|

पर्वत :  नजिकै बगिरहेको रघुगंगा नदी। जाडो याममा नदीको सिरेटो। घाम लागेको बेला समेत जाडो हुने यो समयमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरु भने लुगलुग काम्दै अध्ययन गर्न बाध्य छन्। हाँस्दै र रमाउँदै विद्यालयमा अध्ययन गर्नुपर्ने बालबालिकाहरु त्रिपालमुनि छन्। वरपर कुनै भित्ता छैन, चिसो हावाले विद्यार्थीलाई कपाँइरहेको छ।  

२०७५ भदौ २७ मा रघुगंगा नदीमा आएको भीषण बाढीले विद्यालय भवन बगाएपछि यस विद्यालयका कक्षा त्रिपालमुनि राखेर चलिरहेका छन्। खोलाले विद्यालय भवन बगाउँदा सात ओटा कक्षा कोठामा पूर्णरुपमा क्षति भएका छन्। त्यसैले त्रिपालमुनि नै कक्षा संचालन गर्नुपर्ने बाध्यता छ।

कक्षा कोठको अभाव भएकाले अहिले बाल कक्षादेखि कक्षा ६ सम्मलाई खुला चौरमा बनाइएको टहरामा राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानध्यापक खिमबहादुर छन्त्यालले बताए। ‘विद्यालयको छेउबाटै खोला बग्छ, अन्य भवन पनि नदी कटानबाट उच्च जोखिममा छन्, यो स्थानमा अब विद्यालय रहन सक्ने अवस्था छैन,' उनले भने, 'अहिले केही विद्यार्थीलाई बाँकी रहेका भवनमा राखेका छौँ, तर त्रिपालमुनl बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीहरुलाई निकै कष्टकर भएको छ।’

विद्यालय भवन बगाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुको अगुवाइमा विद्यालय परिसरमा त्रिपाल टाँगेर अस्थायी टहरा बनाइएको थियो। अहिले सोही टहरामा बसेर विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन्। कक्षा ६ का विद्यार्थी दिप्शन घर्तीले चिसो मौसममा टहरामुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए। हिमालको नजिक र खोलाको किनारमा रहेकाले नियमित जसो चिसो हावा चलिरहँदा विद्यार्थीहरु जाडोले कठ्यांग्रिने शिक्षक याम विश्वकर्माले बताए। ‘विद्यालय भताभुङ्ग अवस्थामा छ, बालबािलकाहरु टहरामा बसेर पढ्न बाध्य छन्,,' उनल भने, 'बालबालिकालाई रमाइलो वातावरणमा पढ्ने वातावरण सिर्जना गर्नुपर्ने हो तर कक्षाकोठा अभावले सम्भव हुन सकेको छैन।’ चिसोले विद्यार्थीहरु बिरामी पर्ने खतरा समेत बढेको छ।

कटानले गर्दा बाँकी रहेका पूर्वाधार समेत जोखिममा परेकाले विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी भैरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष गमान छन्त्यालले बताए। जग्गा खोजी र पूर्वाधार निर्माणका लागि स्रोत जुटाउने पहल भैरहेको उनको भनाइ छ।

बाढीले विद्यालयको पाँच करोड रुपैयाँभन्दा बढी क्षति भएको छ। स्थानीयवासीको पहलमा विद्यालयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिए पनि उपयुक्त जग्गा र पूर्वाधार बनाउन बजेटको अभाव छ। विद्यालय स्थापना भएको २८ वर्षसम्म सरकारी र स्थानीयवासीको पहलमा निर्माण भएका पूर्वाधार बाढीले क्षतिग्रस्त हुँदा यस विद्यालयले ठूलो भौतिक संकट व्यहोरेको छ।

अहिले विद्यालय रहेको ठाउँमा नदी कटानको उच्च जोखिममा रहेकाले नजिकै रहेको ठाउँमा जग्गा खोजी गरे पनि कतिपय व्यक्तिहरुबाट जग्गा उपलब्ध गराउन मञ्जुर नभएको र कतिपय ठाउँ सुरक्षित नभएकाले समस्या भएको प्रधानाध्यापक खिमबहादुर छन्त्यालले बताए। विद्यालयमा अहिले कुइनेखानी, मंगलेखानी, पात्लेखर्क, दुवाडी, घ्यासीखर्क, चौरखानी, दुलेखर्क, गौँडामुनि, नामीला, मुलपानी, रायखोर लगायतका ठाउँका १५० बढी बालबालिका अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.