|

एभरेष्ट प्रिमियर लिगमा साविक च्याम्पियन विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडिएटर्स प्ले अफमा स्थान बनाएको छ। लगातार तेस्रो जीत निकाल्ने क्रममा ९२ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै प्ले अफ पुग्ने पहिलो टिम पनि बनेको छ।

अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्का आफैँ बलिङका लागि आएका थिए तर उनले कुनै चमत्कार गर्न सकेनन्। भैरहवाले अब बाँकी दुवै खेलमा पराजित भए पनि प्ले अफमा स्थान पक्का गर्नेछ। इपिएलमा शीर्ष चार टोलीले प्ले अफ स्थान बनाउनेछन्। विराटनगर, ललितपुर प्याट्रियट्स, काठमाडौँ किंग्स इलेभेनको प्ले अफको दाबेदारीमा रहँदा चितवन टाइगर्स र पोखरा राइनोजको भने संभावना निकै कमजोर छ।

सामान्य लक्ष्य पछ्याए पनि भैरहवालाई जीत निकाल्न कठिन भएको थियो। पहिलो विकेटका लागि ओपनर प्रदीप ऐरी र शेर मल्लले २१ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए। त्यसपछि भने रन स्कोर रोकियो। मर्वले नवौँ ओभरको पाँचौँ बलमा आफैँ उत्कृष्ट क्याच लिँदै रविइन्दर सिंहलाई १२ रनमा आउट गरेपछि विराटनगरले जीतको झिनो आशा देखाएका थियो। चौथो विकेटका लागि कप्तान शरद भेसवाकर र रायन टेन डेस्काटेले ३३ रनको साझेदारी गरेपछि विराटनगरको झिनो जीतको आशा सकिएको थियो।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १८.४ ओभरमा सबै विकेट गुमाएर मात्र ९१ रन बनाएको थियो। उसका कुनै पनि ब्याट्सम्यानले क्रिजमा खुलेर खेल्न सकेनन्। उसका लागि भान डेर मार्वेको २५ रन सर्वाधिक रनका रूपमा रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.