वर्षौंदेखि नवीकरण नभएको संस्थामा समेत ताँती

|

सुर्खेत : ‘समृद्ध कर्णाली’ बनाउने बताउँदै आएको कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु विभिन्न संघ संस्थाहरुले आयोजना गरेका कार्यक्रममा सहभागी हुन होडबाजीजस्तै छ। 

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सुस्तता भइरहेको टिप्पणी भइरहेका बेला प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु भने सार्वजनिक कार्यक्रममा जान नै भ्याइनभ्याइ छ। उनीहरु लन्ड्री पसलदेखि भवन उदघाटन, सहकारीका साधारणसभा मात्र नभई वर्षौंदेखि नवीकरण नभएका संस्थाका कार्यक्रममा समेत गएका भेटिएको छ।

तीन वर्षदेखि नवीकरण नगरी सञ्चालन भइरहेको सुर्खेतको बागिना समूह नामक संस्थाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, सांसद ठम्मर विष्टले सहभागी जनाएका छन्। 

संस्था नवीकरण नभएको जानकारी हुँदाहुँदै कार्यक्रममा मुख्मन्त्री, मन्त्री र सांसदहरुको उपस्थिति भएको देख्दा नागरिकहरुले आश्चर्य प्रकट गरेको छन्। उक्त संस्थाका वार्षिक साधरणसभा १३ वर्षदेखि भएको छैन। १३ वर्र्षदेखि अध्यक्ष रहेका गोविन्द कोइरालाले शक्तिको आडमा साधरणसभा, लेखा परीक्षण र संस्था नवीकरण समेत नगरेको संस्थाका सदस्यहरुको आरोप छ। संस्थाको विधानमा कुनै एक व्यक्ति १३ वर्षसम्म अध्यक्ष हुने प्रावधान नभएको संस्थाका एक सदस्यले बताए। 

२०६६ साल असोज २७ पछि एकै पटक २०७२ साउन १५ मा संस्था नवीकरण गरिएको पाइएको छ। त्यसपछि हालसम्म नवीकरण भएको देखिँदैन। संस्थाका संंस्थापक अध्यक्ष ललित सिंजालीले बागीना समूह अहिले मृतजस्तै बनेको बताउँछन्। संस्थापकमध्ये अधिकांश बाहिरिएको बताउँदै संस्थाको प्रतिनिधित्व कोइरालाले मात्रै गरिरहेको सिंजालीले ब्यंग्य गरे।

यता, संस्थाका अध्यक्ष गोविन्द कोइरालाले केही वर्ष नवीकरण गर्न छुटेको स्वीकार गरेका छन्। जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भएका तर बीसौं वर्षसम्म नवीकरण नगरिएका संस्थाहरु पनि रहेको भन्दै उनले आफ्नो बचाउ गरे। बताए । संस्थाका कोषाध्यक्ष काठमाडौंमा रहेकाले संस्था नवीकरण गर्न ढलाई भएको उनको भनाइ छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले संस्थालाई नवीकरणका लागि पत्र काट्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.