|

काठमाडौं कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अझै रहस्यमै रहेको छ। तर मंगलबारबाट निर्मला हत्याकाण्डले अर्कै मोड लिने संकेत देखिएको छ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र यसअघि निर्मला हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाइ खड्ग विष्टले निर्मला हत्यकाण्डमा प्रमाण नष्ट गर्ने प्रहरी र निर्मला हत्या प्रकरणमा अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै जाहेरी दिएपछि घटनाले अर्कै मोड लिने संकेत देखिएको हो।

कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाका अनुसार निर्मलाकी आमा र दिलीपसिंह बिष्टका दाइ दुवैले मंगलबार जाहेरी दिएको र त्यसबारे समेत छलफल सुरु भएको बताए। अपराध संहिता २०७४ अनुसार प्रमाण नष्ट गर्ने अधिकारीमाथि समेत कारबाहीको व्यवस्था गरिएको छ। सोही अाधारमा दुर्गादेवी र खड्ग विष्टले जाहेरी दिएको ओझाले बताए। 

निर्मलाकी आमा दुर्गादेवी बर्खास्तीमा परेको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) का प्रहरी नायव उपरीक्षक अंगुर जिसीलगायतमाथि प्रमाण नष्ट गरेको भन्दै जाहेरी दर्ता गरेकी हुन्।

निर्मलाको बलात्कारपछि हत्या भएको पाँच महिना सक्किन लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मला हत्याकाण्डले प्रहरी र सरकार दुवैको चौतर्फी आलोचना भइहरेको छ। केही दिनअघि निर्मला पन्तको हत्या अनुसन्धानमा क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीबारे प्रहरी हौसिए पनि उनीहरूको डीएनए नमिलेपछि प्रहरी निरास देखिएको छ।

निर्मलाको यौनीबाट निकालिएको भेजिनल ‘स्वाब’ सँग उनीहरूको डीएनए परीक्षण गरेको हो। तर डिएनए भने सार्वनिक गरिएको छैन्। उनीहरूको डिएनए रिपोर्ट मंगलबार वा बुधबार सार्वजनिक गरिने कञ्चनपुरका डिएसपी ‍ओझाले जानकारी दिए। केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले प्रदीपलाई मंसिर २० मा काठमाडौंमा पक्राउ गरेको थियो भने विशाललाई मंसिर २१ मा कञ्चनपुरबाट काठमाडौं ल्याइएको थियो।

निर्मला हत्या अनुसन्धानका क्रममा हालसम्म कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित १५ जना बढीको डीएनए परीक्षण गरिसकेको छ। तर कसैसँग पनि मेल खान सकेको छैन्। यस्तै निर्मला हत्या अनुसन्धानका लागि प्रहरीले एक हजार बढी व्यक्तिसँग सोधपुछसमेत गरेको छ।

निर्मला हत्यका प्रकणरमा गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा छनबिन समितिसमेत गठन भएको थियो। समितिको प्रतिवेदनकै आधारमा प्रहरीको कमजोरी रहेको भन्दै एसपी विष्ट, प्रहरी इन्स्पेक्टर जगदीश भट्ट बर्खास्तीमा परेका छन्। त्यसैगरी सिआइबीका डीएसपी अंगुर जिसी, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीलगायतका सातजना निलम्बनमा परेका छन्।

त्यस्तै सोमबारमात्रै तत्कालीन कञ्चनपुर प्रहरीको नेतृत्वले अनुसन्धानमा चरम लापरवाही गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको टोलीले बुझाएको प्रतिवेदनमा समेत उल्लेख छ। हत्याराबारे केही नबोले पनि प्रहरीमाथिको अनुसन्धान गरेर बस्न्यानको टोलीले प्रतिवेदन बुझाएको हो। एआइजी बस्नेतको प्रतिवेदनमा तीन दर्जनभन्दा बढी प्रहरीलाई विभागीय कारवाही गर्न माग गरिइको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.