|

रुकुम : राप्ती लोकमार्ग अन्तरगत रुकुम पश्चिमको मुसीकोट ४ बैरागिठाँटीमा पर्ने बेलिब्रिज जीर्ण बनेको छ। मर्मत गरिएको एक वर्षमै ब्रिज जीर्ण बनेको हो। २०६२ सालमा निर्माण भएको बेलिब्रिज जीर्ण बनेपछि गतवर्ष मर्मत गरिएको थियो।

सडक डिभिजन कार्यालय चौरजहारीको करिब २५ लाख लागतमा ब्रिजको मर्मत गरिए पनि मर्मतको एक वर्ष नबित्दै पुनः जिर्ण बनेको हो। पुलमा राखिएका फलामका पाता टुक्रिएर झर्न लागेका छन्। यसले गर्दा पुलमा दर्जन बढी ठूला ठूला प्वालहरू परेका छन्। केही पाताहरू भने उप्किएर ठाडिएका छन्। पुलमा ठूला ठूला प्वाल पर्नु र पाताहरू उम्किएर ठाडिएपछि जोखिम बढेको छ।

पुल जीर्ण बनेपछि दैनिक सयौं सवारीका साधनहरू जोखिम मोलर पुल वारपार गर्न बाध्य भएका छन्। यस सडकखण्ड भएर दैनिक सयौं गाडीहरू रुकुम भित्रिने तथा रुकुमबाट बाहिरिने गरेका छन्। पुल जीर्ण बन्दा पनि सरोकारवाला निकायहरू भने मौन रहेका छन्। पुलको मर्मतका लागि सडक डिभिजन कार्यालय चौरजहारीलाई पटक-पटक आग्रह गरिए पनि कार्यालयले कुनै वास्ता नगरेको मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतमले बताए।

‘खर्चका हिसावले हाम्रो एक्लैको लागतमा पुल मर्मतको सम्भावना छैन‘ नगर प्रमुख देविलला गौतमले भने, 'पुल जीर्ण बन्दै गएपछि  बनाउन पटक-पटक आग्रह गरेका छौं। तर कार्यालयले कुनै वास्ता गरेको छैन।’ तत्कालै पुलको मर्मत नगरिए ठूलो दुर्घटना हुन सक्ने स्थानीयको चिन्ता छ। दिनहुँ पुल जीर्ण बन्दै गएको र जोखिम पनि बढ्दै गएको अवस्थामा पुलको मर्मतका लागि सडक डिभिजन कार्यालय मौन छ। 

पुल मर्मतका लागि अहिले कुनै योजना नरहेको कार्यालयले जनाएको छ। कार्यालय विगत एक महिनादेखि प्रमुखविहीन छ। तत्कालीन डिभिजन प्रमुख आशिस थापामगर एक महिना अगाडि सरुवा भएर गएपछि अहिलेसम्म कार्यालयमा प्रमुखको सरुवा भएको छैन। यसले गर्दा नयाँ योजना निर्माणमा समस्या रहेको पाइएको छ।

प्रमुख नहुँदा कार्यालयको कामकाज धानिरहेका सव इन्जिनियर टोपेन्द्र खड्काले उक्त बेलिब्रिज मर्मतका लागि हाल कार्यालयमा कुनै योजना रहेका बारेमा आफूलाई जानकारी नभएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.