|

रुकुम : राप्ती लोकमार्गअन्तर्गत सल्यान रुकुम खण्ड जीर्ण बन्दै गएको छ। राप्ती लोकमार्गअन्तर्गत रुकुम खण्ड केही समयअघि टालटुल गरिएको भए पनि पुनः उस्तै समस्या देखिएको छ। सडकमा नामको मात्र कालोपत्रे र टालटुल भए पनि धेरै ठाउँमा धुलाम्मे सडक बनिसकेको छ। कतै सडक खाल्डाखुल्डी छ त कसै कालोपत्रे उत्रिएर धुलाम्य अनि कतै बर्षातमा गएको पहिरोसमेत मर्मत गरिएको छैन। सडकको रुकुम खण्डमा प्रबेश गर्ने बित्तिकै नै सडकको झनै बेहाल देखापर्ने गरेको छ।

 झुल्नेटा, सिम्रतु र सोलबाङ माथी देखि सदरमुकाम आसपासमा समेत अवस्था बेहाल छ। २०५९ सालमा निर्माण भएको यस सडक ५ बर्ष अघि कालोपत्रे गरिएको थियो भने १ बर्ष अघि मात्र बिग्रीएको ठाउँमा टालटुल पारिएको थियो। आर्थिक वर्ष २०६९÷७० मा विश्व बैंकको करिब ६१ करोड ५० लाख रुपैयामा ओटासिल गरिएको थियो। सडक गुणस्तरहीन भएका कारण एक वर्षमै उम्किने र भत्कीन शुरु गरेको थियो। जसमा खौला देखी पितीवाङ सम्मको सविन कन्ट्रक्सन प्रा.लि.र पितीवाङ देखी सल्लेसम्मको सडक टालटुल गर्ने जिम्मा मनकामना कन्ट्रक्सन प्रा.लि.ले लिएको थियो। जसको लागि एक÷एक करोड रुपैयाँ विनियोजित गरिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ।

सडक दुर्घटना पनि बढे

अस्तव्‍यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको देखिन्छ। विशेषगरी सडक निर्माण भएको लामो सममसम्म पनि सडक चौडा नभएका कारण सडक जिर्ण बनेसँगै दुर्घटना बढेको हो। सडक साँघुरो हुनु, डाईभरको लापरवाही, थोत्रा गाडि सगै यातायातमा सिण्डेकेट प्रणालीका कारण  दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमले जनाएको छ। जिल्ला ट्राफिक कार्यालय अनुसार ०७१/७२ देखि हालसम्म १ सय २७ वटा गाडि दुर्घटना भएको र जसमा ५८ जनाको मृत्यु भएको छ। तर यस अघि पनि राप्ती लोकमार्गमा थुप्रै गाडि दुर्घटना भएपनि कती जनाको मुत्यु भएको भन्ने एकीन तथ्याङ छैन्।

२०६३ सालमा सल्यानमा भाण्टाखोलामा गाडि दुर्घटना हुँदा झण्डै ४० भन्दा बढीको मुत्यु भएको थियो। त्यसपछि पनि धेरै गाडि दुर्घटना भएको र धेरै जनाको ज्यान गएको छ। राप्ती लोकमार्गअन्‍तर्गत दाङको अमेलियादेखि मुसिकोट सल्लेसम्म १ सय ६८ दशमलव ५४ किलोमिटर सडक पर्दछ। भौगलिक रुपमा कमजोर भिरोलो जमिन भएका कारण वर्षे पहिरो र वाढीले सडक क्षती हुने गर्दछ। अन्य बैकल्पीक सडक नहुँदा रुकुम (पूर्व–पश्चिम) र सल्यान स्थानीयहरु यसै सडकमार्फत ओहरदोहर गर्न बाध्य छन्। राप्ती लोकमार्गमा सयौं सवारी साधन रुकुम (पूर्व–पश्चिम) र सल्यान जिल्लाबाट नेपालगञ्ज काठमाण्डौ, दाङ, पोखरा लगायतका शहरमा आवतजावत गर्ने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.