'हामी भन्छौँ विपीवाद, नेता सुन्छन् नातावाद'

|

काठमाडौं : उमेर ८१, घर मोरङ, २०१५ सालदेखि नेपाली कांग्रेसमा भूमिगत भएर समेत काम गरेको बताउने कपिलप्रसाद सुवेदी महासमिति सदस्‍य भएर बैठकमा भाग लिन पाउँदा दंग छन्। महासमिति बैठकमा आफ्नो विचार राख्‍ने अवसर पाउनु नै आफूलाई गर्वको विषय भएको उनी बताउँछन्।

लामो समय जिल्ला र क्षेत्रमा बसेर काम गरे पनि पद नपाएको गुनासो कहिल्यै नगरेको र नगर्ने उनी बताउँछन्। पार्टीले लाए/अराएको भने सबै जिम्मेवारी पूरा गरेको उनको भनाइ छ।

सुवेदी जस्तै उदयपुरका हरिबहादुर खड्का पनि पहिलो महासमिति सदस्य हुन्। उनले १० वर्ष क्षेत्रीय कार्यसमितिमा र १५ वर्ष जिल्ला कार्यसमितिमा बसेर काम गरेका छन्।  उनी पनि महासमिति सदस्यको रूपमा काठमाडौं आएर आफ्नो विचार दिन पाएकामा दंग छन्। उनी अब पनि धेरै काम गर्न लागेको र महासमिति सदस्य राजनीतिक सिँढी भएको बताउँछन्। 'बल्ल उमेर ६५ भएको छ, महासमिति सदस्यसम्म आइपुगेँ, अझै माथि जाने क्रम जारी नै छ', खड्काले भने।

६१ वर्षीय दाङका डिल्लीबहादुर बस्‍नेतको पनि महासमिति सदस्यको रूपमा पहिलो उपस्थति हो। उनी भने कांग्रेसमा लागेको कारण नै आफ्ना विचार स्वतन्त्रपूर्वक राख्न पाएको बताउँछन्। यी वयोवृद्धहरू महासमिति सदस्य हुन पाएकोमा दंग भएका देखिन्थ्यो।

तर पार्टीको काम कारवाही र अहिले संसदमा पार्टीको उपस्थितिबाट भने उनीहरू निराश भएका छन्। यसका दुई कारण उनीहरू देख्छन्। एउटा नेतृत्व हस्तान्तरणको विषय र अर्को काम गर्ने परम्परागत शैली र नयाँ पुस्तासँग सम्वन्यनको अभाव।

'मैले १०औँ महाधिवेशनबाट नै भन्ने गरेको थिएँ, नेतृत्व हस्तान्तरणमा लोभ गर्नुहुँदैन। अहिले पनि त्यही भनेको छु। पार्टीलाई नयाँ जीवन दिने हो भने पाका पुस्ताले सल्लाहाकारको भूमिकामा बसेर युवालाई नेतृत्व दिनुपर्छ', ८१ वर्षीय सुवेदी भन्छन्, 'उमेर धेरै भएका कारण र पार्टीमा लामो समयदेखि छ भन्ने आधारमा मात्रै नेतृत्व दिनुपर्छ भन्ने मान्यता ठीक छैन।'

दाङका भोजबहादुर बस्नेत पनि आफ्नो माग अब युवालाई नेतृत्व हस्तान्तरण नै गर्नु छ। 'हाम्रा नेताले धेरै काम गर्नुभएको छ, अरूलाई पनि काम गर्ने अवसर दिनुपर्छ। यो पार्टीमा बसेका कारण जनताको सेवा गर्ने अवसर पाउँछु भन्ने आत्मविश्‍वास जगाउन सक्नुपर्छ', बस्नेत भन्छन्।

उदयपुरका खड्का भने उमेर मात्रै नभई अवसरलाई पनि हेर्नुपर्ने बताउँछन्। यस सवालमा पनि अहिले पार्टीमा नेतृत्व गरेको व्यक्ति नेतृत्व हस्तान्तरणमा तयार हुनुपर्ने उनी बताउँछन्। 'कुनै पनि व्यक्तिलाई काम गर्ने एउटा अवधि दिनुपर्छ। त्यो अवधिमा उसले गरेको कामको कदर गर्ने हो तर पटक पटक अवसर दिने शैलीले नयाँ पुस्तामा आकर्षण घट्छ', उनी भन्छन्, 'सधैँ देउवा-पौडेल भनेर मात्रै भएन, उहाँहरू सल्लाहकारमा बसेर अर्को व्यक्तिलाई काम लगाउनुपर्‍यो।'

महासमिति सदस्यको रूपमा पाँच पटक उपस्थिति जनाएका ६५ वर्षीय सल्यानका ध्रुवराज पुरीको विचार भने अलि भिन्न छ। कामको आधार हरेर अवसर दिनुपर्ने उनी बताउँछन्। 'युवा भन्ने नाममा आरक्षण दिनुपर्छ भन्ने मलाई लाग्दैन। हामीभन्दा २० वर्ष पछि जन्मिएका वा ३० वर्ष पछि पार्टीमा लागेकाले समेत धेरै अवसर पाएका छन्। काम गर्ने मान्छेले अवसर पाएको छ', पुरीले भने। उनले पार्टीमा सबैभन्दा ठूलो रोग भनेको विधानको कार्यान्वयन नगर्ने र महासमितिले दिएका सुझाव कार्यान्वयन नगर्नु भएको बताए।

'कांग्रेसभित्र महासमिति ठूलो फोरम हो, आमकार्याकर्ताको आवाज हो तर हाम्रा सुझावबाट बनाइएका दस्तावेजको कार्यान्वयन नै नहुने, पदाधिकारी बसेर मनपरि विधान चलाउने कुराको कारण पार्टीमा समस्या देखिएको छ', पुरीले भने।

उदयपुरका खड्का भने पार्टीमा पार्टीमा विपीवाद हुनुको सट्टा अन्य वादले काम गरेको गुनासो गर्छन्। 'हामी पार्टीमा विपीवाद लागू गर्नुपर्छ भन्छौँ, उहाँहरू नातावाद, कृपावाद, पैसावाद र डनवाद सुन्नुहुन्छ', खड्काले भने, 'यदि पार्टी पुरानै अवस्थामा पुर्‍याउने हो भने अन्य सबैवाद छोडेर वीपीवादमा अडिग हुनुपर्छ।'

वयोवृद्धले युवाका नेतृत्व छोडेर पाकाले सल्लाहा दिनु पर्ने बताइरहदा ४५ वर्ष उमेर नपुगेका महासमिति सदस्य मनोजणि आचार्य भने विगतको कामको समिक्षा र आगामी कामको योजनालाई हरेर पार्टीमा जिम्मेवारी दिनुपर्ने भनाई राख्छन्। 'उमेर मात्रै पनि सबैकुरा हैन, विगतमा पार्टीलाई गरेको योगदान पनि सम्झनु पर्छ, भोलीको योजना पनि बोकेको हुनुपेर्छ' आचार्य भन्छन् 'विगतको योगदानलाई कदर गर्न नसकेको कारण पनि अहिले पार्टी कमजोर भएको हो।'

कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको कुरा भने वयोवृद्धाहरूसँगको मिल्दो छ। सबै समस्या युवालाई दिँदा सुध्रन्छ भन्ने होइन तर पाको उमेरमा व्यक्तिको सल्लाहमा अरूले पनि काम गर्नुपर्छ', रिजालले भने, 'अरू पार्टीमा हाम्रो उमेरका व्यक्ति कहाँ छन् र कांग्रेसमा कहाँ छन् भन्ने विषय पनि हेर्नुपर्छ।'

कार्यकर्ताहरूले एक पटक नेतृत्वमा पुगेको मान्छे जीवनको अन्तिम घडीमा समेत सभापति वा वरिष्ठ नेताको पदमा बसेर जाने परंपरा बसिरहनुले पार्टीलाई थप कमजोर बनाउने उनीहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.