|
फाइल फोटो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार भएको खेलमा कुपन्डोलको फ्रेन्ड्स क्लबमाथि विभागीय टिम नेपाल पुलिसले गोल वर्षा गरेको छ। एन्फा कम्प्लेस सातदोबाटोमा भएको खेलमा पुलिसले फ्रेन्ड्सलाई ५-० ले पराजित गर्‍यो, जुन जारी प्रतियोगितामा सर्वाधिक फराकिलो जीत हो।

पुलिसको जीतमा अभिषेक रिजाल, रवि पासवान, भरत शाह , तेज तामाङ र नीरकुमार राईले गोल गरेका थिए। पुलिसले खेलको चौथो मिनेटमा रविको क्रसमा अभिषेकको गोलमार्फत अग्रता बनाएको थियो। पुलिसका लागि रविले ३१औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो।

हेम तामाङको पासमा रविले गोल गरेका थिए। भरतले ५९औँ र तेजले ६२औँ मिनेटमा गोल थपे। नीरकुमार राईले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल थपेका थिए। आठौँ खेलमा पुलिसको यो चौथो जीत हो। टोलीले दुई खेलमा बराबरी र दुई खेलमा हार व्यहोरेको छ। पुलिसका रवि खेलको म्यान अफ दि म्याच घोषित भए। आठौँ खेलमा फ्रेन्ड्सको यो छैटौँ हार हो। एक खेल जितेको फ्रेन्ड्सले दुई खेलमा बराबरी खेलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.