अहिले सैद्धान्तिक बहस जरुरी छैन : विष्णु रिमाल

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ। गएको मंसिर २९ गतेदेखि शुरु भएको बैठक बिहीबारसम्म ३४ जना नेताले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा धारणा राखेका छन्।

बिहीबार पनि बैठक बिहानभरि बसेर सकिएको छ। दुईतिहाई बहुमतको सरकारको नेतृत्वसमेत गरेको नेकपाले दिउँसो सरकारका कामकारबाहीका निम्ति भन्दै बिहानको समयमा बैठक बस्दै आएको छ। बैठक जारी रहँदा विभिन्न ढंगले पार्टी नेतृत्व, सरकारका कामकारबाही, प्रधानमन्त्रीको शैली, अवसरको बाँडफाँड, पार्टी संगठनको काम, पार्टी एकताको पूर्णता लगायतका विषयमा केन्द्रित रहेर नेताहरूले कुरा राख्दै आएका छन्।

बैठकको पहिलो दिन नेकपा सचिवालय सदस्य वामदेव गौतमले आफ्नो लिखित विचार बैठकका सदस्यलाई बाँडेपछि नेकपाको स्थायी कमिटी तरंगित बन्यो। यसैक्रममा बैठकमा भीम रावल, योगेश भट्टराई, घनश्याम भुसालले राखेको लिखित वा मौखिक विचार/टिप्पणीले बैठकसँगै सञ्चारमाध्यम तरंगित बनेका छन्।

बैठकमा नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गर्ने क्रम जारी छ भने नेतृत्वको बचाउ गर्ने क्रम पनि छ। खासगरी नेकपाको संस्थापन पक्षले नेतृत्व र सरकारको कामको बचाउ गर्दै आएका छन् भने इतर पक्षले नेतृत्व र सरकारको आलोचना गर्दै आएका छन्।

मुख खोल्दैनन् पूर्व-माओवादी

गएको जेठमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर अहिले नेकपा बनेको छ। नेकपाको जारी स्थायी कमिटीको बैठमा पूर्व-एमाले पक्षका नेताहरूले खुलेर नेतृत्व र सरकारको कार्यशैलीको विरोध गर्दै आएका छन्। तर पूर्व-माओवादी पक्षले भने मुख खोलेका छैनन्।

पार्टी र सरकारको कामलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भइरहँदा पूर्वमाओवादी केन्द्रका नेताहरू भने मौन देखिन्छन्। बैठकमा बिहिवार आफ्नो धारणा राखेका नेताहरू कसैले पनि प्रतिक्रिया दिन मानेनन्।

मन्त्रिपरिषद्‍ रहेका पूर्वमाओवादी केन्द्रका नेताहरूले सरकारको बचाउ गर्दै आए पनि सरकारबाहिर रहेका नेताले पनि नेतृत्वको कार्यशैलीमाथि खासै टिप्प्णी गरेका छैनन्।

हरिबोल गजुरेललगायत नेताहरूले त केपी ओलीको बचाउ नै गरे। बैठक सकिएलगत्तै प्रतिक्रिया दिने पनि पूर्वएमालेका नेता नै छन्। बिहीबार आफ्ना धारणा राखेका लिलामणि पोख्रेलले त बाहिर आएर प्रतिक्रिया दिनै नहुने, बैठकमा आफूले राखेको विषय आन्तरिक भएको र त्यसलाई बाहिर चर्चा गर्नु नपर्ने तर्क गरे। 'मैले जे भन्नुपर्ने थियो, त्यो पार्टीभित्रको आन्तरिक प्रश्न हो। बाहिर सार्वजनिक गर्ने विषय होइन,' उनले भने, 'बैठकमा मतमतान्तर भएका विषय सबै सार्वजनिक गर्ने हो भने टुँडिखेलमा बैठक राखे भइहाल्यो नि!'

अर्का नेता गणेश साहले बैठकका बारेमा बाहिर जेजति प्रचार भइरहेको छ, त्यसमा सत्यता नरहेको र छलफल, विचार–विमर्शले पार्टीलाई जीवन्त बनाउने तर्क गरे। उनले बैठकमा थुप्रै कुरा उठेपनि अन्तिममा पार्टी एक भएर जाने र वर्तमान गतिरोधबाट पार्टीले पार पाउने अपेक्षा व्यक्त गरे।

सैद्धान्तिक बहस जरुरी छैन

बिहीबारको बैठकमा बोल्दै नेकपा स्थायी कमिटी सदस्य विष्णु रिमालले अहिले सैद्धान्तिक तथा राजनीतिक बहस गर्न आवश्यक नभएको बताएका छन्। नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा बिहीबार बोल्दै नेता रिमालले अहिलेको अवस्थामा जरुरी नभएको बताएका हुन्।

पार्टी संगठनमा संक्रमणकाल आइपरेको र खराबलाई बाहिर निकाल्न (रास्कल आउट) भन्न नसकिने अवस्था रहेको समेत नेता रिमालले बताए। 'जिम्मेवारीमा खराब मानिस पनि हुन्छन् अहिलेको अवस्थामा। बरु यस्तोबेला राम्रा मानिस बाहिर पर्न सक्छन्', उनी भन्छन्।

पार्टी नेतृत्व र सरकारको कार्यशैलीमा कमजोरी भएको भन्दै नेतृत्वले सच्याउनुपर्ने नेताहरूले बैठकमा टिप्पणी गर्दै आएका छन्। तर, रिमालले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन प्रस्तुतमाथि टिप्पणी गर्ने शिलशिलामा नेता वामदेव गौतमले प्रस्तुत गरेको आफ्नो विचार, टिप्पणी र सुझाव सहितको प्रतिवेदमाथि भने टिप्पणी गरेनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका नेता रिमालले आत्मालोचना गर्न आवश्यक नभएको भन्दै सरकारको बचाउन गरे।

सरकारले राम्रो काम गर्दै गरेकोले आलोचना गर्न आवश्यक नभएको उनको भनाइ छ। 'सरकारले काम गरिरहेको छ। राम्रो काम गर्दागर्दै पनि चौतर्फी सरकार आक्रमणमा परेका बेला सरकार आत्मनिन्दक भएमा पार्टी र सरकार दुवैलाई घेर्नेहरु बढ्छन्', नेता रिमालले भने।

अध्यक्षद्वय  ओली र दाहालको राजनीतिक प्रतिवेदनमाथि विचार या टिप्पणी गर्नेक्रममा रिमालले प्रतिवेदनको बचाउ गरे। सरकारले जे गरेको छ त्यो सबै ठिक भएको उनको निस्कर्ष छ।  'अहिले सरकारले आफ्नो कमजोरी स्वीकार गर्नु भनेको आत्मनिन्दक बन्नु हो। त्यसो गर्न सकिन्न अहिले', रिमालले भने 'त्यति बिनम्र हुने अवस्था छैन। कमजोरीको सिमाअवलोकन गर्न सकिन्न।'

अहिले आम पार्टीका नेता तथा कार्यकर्ता सरकारको कामकारबाहीको प्रचारप्रसार गर्ने काममा मात्रै खट्नुपर्ने दाबी गरेका छन्। परराष्ट्रसम्बन्ध पहिले भन्दा सन्तुलित भएको प्रधानमन्त्री ओलीले दाबी गरिरहेका बेला त्यसको समर्थन गर्दै नेता रिमालले बैदेशिक सम्बन्ध सुदृढ भएको र त्यसले समग्र मुलुकको विकासमा सहयोग पुग्ने बताए।

पार्टीमा एक पद, एक जिम्मेवारी विधानअनुसार कायम हुनुपर्ने माग उठेपछि मंगलबार प्रदेश पाँचका मुख्यमन्त्री एवं प्रदेश इन्चार्जले बरु आफुले मुख्यमन्त्री पदबाट राजीनामा दिन सक्ने तर पार्टीको जिम्मेवारीबाट टाढा हुन नसक्ने अभिव्यक्ति दिएका थिए। त्यसको प्रतिकारमा उत्रिदै बुधबार नेता सुरेन्द्र पाण्डेले पोखरेललाई लक्षित गर्दै 'इमोशनल व्लाकमेल' गर्न नमिल्ने बताएका थिए।

यसै सन्दर्भमा नेता रिमालले कसैले आफ्नो मत या विचार पार्टीको बैठकमा राखेको भन्दैमा त्यसलाई इमोशनल व्ल्याकमेलिङको रुपमा अथ्र्याउन नमिल्ने उनले बताए। आफ्नो विरुद्ध समाचार आएको प्रसंग पनि उनले बैठकमा उठाएका छन्। उनी भन्छन्, 'मेरा विरुद्ध पैसा दिएर कसैकसैले समाचार लगाएका छन्। त्यो मलाई राम्रै अवगत छ।'

नेतृत्वका कारण पार्टी गतिशून्य

बैठकमा आफ्नो धारणा राख्दै किरण गुरूङले नेतृत्वको कार्यशैलीका कारण प्रश्न उठ्नेक्रम जारी रहेको बताए। 'नेतृत्वको कार्यशैलीकै कारण पार्टी एकता र सरकार गतिशून्य बन्न पुगेको स्थायी कमिटीका नेताहरूको निष्कर्ष छ', नेता गुरूङले भने 'बैठक बस्नै नसक्ने अवस्थामा पार्टी पुग्यो, एकीकरण पनि जसरी अपेक्षा गरिएको थियो, त्यसरी हुन सकेन। बैठक समयमै आह्वान नहुँदा परिस्थिति धमिलिन पुग्यो।'

पार्टी एकीकरण विधिसम्मत ढंगले टुंग्याउनुपर्नेमा जोड दिँदै नेतृत्वले कार्यशैली तत्काल बदल्न नेताहरूले सुझाव दिएको उनको भनाइ थियो। 'जनताले हामीलाई दुईतिहाइ दिएका छन्। यो हामीले घमण्ड गर्ने विषय होइन' उनले भने, 'दुईतिहाइ भनेको मनपरी गर्न पाइने छुट पनि होइन। दुईतिहाइ चुनौती हो। सामना गरेर जानुपर्छ।'

नेता गुरूङले सरकारमाथि चौतर्फी आक्रमण भइरहेकोप्रति बैठकमा चिन्ता व्यक्त गर्दै नेकपा आलोचना सुन्ने ठाउँमा भएकाले सहनुपर्ने पनि बताए। ठूला आकारका कमिटी नै पार्टी प्रणालीको चुनौती भएको भन्दै उनले सानो र छरितो कमिटी बनाएर कामलाई व्यस्थित गर्न पनि नेताहरूले सुझाव दिएको बताए।

नेता गुरुङले वामदेव गौतमले स्थायी कमिटीको बैठकमा लिखित रुपमा पेश गरेको विचार प्रतिवेदन या फरक मत नभएको बताए। तर सञ्चारमाध्यमले त्यसलाई प्रतिवेदन, फरक मत भनेर प्रचार गरेको टिप्पणी गरे। 'सञ्चारमाध्यममा पार्टी नै विभाजन हुन लागेजसरी सूचना सम्प्रेषित भइरहेको छ। बैठकमा सौहार्दपूर्ण वातावरणमा छलफल जारी छ,' गुरुङले भने, 'नेता गौतमले प्रस्तुत गर्नुभएको लिखित धारणा पनि उहाँको विचार हो।'

सरकार मन्त्रीको मात्र हो?

बैठकमा उद्योग, वाणिजय तथा आपूर्ति मन्त्री मात्रिका यादवले दुई तिहाईको भएर पनि सरकार २५ मन्त्रीको मात्रै जस्तो भएको टिप्पणी गरेका छन्। 'पार्टीका एक अध्यक्ष प्रचण्डले कहिलेकाहीँ समर्थन गरेको जस्तो देखिन्छ। अरू कसैले पनि सरकारको पक्षमा बोल्नुहुन्न', मन्त्री यादवले भने, 'पार्टीले नै समर्थन नगरे जनताले समर्थन कसरी गर्छन्।'

यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले पनि सरकारको कार्यशैलीको समर्थन गरे। उनले सरकारले गरेका कामहरू राम्रो भएको दाबी गरे। 'सरकारले गर्ने जति काम गरेको छ। राम्रो काम गर्नेको विरोध त भइहाल्छ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.