|

नेपाली कांग्रेस नेपालको राजनीतिमा जनताकै संगठनको रूपमा उभिएको एउटा मात्रै पार्टी हो। यो पार्टीको स्थापनाको एउटै मात्र उद्देश्य नेपालमा प्रजातन्त्रको स्थापना गर्नु थियो। त्यो बेला अलोकतान्त्रिक राजनीतिको बागडोर सम्हालेर बसेको राणाहरूसँग नै कांग्रेसको पहिलो द्वन्द्व थियो। उनीहरूलाई परास्त गरेर नेपालमा प्रजातन्त्र स्थापना गर्नु थियो। कांग्रेसले त्यो उद्देश्यलाई सफल तुल्यायो।

जब २००७ मा राणा शासनको अन्त्य भयो, त्यसपछि कांग्रेसको मूल एजेण्डा भनेको संविधानसभाबाट संविधान जारी गर्ने र २०१२ सालमा महाधिवेशनबाट पारित गरेको समाजवादी कार्यक्रमबाट नेपालको आर्थिक पुनर्संरचना गर्नु थियो तर दुर्भाग्यको कुरा, संविधानसभाको निर्वाचन गर्ने कुरामा तत्कालीन दरबार सहमत भएन। अनेकौँ षड्यन्त्रको जालो बुन्दै गयो। त्यसपछि पुरानै प्रजातन्त्र स्थायी रहने/नरहने भन्ने अप्ठ्यारो परिस्थितिमा राजनीति पुग्यो। 

तत्कालीन संझौताकै स्वरूपअनुसार संविधानसभाको निर्वाचनको मुद्दालाई थाँती राखेर कांग्रेसले त्यस बेलाको संसदीय निर्वाचनमा सहभागी हुनु कांग्रेसले उत्तम ठान्यो। त्यही निर्वाचनबाट पहिलो पटक जनताबाट निर्वाचित पहिलो सरकार बन्यो। दरबारको षड्यन्त्र त्यतिमा सीमित भएन। सक्रिय राजनीतिमा सहभागी हुने दरबारको इच्छा रह्यो र लोकतान्त्रिक सरकारलाई समाप्त गर्ने खेलमा दरबार लाग्यो। अन्तत: २०१७ सालमा प्रजातन्त्रको हत्या नै भयो। त्यसपछि हाम्रो एजेन्डा प्रजातन्त्र पुन:स्थापना नै रह्यो। 

त्यसपछि सशस्त्र आन्दोलनको माध्यमबाट कहिले सत्याग्रह, कहिले शान्तिपूर्ण आन्दोलन त कहिले जनआन्दोलनको माध्यमबाट कांग्रेस प्रजातन्त्र पुन:स्थापनामा लाग्यो। कांग्रेसले अरू राजनीतिक दललाई पनि त्यो मुद्दामा सँगै लिएर हिँड्यो। अन्त्यमा २०४७ सालमा यो आन्दोलनले सफलता पनि प्राप्त गर्‍यो। 

त्यसपछि कांग्रेसको मूल एजेन्डा विकास निर्माण र आर्थिक समृद्धि नै रह्यो। २०४७ देखि २०५१ का सरकारको निर्णय हेर्‍यौँ भने पनि यो प्रमाणित हुन्छ। त्यो बेला स्वास्थ्य, शिक्षा क्षेत्रमा विकास भएको छ। गाउँगाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी पुगेको थियो। सडक संजालको बाहिर रहेका जिल्लालाई सडकले जोडेको कांग्रेसले नै हो। संचारको क्षेत्रमा पनि त्यही बेला विकास भएको हो। घरघरमा टेलिफोन, रेडियो पुग्न सफल भएको थियो। जब २०५२ सालमा माओवादीले द्वन्द्व सुरु गर्‍यो, त्यसपछि भने विकासका गतिविधि शून्य जस्तै भए। त्यसपछि कांग्रेसले देशमा शान्ति स्थापना गर्ने एजेन्डा लियो। हिंसात्मक बाटोमा लागेकालाई पनि लोकतन्त्रको बाटोमा ल्याउने प्रयासमा कांग्रेस लाग्यो। 

अन्ततः गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा यो पनि संभव भयो। अहिले शान्ति प्रक्रिया अन्तिम अवस्थामा पुग्न लागेको अवस्था छ। त्यसबेला व्यक्ति हत्यामा हिँडेको माओवादी जनमतको विश्वास गर्दै मतपेटिकाको बाटोमा आइपुगेको छ।

अब त्यसपछिको एउटै ध्येय लोकतान्त्रिक संविधान जारी गर्नेमा रह्यो। पहिलो संविधानसभाको निर्वाचन हुन धेरै कठिन हुँदाहुँदै पनि निर्वाचन भयो। त्यो बेला संविधानसभाको चुनावमा नेपाली कांग्रेस त हार्दै छ तर चुनाव भएन भने देशै हार्छ भनेर चुनाव गर्दै छु भनेर गिरिजाबाबुले भन्नुभएको थियो। हामी निर्वाचनमा नराम्रोसँग पराजित पनि भयौँ। त्यो बेला संसदमा वामपन्थीको वर्चश्व थियो। उहाँहरूले चार जना प्रधानमन्त्री पनि फेर्नुभयो तर दुर्भाग्य भन्नुपर्छ, उहाँहरूले संविधानसभाबाट संविधान घोषणा गर्न सक्नुभएन। अन्ततः पहिलो संविधानसभा भंग भयो। 

अब हामीले प्रजातान्त्रिक समाजवाद भनेर मात्र पुग्दैन। प्रजातान्त्रिक समाजवादलाई आआफ्नो तर्फबाट व्याख्या गरेर पनि पुग्दैन। नेतापिच्छेका समाजवादी कार्यक्रम र त्यसका परिभाषा पस्किएर मात्र हुँदैन। 

त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा हामी पहिलो दल बन्यौँ तर हामी एक तिहाईको नजिक मात्र थियौँ। संविधान जारी गर्न दुई तिहाई बहुमत आवश्यक पर्थ्यो तर हामीले सबै दललाई एक ठाउँमा ल्याएर हदैसम्मको लचकता अपनाएर संविधानसभाबाट संविधान जारी गर्‍यौँ। सुशीलदा' बितेर जानुभयो तर सत्य कुरा के हो भने सत्ताको आकर्षण तत्कालीन एमालेलाई नदेखाएको भए वा एमालेलाई भावी प्रधानमन्त्री बनाउने लोभ नदेखाएको भए संविधान जारी गर्ने कुरामा एमाले सहयोगी बन्ने अवस्थामा थिएन। सुशीलदा'ले सत्ता ठूलो कुरा होइन भन्ने सम्झिनुभएका कारण संविधान जारी भयो। 

कांग्रेस अहिले पराजित हुनु खासै ठूलो कुरा होइन। जनताले बेलाबेला पार्टीहरूको परीक्षा लिन्छन्। अहिले नेकपाको परीक्षा लिएका छन्। त्यसको गम्भीर्य उहाँहरूले बुझ्ने/नबुझ्ने उहाँहरूको कुरा हो। २०६४ मा जनताले माओवादीलाई जिताउनु गल्ती होइन। मुलुकको एउटा वृहत्तर स्वार्थको कसीबाट हेर्ने हो भने त्यो घटना मुलुकमा आवश्यक थियो तर त्यसलाई उपयोग गर्न नसक्नु, संविधान दिन नसक्नु माओवादी नेताहरूको कमजोरी हो, जसको परिणाम २०७० को निर्वाचनमा उहाँहरूले भेटाइहाल्नुभयो।

अहिले हामीले उत्तर-दक्षिण फर्किएका दलहरूलाई एक ठाउँमा ल्यायौँ। उहाँहरूले संविधानको पानापानामा हस्ताक्षर गर्‍यौँ। मुलुकमा राजनीतिक एजेन्डालाई अब एउटा टुंगोमा पुर्‍यायौँ। 

कांग्रेसको अबको एजेण्डा

अब हाम्रो सम्पूर्ण प्रयत्न आर्थिक एजेन्डामा हुनुपर्छ। कांग्रेसको महासमिति बैठक बस्दै छ। अहिले पनि विभिन्न एजेन्डामा छलफल गरिरहेका छौँ। अब हामीले प्रजातान्त्रिक समाजवाद भनेर मात्र पुग्दैन। प्रजातान्त्रिक समाजवादलाई आआफ्नो तर्फबाट व्याख्या गरेर पनि पुग्दैन। नेतापिच्छेका समाजवादी कार्यक्रम र त्यसका परिभाषा पस्किएर मात्र हुँदैन। 

अब सामाजिक लोकतन्त्र कस्तो हुने हो? कार्यक्रमहरू कस्ता हुने हुन्? उत्पादनका साधनहरू कस्ता हुने हुन्? उत्पादकका साधनसँग जोडिने उत्पादनका शक्तिहरूलाई कसरी जोड्छौँ? उत्पादनको मात्र वृद्धि गरेर भएन त्यसको वितरण कसरी गर्छौं? यो महत्त्वपूर्ण हुन्छ। अहिले समृद्धिको मात्र कुरा गछौँ। अब समृद्धि भएर मात्र हुँदैन समावेशी समृद्धि हुनुपर्छ। हाम्रो एजेन्डा समावेशी समृद्धि हुनुपर्छ। 

कतै हामीले समृद्धिको कुरा गरेर समाजका एकथरि अत्यन्तै समृद्ध हुने र अर्कोथरि अत्यन्तै गरिब  हुने अवस्था आउनेतर्फ लागेका त छैनौँ? यो समृद्धि पनि काम लाग्दैन। यसले कुनै न कुनै हिसाबले द्वन्द्वको खतरा हुनसक्छ। अब कुनै किसिमको द्वन्द्व ननिम्त्याउन समावेशी समृद्धिलाई समाजवादी कार्यक्रम बनाएर अघि बढ्नुपर्छ।

(कांग्रेस काभ्रे सभापति आचार्यसँग थाहाखबरका चिरञ्जिबी घिमिरेले गरेको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.