केसीलाई 'प्रायोजित अभियन्ता' भन्दै अख्तियारको विज्ञप्ति

|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायत चार माग राखेर पुनः अनसन बस्ने घोषणा गरेका डा. गोविन्द केसीमाथि अख्तियारले ‘मेडिकल माफियाहरुसँग सानिध्यता’ रहेको आरोप लगाएको छ। आइतबार आयोगका प्रवक्ता कृष्णहरि पुस्करले विज्ञप्ति जारी गरी डा. केसी ‘भ्रष्टहरुको माखेसाङ्लोमा जेलिएको’ आरोप लगाएका हुन्। 

अख्तियारले डा. केसीले अख्तियारका प्रमुख आयुक्त कार्कीमाथि लगाएको आरोप ‘सप्रमाण पुष्ट्याईं गरिदिएमा’ उनले ‘पदीय जिम्मेवारीबाटै सन्याश लिने’ घोषणा गरेको छ।

डा. केसी ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट विमुख’ भएको आरोप लगाउँदै अख्तियारले उनको ‘स्वास्थ्य उपचारको उचित व्यवस्था’ गर्न सरकारसँग आग्रह गरेको छ।

डा. केसीले आइतबार शिक्षण अस्पतालमा आफ्ना चार बुँदे माग सार्वजनिक गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गरेका थिए। कार्कीका आफन्त मेडिकल कलेजका सञ्चाल रहेकाले उनले निहित ब्यापारिक स्वार्थका कारण मेडिकल कलेजहरुमा भर्ना शुल्क लागू गर्न नदिएको केसीको आरोप छ। त्यस्तै मेडिकल काउन्सिल र चिकित्साशास्त्र अध्यययन संस्थानका जिम्मेवार पदाधिकारीलाई डरधम्की देखाएर राजीनामा गर्न बाध्य बनाएको दावी गर्दै केसीले कार्कीलाई संसदले महाअभियोग लगाएर हटाउनुपर्ने माग गरेका छन्। 

के भन्छ अख्तियार?

अख्तियारका प्रवक्ता पुस्करले ‘आयुक्तहरुमाथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाही प्रक्रिया आघि बढाउन राखेको मागप्रति कडा शब्दमा भर्त्सना’ गर्दै विज्ञप्ति निकालेका छन्।

‘भ्रष्टाचार, अनाचार एवं सबैखाले विसंगति विरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्षित डा. केसीको सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ’, विज्ञप्तिमा भनिएको छ। आयोगले केसीलाई आफ्नो दावी पुष्टिका लागि चुनौती दिएको छ।

आयोग मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कु नैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अवरुद्ध तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी विशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टिका लागि डा. केसीलाई चुनौति दिन चाहन्छ। 

काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको भन्ने केसीको आरोपबारे अख्तियारले भनेको छ- सरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्ध नियामक निकाय मेडिकल काउन्सिललाई परीक्षाको निष्पक्षता परीक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोग स्पष्ट पार्न चाहन्छ।

डा. केसीले आफ्नो दावीबमोजिम प्रमाण जुटाएमा अख्तियार प्रमुखले पदबाट सन्यास लिने जनाएको छ। विज्ञप्तिमा भनिएको छ-

प्रमुख आयुक्तले “व्यापारिक स्वार्थ” राखेको भन्ने जस्तो घृणित र निकृष्ट आक्षेपका हकमा त्यस्तो अमुक व्यापारिक स्वार्थमा उहाँको संलग्नता सावितीका लागि आयोग डा. केसीलाई थप चुनौति दिन चाहन्छ र उहाँको व्यापारिक स्वार्थको सप्रमाण पुष्ट्याईं गरिदिएको खण्डमा उहाँले पदीय जिम्मेवारीबाटै सन्याश लिने उहाँको निजी घोषणा समेत सार्वजनिक गर्दछ।

डा. केसीका गतिविधिलाई आयोगले स्मृतिमा राखेको उल्लेख गर्दै अख्तियारले मेडिकल माफियाहरुसँग उनको सानिध्यता रहेको, संगठित अपराधी र भ्रष्टहरुसँग साँठगाँठ रहेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ-

यताका दिनमा चिकित्सा एवं स्वास्थ्य क्षेत्रको शुद्धताका लागि आयोगले आफ्नो कारबाहीधिकार भित्रै रहेर गरेको पहलबाट तर्सिएका मेडिकल माफियाहरुसँगको डा. केसीको सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैनन्। वस्तुत: आयोग पदाधिकारीहरुविरुद्ध केन्द्रित पछिल्लो प्रस्तावलाई डा. केसीका यिनै सन्देहास्पद गतिविधिका आलोकमा हेरिनुपर्दछ भन्ने आयोगको आग्रह छ।

केसीमाथि स्वास्थ्य क्षेत्र बन्धक बनाएको आरोप

अख्तियारले डा. केसीले चिकित्सा तथा स्वास्थ्य क्षेत्र सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाएको आरोप लगाएको छ।

चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै डा. केसीले गरेका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई विनाश र अवन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई भन्दा पृथक आयोगको अभिमत छैन।

‘राष्ट्रसेवकको आवरणमा रहे पनि राष्ट्रसेवकको न्यूनतम् आचरण र पेशागत धर्म परिपालना नगर्ने र किस्ताबन्दीको उदण्डताको आडमा राज्यलाई धम्क्याउने जस्ता डा. केसीका कार्य प्रवृत्ति आफैमा खेदजनक छन्’, अख्तियारको विज्ञप्तिमा भनिएको छ।

अख्तियारले केसीलाई ‘नेपाली चिकित्सा क्षेत्रको विनाशको प्रतिनिधिबाहक नबन्न बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न’ सुझाव दिएको छ। ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट विमुख डा. केसीको स्वास्थ्य उपचारको उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ। 

डा. केसीले स्वास्थ्य क्षेत्रको सुधारका नाममा उचो स्वर गरिरहँदा उहाँ आफैं कार्यरत त्रिवि शिक्षण अस्पतालको जर्जर अवस्थितिलाई झाँकेर हेर्नु वाञ्छित हुनेछ र उहाँमा सेवारत संस्थाप्रतिको न्यूनतम् दायित्वोध भएको खण्डमा शिक्षण अस्पतालको अस्वस्थताको उपचारका लागि आफूलाई तैनाथ गर्नु बुद्धिमानी हुनेछ।

अख्तियारले डा. केसीलाई ‘भ्रष्टहरुको माखेसाङ्लोमा जेलिएका प्रायोजित अभियन्ता’ भनेको छ।

भ्रष्टहरुको माखेसाङ्लोमा जेलिएका डा. केसीलाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियन्ता नबन्न समेत आयोग सुझाव दिन चाहन्छ। डा. केसीको अभियानलाई अख्तियारले ‘खोक्रो अभियान’ भनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.