|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा निधन भएको छ। एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको ललितपुर हरिसिद्धिको नेपाल क्यान्सर अस्पतालमा आइतबार बेलुकी निधन भएको हो।

२०११ साल पुस ५ गते अर्घाखाँचीको अर्घातोष गाविस ५ मा जन्मिएका सांसद पाण्डेका पत्नी, छोरा र दुई छोरी छन्। उनका छोरा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे हुन्।

२०६४ को संविधान सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट पराजित भएका पाण्डे २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सभासद  निर्वाचित भएका थिए।

माओवादीभित्र चाचा उपनामले चिनिने पाण्डेले जनयुद्धकालमा आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि ईञ्चार्ज भएर काम गरेका थिए। युद्धका क्रममा पाण्डेले जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगठ्ठा र अन्य युद्ध सामाग्री भित्र्याएका थिए।

पाण्डे सानैदेखि विद्रोही स्वाभावका थिए र त्यही विद्रोही स्वाभावकै कारण उनी १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बनेका थिए। ८ कक्षा पढ्दा अनेरास्ववियुको गुल्मी–अर्घाखाँची जिल्ला कमिटी सदस्य बनेका पाण्डेले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिष्ट राजनीति शुरु गरेका थिए।

पुष्पलाल समूह, नेकपा माले हुँदै २०४० सालमा मोहनविक्रम सिहंको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोडे। नेकपा मसालले माओवादी जनयुद्धको चर्को विरोध गरेपछि दीनानाथ शर्माको नेतृत्वमा विद्रोह गरेर पार्टी गठन गरी तत्कालीन नेकपा माओवादीसँग उनले एकता गरे। उनी जनयुद्धको दौरानमा पार्टीभित्र चर्को अन्तरविरोध हुँदा पनि प्रचण्ड–बाबुराम दुवैले अत्यन्तै विश्वास गर्ने थोरै मध्येको एउटा पात्र थिए। पार्टीभित्र उनको छवि सधै इमान्दार, निडर र क्रान्तिकारी योद्धाको रुपमा रहेको थियो।

सांसद पाण्डेलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ९ देखि ११ बजेसम्म माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शव राखिने माओवादी केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.