|
Photo : wicketnepal.com

काठमाडौं : नेपाली राइनोज क्रिकेट क्लबले टु एक्स क्रिकेट यूएसएको उपाधि जितेको छ। नेपाली राष्ट्रिय टोलीका अधिकांश क्रिकेटर सहभागी क्लब नेपाली राइनोजले हस्टन स्पाक्र्सलाई ५४ रनले हराउँदै गएराति उपाधि जितेको हो। 

उपाधिसँगै नेपाली राइनोज क्रिकेट क्लबले झण्डै ६५ लाख रुपैयाँ नगद र २२ लाख रुपैयाँ पर्ने मित्सुविसी कार प्राप्त गरेको छ। फाइनल खेल अमेरिकाको मोसा क्रिकेट स्टेडियममा भएको थियो।

टस हारेर पहिले व्याटिङ्ग गरेको राइनोजले पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ७३ रन जोड्यो। पहिलो दश ओभरको प्रतिउत्तरमा व्याटिङ्गमा आएको हस्टनले आफ्नो १० ओभरको खेलमा ४ विकेटको क्षतिमा ७४ रन बनायो। १ रनले पछि परेको अवस्थामा अन्तिम १० ओभर व्याटिङ्गमा आएको राइनोजले थप १ सय २४ रन जोड्यो। जितका लागि १ सय २४ रनकै विजय लक्ष्य पाएको हस्टन ८ ओभर ५ बलमा ७२ रनमा समेटियो। 

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले ७७ रनको योगदान दिए। यस्तै, शन फिंडलेले अविजित ६१ र ओपनर सुवास खकुरेलले ३२ रन बनाए। हस्टनका बलर असद अलिले ३ विकेट लिएपनि जितका लागि त्यो पर्याप्त भएन। 

हस्टनका लागि शाहजैब हसले सर्वाधिक ४६ र टिमरोय एलेनले ४५ रनको योगदान दिए। पाकिस्तान राष्ट्रिय टिमका खेलाडी कमरान अकमलले मात्र १९ रन बनाए। नेपालका शन फिंडलेले ३, रस्टि थेरोन, सोमपाल कामी र पारस खड्काले दुई दुई विकेट हात पारे। फाइनल खेलको म्यान अफ द म्याच नेपाली राइनोजका शन फिंडले घोषित भए। 

यसअघि सेमिफाइनलमा नेपाली राइनोजले फ्लोरिडा अन्तरडगलाई पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.