|

पर्वत :  सरकारले दुई वर्षअघि सुरु गरेको अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा विद्यार्थी टिकाउनै कठिन हुन थालेको छ। पर्वतको कुस्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा सञ्चालित अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा खाजा खुवाउने समस्याका कारण विद्यार्थीलाई नियमित रूपमा उपस्थित गराउन कठिन भएको हो। 

शिवालय माध्यमिक विद्यालयमा अनौपचारिक शिक्षा कार्यक्रम सुरु गरिएपछि १९ परिवारका बालबालिका नियमित रूपमा कक्षामा आउने गरेका थिए। विद्यालयले उनीहरूका लागि कक्षामा खाजा खुवाउन सुरु गरे पनि  खाजा कार्यक्रमलाई निरन्तरता दिन विद्यालयले नसकेपछि विद्यार्थी टिकाउन समस्या भएको प्रधानाध्यापक भूपेन्द्र चापागाईँले  बताए।

मजदुरी गर्ने र राजमार्गमा आउजाउ गर्ने यात्रीसँग पैसा मागेर गुजारा चलाउने बालबालिकालाई विद्यालयको पहुँचसम्म ल्याउन सुरु गरेको कक्षामा उनीहरू नियमित आउनै नमान्ने गरेको शिक्षिका मिना सापकोटाले बताइन्। ‘कहिलेकाहीँ स्थानीय व्यवसायीले दुई चार बोरा चिउरा, चामल र पिठो दिएर सहयोग गर्दा खाजा खुवाउन सकिन्छ’, उनले भनिन्, ‘खाजा नभए विद्यार्थी खोजेर ल्याउनै मुस्किल हुन्छ।’ सहयोगी दाताहरूले दिएको नगद र जिन्सी दुवै अभाव हुँदा कहिलेकाहीँ खाजा नियमित हुन नसक्दा समस्या हुने गरेको छ।' खाजा बनाउन नसक्दा बच्चाहरू भोलिपल्ट स्कुल आउनै नमान्ने प्रधानाध्यापक  चापागाईँले बताए।

बजारक्षेत्रमा मजदुरी गर्ने, पारिवारिक समस्याले नियमित विद्यालय आउन नसक्ने बालबालिकालाई अनौपचारिक शिक्षा दिन २०७४ वैशाखदेखि यस्तो कक्षा सञ्चालन भएको हो। कक्षामा ५ देखि १८ वर्षसम्मका बालबालिका भर्ना भएका छन्। ६ महिनासम्म नियमित अध्ययन गरेपछि उनीहरूको क्षमताअनुसार विद्यालय कक्षामा पठाइन्छ।

‘पोहोर २२ जना विद्यार्थी आएका थिए,’ प्रधानाध्यापक चापागाईँले भने, ‘चारजना नियमित कक्षामा गए। अहिले १९ जना अनौपचारिकमै छन्।’ बालबालिकाको समय अनुकूल हुनेगरी बिहान र बेलुका गरी दुई पटक कक्षा सञ्चालन हुँदै आएका छन्। उनीहरूलाई कक्षासम्म नियमित ल्याएर अक्षर चिनाउन निकै मुस्किल परेको विद्यालयले जनाएको छ।

सबै बालबालिकालाई घरघरै लिन जानुपर्ने बाध्यता रहेको शिक्षिका सापकोटाको गुनासो छ। यता, कुश्मा नगरपालिकाले सोही कक्षा सञ्चालनको लागि नियुक्त गरिएकी शिक्षिका सापकोटालाई बजेट निकासा नगर्दा तलब खुवाउन समस्या परेको छ। बजेट निकासा नभएपछि विद्यालयले अन्य स्रोतबाट पारिश्रमिक दिन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.