|

पोखरा : सडक सञ्जालसँग नजोडिएको गोरखाको चुमनुब्री गाउँपालिकामा प्रदेश सरकारले रोड सर्भेको काम सुरु गरेको छ। मनास्लु हिमालको फेदी हुँदै तिब्बतसँगको सिमाना जोड्ने रुइला भन्ज्याङ जोड्न सडक सर्भे थालेको हो।

गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सडकको तिब्बती सिमानादेखि गोरखाको सामागाउँ साम्दोको खण्डसम्म २० किलोमिटर सडक सर्भे गरिसकेको साम्दोका निमा लामाले जानकारी दिए। सोही सडकको बेनीघाट-लार्के सडक खण्डको तल्लो भाग भने संघीय सरकारले नेपाली सेनामार्फत निर्माणको काम अघि बढाइरहेको छ।

नेपाली सेनाले निर्माण दलको क्याम्प नै खडा गरेर धमाधम सडक निर्माणको काम गरिरहेको छ। नेपाली सेनाले तलबाट खन्दै लगेको सडकमा माथिबाट जोड्ने गरी गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरी काम अघि बढाएको हो। गण्डकी सरकारले उक्त २० किलो मिटर क्षेत्रमा यसै वर्ष सवारी सञ्चालन गर्नेगरी सडक खन्ने काम अघि बढाउने जनाएको छ।

‘यसै वर्ष नाकाबाट सवारी चलाउने लक्ष्य छ,’ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने,‘सोही बेनीघाट-लार्के सडक खण्डको माथिल्लो क्षेत्र लार्के हुँदै तिब्बती सिमानासम्म सर्भे गरी प्रदेश सरकारको खर्चमा सडक निर्माण गर्न लागिएको हो। तल-माथि दुबै तर्फबाट सडक निर्माणको काम अघि बढाएर छिटो काम सम्पन्न गर्ने उद्देश्यले काम अघि बढाइएको हो।’ 

तिब्बतको जुंगाबाट गोरखाको सिमाना रहेको रुइला नाकासम्म तिब्बत सरकारले भने यस अघि नै सडक निर्माण गरिसकेको छ। रुइला नाकाबाट सामागाउँ सम्मको १६ किलो मिटर सडक यसै वर्ष निर्माण गरिसक्ने प्रदेश सरकारको लक्ष्य छ। त्यसका लागि प्रदेश सरकारले यसवर्ष चारकरोड रुपैयाँ विनियोजन गरेको मन्त्री बस्नेतले जानकारी दिए।

प्राविधिक टोलीले पहिलो चरणमा ३० किलोमिटर सडकखण्ड सर्भे गरिसक्ने काम पनि अघि बढाउने बताएको छ। बाँकी खण्डमा सर्भे र निर्माणको कामसँगै अघि बढाउने तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.