सामग्री र तराईसम्म जोडिने नाका धाप्लाङस्थित सुनकोसी नदीमा पक्की पुलको कामले तीब्रता नपाउँदा दु:ख व्यक्त गरे। ‘पुलको अभावमा दक्षिणी खोटाङका सर्वसाधारणहरूले सास्ती खेप्दै आउनुपरेको छ’, उनले भने, ‘वारि र पारिसम्म ट्याक्टर चले पनि बीचमा झोलुङ्गे पुल छ, पक्की पुल निर्माण शिलान्यास भएपछि निर्माणको कामले गति नपाउँदा चिन्ता थपेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.