|

काठमाडौं : आर्मीसँग ५–१ को फराकिलो र एकमात्र हार भोगेको संकटा बाँकी आठ खेलमा जित निकाल्न सफल भएपछि उपाधि दाबेदारीमा बलियो बन्दै गएको छ। सोमबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकाल्दा सोमबार सरस्वती र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेले।

जितपछि संकटाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लबसँग अंक बराबरी गरेको छ। मनाङ र संकटा दुवैको खातामा समान २४ अंक छ तर, संकटाले नौ खेल खेलिसक्दा मनाङले भने आठ खेलमात्र खेलेको छ।

संकटाले २५औँ मिनेटमा म्याक्सवेलको गोलबाट अग्रता लिएको थियो। सेड्रिकले पोस्टनजिकबाट दिएको पासलाई म्याक्सवेलले गोलमा परिणत गरेका थिए। पहिलो हाफको अन्तिम समयमा फ्रेन्ड्सका प्रेजनले बराबरीमा गोल फर्काए। दोस्रो हाफमा आक्रामक बनेको संकटाका लागि दिपेश र ताम्पीले गोल थपे। ५४औँ मिनेटमा हेडमार्फत गोल गर्दै ताम्पीले संकटाको अग्रता २–१ मा पुर्‍याएका थिए। लगत्तैै ३ मिनेटपछि लक्ष्मण रुचालको पासमा दिपेशले गोल गर्दै संकटाको जित निश्चित गरे।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको अर्को खेलमा सरस्वती र जावलाखेलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।  औसतभन्दा पनि कमजोर प्रदर्शनमा सीमित दुवै टोली पुछारको दुई स्थानभन्दा माथि रहेर लिगको अन्त्य गर्ने दाउमा  छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.