|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक जारी छ। शनिबारदेखि शुरु भएको बैठकमा मंगलबार ८ जनाले बोलेका छन्। बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै नेता योगेश भट्टराईले पार्टी नेतृत्व र सरकारको तिव्र आलोचना गरेका छन्। 

गुटका आधारमा पार्टी चलाइदा कसैलाई जिम्मेवारीको खातैखात दिएको र कसैलाई बेवास्ता गरेको भट्टराईले आरोप लगाए। 'पार्टीभित्र कसैलाई जिम्मेवारीको खातैखात र जिम्मेवारीको हिसावले कसैको छिँडीमुनिको बास भएको छ', नेता भट्टराईले भने। खासगरी यो समस्या पूर्व एमालेभित्र रहेको उनको भनाइ छ।
पार्टी विधानको भावना अनुसार र सरकार जनताको अपेक्षा अनुसार नचलेको भन्दै भट्टराईले पार्टी नेतृत्व र सरकारको आलोचना गरे। नेकपाको जारी स्थायी कमिटी बैठकमा आफ्नो टिप्पणी राख्दै नेता भट्टराईले पार्टी सिद्धान्तका आधारमा नभई केवल गुटका आधारमा चलाइएको दाबी गरे।

पार्टी नीति, विधि, विधानअनुसार नचलेको भन्दै उनले अब नयाँ मापदण्ड बनाएर शिरदेखि पुछारसम्म एकीकरण गर्नुपर्नुपर्ने बताए। 'को मन पर्छ, को मन पर्दैन, व्यक्तिको अनुहार हेरेर जिम्मेवारी दिनतिर नलागौँ, प्रणालीबाट जाऔँ,' नेता भट्टराईले भने 'त्यसो गर्न सकियो भने पुस महिनाभित्रमा एकीकरण टुंग्याउन सकिन्छ। एकएकजना छान्न थाल्दा त्यसले अन्तरविरोध निम्त्यायो।'

त्यस्तै अहिलेको चुनौतिको सामना सामूहिक ढंगले मात्रै गर्न सकिनेमा सदस्यको जोड रहेको बताउँदै नेता भट्टराईले स्थायी कमिटीमा बोल्ने सदस्यको भनाइ उद्धृत गरे। 'अहिलको चुनौती कुनै नेताको क्षमताले मात्रै चिरिने होइन, सामुहिकतामै त्यो शक्ति हुन्छ। हामी जति छौँ, सामुहिक प्रयत्नबाटै आएका छौँ। अलौकिक क्षमताबाट आएका छैनौँ', नेता भट्टराईले भने।

पार्टी एकताको नाममा एउटा विचार समूहका नेताहरुलाई लेखेट्ने, सिध्याउने काम भइरहेको भन्दै उनले नेतृत्वको तीव्र बिरोध गरे। 'क–कसलाई सिध्याउने, क–कसलाई बचाउने भन्दाभन्दै ढिला भयो', उनलेे भने, 'एकीकरणले पूर्णता नपाउँदै गुटबन्दीले पार्टीलाई सिध्याउँछ । खासगरी पूर्व एमालेका नेतृत्वले यसको समीक्षा गर्नुपर्छ।’

अध्यक्ष सिंगो पार्टीको नेता भएको बताउँदै केन्द्रीय कमिटीभित्रका अमुक–अमुक नेता लाग्नु नहुनेमा सदस्यहरूको जोड थियो। 'अध्यक्षका रूपमा सबै नेताले स्वीकार गरेपछि सबै सदस्यलाई पनि त्यही रूपमा स्वीकार गर्नुपर्छ', नेता भट्टराईले भने 'अध्यक्ष वैधानिक बाटोबाट आउनुभएको छ भने उहाँहरूको काम पनि वैधानिक हुनुपर्यो। सबैलाई समेटेर जानुको विकल्प हामीसँग छैन।'

उनले केपी शर्मा ओलीले १४ वर्षको कठोर जेल जीवन व्यतीत गरेको, पलपल मृत्यसँग मुकाबिला गरेको व्यक्तिले कसैलाई पाखा, कसैलाई काखा गर्ने कुरा पत्याउन नसकिने तर भइराखेको भन्दै सदस्यहरूले त्यो तत्काल रोक्न माग गरेको बताए।

पार्टीका नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण क्रमशः भइराखेकाले उनीहरूलाई सभ्य सुसंस्कृत बनाउनका लागि नेतृत्वले आफूलाई संकुचित घेराभित्र राख्नु नहुने धारणा राखेको भट्टराई बताउँछन्। पार्टी नेतृत्वबाट जनमतको रक्षा हुन नसकेको भन्दै त्यो रक्षा गर्ने दायित्वदलाई थप जिम्मेवारपूर्वक निभाउन अनुरोध गरेको उनले बताए।
स्थायी कमिटीमा छलफल भएका कतिपय विषय हटाएको अवस्थामा विधान छापिएको भन्दै विधान सच्याउन र स्थायी कमिटी सदस्यहरूले दिएको रायकै आधारमा विधान छाप्न पनि सदस्यहरूले जोड दिएको भट्टराईले जानकारी दिए।

बैठकमा नेता भट्टराईले पार्टीमा पछिल्लो समय दाउपेच, धोकाधडी भइरहेको र नेताहरुमा विश्वास नदेखिएको बताए। आफ्ना आलोचक र बिरोधीलाई सिध्याउने अभियानमा नेतृत्व आफै लागेको भट्टराईको भनाई छ। 'मान्छे त लखेट्नु होला तर, ती मान्छेको भूतले सपनामा पनि लखेट्छ। चैनले सुत्न पनि पाउनुहुन्न', उनलेे भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.