|

इलाम : स्टोर सामग्री हस्तान्तरण नहुँदा इलाममा ७५ वटा खानेपानी आयोजनाको काम ठप्प भएको छ। खानेपानी तथा सरसफाई डिभिजन नम्बर १ को फिल्ड कार्यालय इलाम प्रदेश सरकार गठन भएपछि संघीय सरकारबाट हस्तान्तरण भए पनि स्टोर हस्तान्तरण नहुँदा काम ठप्प भएको हो।

संघ सरकारले १० हजार भन्दा मुनि उपभोक्ता रहेको योजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। योजना हस्तान्तरणसँगै कर्मचारी समायोजन गर्दा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामका प्रमुख मोतिउर रहमानको ओखलढुंगा सरुवा गरिएको र स्टोर हेर्न हरि दाहालको इलाम नगरपालिकामा सरुवा भएपछि स्टोरको जिम्मा लिने कर्मचारी नहुँदा काम ठप्प भएको हो।

गत आर्थिक वर्षसम्म इलाम पाँचथर र ताप्लेजुङमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रहे पनि चालु आर्थिक वर्षदेखि प्रदेश १ अन्तर्गत पाँचथरमा मुख्य कार्यालय तथा इलाम र ताप्लेजुङमा फिल्ड कार्यालय स्थापना भएको छ। योजना हस्तान्तरणसँगै फिल्ड कार्यालय इलामको स्टोर हस्तान्तरण नहुँदा योजनाको काम गर्न नसकिएको प्राविधिक दशरथ राईले बताए।

प्रदेशअन्तर्गत रहेको खानेपानी डिभजिन तथा सरसफाई कार्याल १ फिल्ड कार्यालय इलाममा ३ जना प्राविधिक खटिएका छन्। ७५ वटा खानेपानी योजना रहेको इलाममा स्टोर हस्तान्तरण गर्ने कर्मचारी नआउँदा ती योजनाको काम शुरु नभएको हो। खानेपानी आयोजनाका पाइप र अन्य सामग्रीहरू साइडमा लानुपर्ने हो। तर स्टोर बुझ्ने कर्मचारी नआउँदा अहिले ३ जना प्राविधिकहरू त्यतिकै बसिरहेका छन्। 

२१ जना कर्मचारीको दरबन्दी रहेको डिभिजनमा क्रमागत योजनाहरू केन्द्रबाट हस्तान्तरण भएर आए पनि बजेट अत्याधिक कम भएको डिभिजन प्रमुख सुरतलाल चौधरीले बताए। पाँचथर जिल्लामा रहेका योजना कार्यान्यवनका लागि स्टोर हस्तान्तरणको काम भएर काम शुरु भएको र ताप्लेजुङमा काम अघि बढाउने तयारी भएको प्रमुख चौधरीले बताए।

इलाममा स्टोर बुझ्ने कर्मचारी नभएकाले मुख्य कार्यालय पाँचथरमा रहेका स्टोरकिपरलाई इलाममा रहेको पूर्ववर्ती कार्यालयको स्राेत र सामग्री हस्तान्तरणका लागि पत्र दिएको प्रमुख चौधरीले जानकारी दिए। ‘स्टोर हस्तान्तरण गर्ने काम नहुँदा योजनाको काम अघि बढ्ने अवस्था थिएन। अब चाँडै पुरानो स्टोरकिपरबाट स्टोर बुझेपछि योजनाको काम शुरु हुने छ’ प्रमुख चौधरीले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.