आइतबार ओली-प्रचण्डले जवाफ दिने

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा शुक्रबार नेकपाका सात नेताहरूले धारणा राखेका छन्। 
जारी बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । शुक्रबार बोल्ने अधिकांश सदस्यहरूले पनि बैठकमा सरकार र पार्टीका कामका बारेमा आलोचना गरेका छन्।

बैठकमा आफ्नो धारणा राख्दै नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङले सरकार र पार्टीको काम प्रभावकारी हुन नसक्नुको कारण पहिल्याउनुपर्ने बताए। सरकार र पार्टीको आलोचनाले मात्रै समस्या समाधान हुन नसक्ने बताउँदै नेता नेम्वाङले बैठकको मर्म र भावनाअनुरुप सरकार र पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए।

पार्टी सञ्चालनको सन्दर्भमा बोल्दै नेता नेम्वाङले पार्टीमा पद्धति र थिति बस्न नसकेको भन्दै लामो समयसम्म बैठक बस्न नसक्दा आफ्नो धारणा कहाँ राख्ने भन्ने ठाउँ नभएको दाबी गरे। 'सचिवालयको बैठक बस्छ, सचिवालयको नेताले त्यहाँ आफ्नो धारणा राख्नुहुन्छ,' उनले भने, 'हामीले कहाँ राख्ने आफ्नो कुरा? स्थायी कमिटीको बैठक नबस्दा हामीले आफ्ना कुरा कहाँ राख्ने?'

अर्को प्रसङ्गमा नेता नेम्वाङले केही समयअघि सम्पन्न भएको एसिया प्यासिफिक सम्मेलनमा सरकार र संसद्को लोगो प्रयोग हुनु दुखद् भएको टिप्पणी गरे। 'एसिया प्यासिफिक सम्मेलन कुनै गैरसरकारी संस्थाको हो। त्यो कार्यक्रम न त सरकारको हो न त संसदको। त्यस्तो कार्यक्रममा सरकार र संसद्को लोगो दुरुपयोग हुनुहुँदैनथ्यो,' नेता नेम्वाङले भने।

शुक्रबार बोल्ने नेताहरूले सरकारको कामकारबाहीको बचाउ नगरेको एक नेताले बताए। 'मन्त्रिपरिषद्मा सहभागी सदस्यहरूले पनि आफ्नो धारणा राख्ने क्रममा सरकारको बचाउ गरेको पाइएन,' उनले भने, 'तुलनात्मक रूपमा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्वको खुलेर आलोचना गरे।'

सरकारले गरेको नियुक्तिमा पनि भ्रष्ट आचरण भएको व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले आलोचना गरेको छ। 'सरकारको नियुक्तिमा पनि भ्रष्ट आचरण भएको परेका छन्,' प्रवक्ता श्रेष्ठको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, 'भ्रष्टहरूलाई राजनीतिक नियुक्ति दिएर सुशासन कसरी दिन सकिन्छ?'
जारी स्थायी कमिटी बैठकमा नेतृत्व आत्माआलोचित हुनुपर्ने धारणा श्रेष्ठले राखे। 'सरकार र पार्टी सञ्चालनका क्रममा नेतृत्वबाट प्रशस्त कमीकमजोरी भएका छन्,' उनले भने 'यो बैठकमा सबै आत्मआलोचित होऔँ र गल्ती सच्याउने प्रण गरौँ।'

यही बैठकले पार्टी एकता प्रक्रिया टुंग्याउनुपर्ने नेता श्रेष्ठले जोड दिएका थिए। पार्टी एकता प्रक्रिया गतिशून्य बनेको भन्दै श्रेष्ठले चिन्ता व्यक्त समेत गरे। भने, 'एकता प्रक्रियाको बाँकी काम सक्नेगरी, विधि र प्रक्रिया यही बैठकले टुंगो लगाऔँ।'

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा नेता घनश्याम भुसालले पार्टी एकतापछि पहिलोपटक मन खोलेर छलफल गर्ने वातावरण बनेको बताए। 'पहिलोपल्ट खुला–खुलस्त छलफल गर्न पाएका छौँ। पार्टी र सरकारका कामका विषयमा छलफल भएका छन्', उनले भने 'यी विषय सम्वोधन गर्ने हो भने पार्टी र सरकारले गति लिन्छ।'

शुक्रबार नारायणकाजी श्रेष्ठ, इश्वर पाेखरेल, सुवासचन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गाेकर्ण विष्ट र छविलाल विश्वकर्माले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा आफ्नो धारणा राखेका छन्। गएको मंसिर २९ गतेदेखि शुरु भएको बैठक आजका लागि सकिएको छ। शनिबार बिहान ८ बजेदेखि बैठक पुन शुरु हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

शुक्रबारसम्म ४१ सदस्यले धारणा राखेका छन् । नेकपामा आमन्त्रितसमेत गरी ५१ सदस्यीय स्थायी कमिटी छ । बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आइतबार जवाफ दिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.