|

डडेल्धुरा : ‘गन्यापताल’ क्षेत्रलाई मिनी खप्तडको रूपमा विकास गरिने भएको छ। ६ वटा पाटन रहेको गन्यापताल क्षेत्रलाई पर्यटकीय रूपमा विकास गर्न मिनी खप्तडका रूपमा चिनाउन अभियानसमेत थालिएको छ। डोटीको शिखर नगरपालिका र जोरायल गाउँपालिकाको सिमानासँग जोडिएको गन्यापताल क्षेत्र प्राकृतिक सौन्दर्यले मनमोहक रहेकोले पर्यटक क्षेत्रका रूपमा विकास गरिने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए।

सामुद्रिकसतहको १२ सय मिटरदेखि २६ सय ७१ मिटरको उचाइमा रहेको भू-भाग ७७ प्रतिशत वनजंगलहरूमा ठुल्ठूला फाँटहरु रहेका छन्। यस पर्यटकीय क्षेत्रलाई मिनी खप्तडको रूपमा विकास गर्ने गाउँपालिकाका अध्यक्ष मल्ल बताउँछन्। ‘गन्यापताल नजिकसम्म सडक निर्माणका लागि यस वर्ष कामको थालनी गरिएको छ।’ उनले भने–‘५० लाख रकम ताल संरक्षण सम्बद्र्धनका लागि विनियोजन गरेका थियौँ।   अब यससँगै यसको अध्ययन अनुसन्धान गरी योजनाबद्ध रूपमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न हामी लागिपरेका छौँ।’

घना जंगल भएकाले बर्सेनि ढलापडा रूखहरू मात्रै व्यवस्थित रूपमा बिक्री गर्न सके गाउँपालिकाले लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने तथा पर्यटकका लागि ट्रेकिङ, होम स्टे, रिसोर्ट लगायतका सुविधा गर्न सके स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्न सकिने उनको भनाइ छ।

धार्मिक सांस्कृतिक ऐतिहासिक महत्व बोकेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्यापधुरा देवस्थली र गन्याप ताल खप्तडको झल्को मेटाउँछ। गन्यापताल, लामीताल, बाटुली ताल गरी यस क्षेत्रमा रहेका ६ वटा पाटनको पहाडी क्षेत्रमा अहिले हरियालीसंगै मनमोहक दृश्‍य र बुट्यान फूलहरूले सजिएको छ। 

समुद्री सतहबाट दुई हजार मिटर बढी उचाइमा रहेको गन्यापताललाई पर्यटकीय क्षेत्रका रुपमा संरक्षण गरी सम्‍बर्द्धन गर्न अहिले स्थानीय निकाय गन्यापधुरा गाउँपालिका जुटेको छ। पहिलोपटक गन्याधुरा गाउँपालिका अध्यक्ष सहितको एक टोली गन्याप ताल पुगी सम्भाव्यता अध्ययन गरेको अध्यक्ष मल्लले बताए।

झण्डै एक किलो मिटर भू–भागमा फैलिएको गन्याप ताल चारै तिर डाडाँकाडाले घेरिएको छ। त्यँहा विभिन्न प्रकारका जडीबुटीसमेत पाइन्छन्। प्रसिद्ध धार्मिक पीठका रूपमा मानिने गन्याप मन्दिरदेखि करिब पाँच किलोमिटरको दूरीमा रहेको गन्यापताल संरक्षणमा सम्बन्धित निकायले चासो नदिँदा भूक्षय, बाढी पहिरोले ताल फाँटमा परिणत भएको स्थानीय बुढापाका बताउँछन्।

ओसिलो स्थान ठाउँ ठाउँमा पानि जमेको तथा जमिनमा टेक्दा भासिने, थरथर हुने भएकाले भित्र पानी रहेको अनुमान गर्न सकिन्छ। त्यस क्षेत्रमा पाँच औँले, गनानो, सतुवा, सेलपोडे, रातो च्याउ लगायतका जडीबुटी पाइने स्थानीयको भनाइ छ। ‘पहिले पहिले गर्मी याममा भैँसी, गाई बस्तुलाई स्याहार्न बाजेहरु गन्यापताल आउथे तिन चार महिना पछि चिसो बढ्ने एवं गाउँतिर पनि गाईवस्तुलाई चरन हुने भएकाले पर्कने गर्थे।’ स्थानीय दुर्गाप्रसाद भट्टले भने, ‘पहिलेको तुलनामा गर्मी बढ्दै गएको तथा ताल, जंगल, जंगली जनावरको संरक्षण  हुन नसक्दा कस्तुरी लगायतका अन्य मृग लोप भए।’

अहिले पनि गन्याप ताल वरिपरि गाईवस्तु बाँध्न एवं आफू बस्न बनाइएका घर गोठहरूको संरचना देख्न सकिन्छ। अहिले जंगलमा भएका मृग लगायतका जडीबुटीको संरक्षण गरी अध्ययन अवलोकन तथा मनोरम मनमोहक प्राकृतिक दृष्यका तवरले गाउँपालिकालाई आय स्रोत र पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने सम्भावना छ।

भाद्र शुक्लपक्ष पूर्णिमाका दिन प्रत्येक वर्ष पूजाआजाका साथ धुमधामसँग मनाइने लाटा गन्यापधुरा मेलाको औद्‍योगिक धार्मिक आस्था अहिले पनि नि:सन्तानलाई सन्तान हुनेछ। सदरमुकाम बडालबाट करिब दुई घण्टाको पैदल दूरीमा पुगिने गन्यापधुरा देवस्थलको मेलाका समय पुगी पूजाआजा गर्नाले यससँगै अन्य मनोकामना पूरा हुने स्थानीय हरिलाल भट्टले बताए।

‘गन्यापधुरामा बली नचढ्ने भएकाले एक पवित्र धार्मिकस्थलका रूपमा चिनिन्छ। दूध धारी देवता हुन्। गन्यापलाई शिवजीको रूपमा लिइन्छ। हामीलाई थाहा छ। सबैले सुनेका पनि छौँ। उनले भने, ‘सारा सृष्टिको रचयिता भगवान् शिव हुन भने उनको यस पवित्र देवभूमिमा पुगी पूजाआजा गर्नाले सबै दुःख कष्ट नास भएर जान्छन् भने प्रसादका रूपमा चिताएको फल प्राप्त हुन्छ।’

तीन महिना बढी हिउँ जम्ने ताल क्षेत्रमा कुनै समय कस्तुरी पनि पाइने गरेको थियो । मौसम परिवर्तनसँगै वन जंगल फँडानी हुँदै गएपछि अहिले भने लोप भएर गएको स्थानीय लोकबहादुर कार्कीले बताए। ‘चोरी सिकारी रोक्न सकिएन।’ उनले भने, ‘यसतर्फ कसैको ध्यान नजाँदा भएका मृग थार, जङ्यो, धोरड लगायतका अन्य जंगली जीवजन्तु पनि लोप हुने अवस्थामा छन्।’

गन्यापतालमाथि दक्षिणतर्फ सबैभन्दा अग्लो पहाड २६ सय ७१ मिटरको उचाइमा दुर्विनडाँडाका नामले चिनिने ढुंगा सिमेन्टले निर्मित सीमास्तभ जस्तो देखिने पिलरसमेत रहेको छ। गन्यापधुरा गाउँपालिका ओझेलमा परेका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसारमा जुटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.