|

कपिलवस्तु : सरकारको बेवास्ताले कपिलवस्तुका अस्पताल र स्वास्थ्य संस्थाको सेवा प्रभावित भएको छ। तौलिहवामा रहेको जिल्ला अस्पताल र कपिलवस्तु नगरपालिकाभित्रका आठ वटा स्वास्थ्य संस्थामाहरुमा करिब पाँच महिनादेखि निःशुल्क वितरण गरिने औषधि र चिकित्सकहरुको अभाव छ। भौतिक सामग्रीको पनि आभाव रहेको छ।

नगरपालिकाले भदौदेखि नै निःशुल्क पाइने विभिन्न ७० किसिमका औषधि उपलब्ध गराउनुपर्ने भए पनि अहिलेसम्म नदिएको जिल्ला अस्पतालले बताएको छ। नगरपालिकाले टेन्डर आह्वान गरी औषधि उप्लब्ध गराउनुपर्नेमा भए पनि बेवास्ता गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेले बताए। ‘जिल्ला स्वास्थ्यअन्तर्गतका आधारभूत औषधिबाट काम चलाइरहेका छौ,’ उनले भने, ‘बिरामी आउँछन्, हामीसँग आक्रोश पोख्छन्। नगरपालिकाले वास्ता गर्दैन।’ 

नगरपालिकाले विनियोजन गरेको बजृट र केन्द्रबाट आएको रकम अस्पताल विकास समितिलाई नदिएको अस्पातालले बताएको छ। चालु आर्थिक वर्षमा अस्पताल सुदृढीकरण कार्यक्रमका लागि नगरपालिकाले ७० लाख रुपैयाँ र केन्द्रबाट ३० लाख रुपैयाँ अनुदानको रकम समेत नदिएको दाबी अस्पताल प्रशासनका रत्नाकर शुक्लाको भनाइ छ।

सरकारले उपलब्ध गराउने ७० किसिमको औषसधिमध्ये ४० किसिमका जिल्ला स्वास्थ्यबाट पाइन्छ। बाँकी ३० प्रकारका औषधि त नगरपालिकाले किन्नुपर्ने अस्पताल प्रशासक शुक्लाले बताए। नगरपालिका प्रशासनलाई पटक–पटक औषधि तथा अस्पतालका लागि विनियोजित बजेट उपलब्ध गराउन माग गर्दा समेत अटेर गरिएको उनको दावी छ। तौलिहवा अस्पताल प्रदेश सरकार मातहत गएलगत्तै नगरपालिकाले सेवा सुविधा तथा बजेट दिन आनकानी गर्दै आएको बताइएको छ।

अस्पतालमा दैनिक १०० भन्दा बढीको हाराहारीमा आउने बिरामीलाई अस्पतालले निजी फार्मेसीहरुबाट औषधि खरिद गर्न लगाउने गरेको छ। ‘सरकारले औषधि उपचार निःशुल्क भन्छ,’ निग्लिहवाका घनश्याम घतीले भने, ‘तर अस्पताल आउँदा सबै किन्नु पर्छ।’ 

नगरपालिका स्वास्थ्य विभागका प्रमुख उमेशप्रसाद गुप्ताले तौलिहवा अस्पतालसहित सबै स्वास्थ्य संस्थालाई औषधि खरिद गर्न टेन्डर भइसकेको बताए। उनले भने, ‘टेन्डर प्रक्रियामा केही ढिलो भयो तर अब १५ दिनभित्र औषधि सबै संस्थामा जान्छ।’ केन्द्रको अनुदान र नगरपालिकाले विनियोजन गरेको जम्मा १८ लाख रुपैयाँको औषधि खरिद भइरहेको नगरपालिकाले जनाएको छ।

जिल्ला अस्पताल तौलिहवा र १० वटा स्वास्थ्य संस्थामा वार्षिक करिब ४० लाख रुपैयाँको औषधि खपत हुने गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.