|

काठमाडाैं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताए। 

शनिबारदेखि राजधानी काठमाडाैंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एकता देखाउनका लागि मात्रै नभई यथार्थमा पार्टी एकता हुनुपर्ने बताए। उपसभापति विजयकुमार गच्छदारले हात उठाएर एकताको सन्देश दिन गरेको आव्हानप्रति लक्षित गर्दै उनले हात उठाएर मात्रै एकतावद्ध नहुने उल्लेख गरे। एकताको बैज्ञानिक आधार खडा गरी कार्यगत र ठोस एकता हुनुपर्नेमा उनले जोड दिए।

युवा अवस्थादेखि सभापति देउवा र आफ्नो एउटै लक्ष्य र संघर्ष गरेका मान्छेका बीचमा मेल किन नहुने भन्दै उनले महासमिति सदस्यहरूलाई प्रश्न गरे, 'फर्केर जिल्लामा जाँदा एक भएर जानुहुन्छ कि हुँदैन ? फेरि जिल्लामा गएर छिड्के दाउ खेल्नुहुन्छ कि हुँदैन?'

‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ ’ भने जस्तो विगतमा पनि एकता भएको संदेश दिएर पार्टी ठूलो दुर्घटनामा परेको उल्लेख गर्दै उनले भने, 'यथार्थवादी बनेर विषय, कार्यशैली र पार्टी भित्रको कमजोरी हटाउन एकता गरौं।' 

नेपाली कांग्रेस धेरै ठूलो संकटमा भएको भन्दै उनले त्यसको सामना गर्नका लागि पार्टीभित्र एकता हुनुपर्ने उल्लेख गरे। विगतमा उम्मेदवारीको टिकट दिँदा गल्ती भएको भन्दै सही मूल्यांकन गरेर क्षमता र योगदानको कदर गर्नुपर्नेमा उनले जोड दिए। उनले आगामी निर्वाचनमा ठूलो पार्टी बन्ने तयारीका साथ पार्टीले कार्यतालिका बनाई आफ्ना कार्यक्रमहरूलाई अघि बढाउनुपर्ने बताए।

कम्युनिष्टकै लहै लहैमा लागेर कार्यकर्ताले पनि नेतालाई विपीको बाटो छोडे भन्ने आरोप लगाउने गरेको भन्दै उनले नेतृत्वले विपीको बाटो नछोडेको दाबी गरे। बहुलवादमा आधारित संसदीय लोकतन्त्र, गाउमा अधिकार पुर्‍याउने, ग्रामीण विकासदेखि मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने लगायत काम विपिकै चाहना अनुरुपका भएको दाबी उनले गरे।

नयाँ शोषक जन्माउने तर्फ सरकारका कामहरू अघि बढेको भन्दै उनले सरकारका गलत क्रियाकलापविरुद्ध एकजुट हुनु पर्नेमा पनि उनले जोड दिए। समृद्ध नेपाल सुखी नेपालीको नारा दिए पनि सरकार त्यसको बाटोमा अघि नबढेको ठोकुवा गरे। आफ्नो नारा अनुसार सरकारका क्रियाकलाप केन्द्रीत नभएकाले जनताले कांग्रेसको प्रतीक्षा गरिरहेको दाबी पनि उनले गरे।

असीमित भोगको लालसामा नपर्न पनि उनले आग्रह गरे। कांग्रेस एक नभएसम्म सरकारको अधिनायवादी शैलीविरुद्ध लड्न नसकिने भन्दै उनले कार्यगत एकता हुनुपर्ने जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.