|

पोखरा : पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाको पोखरामा भेटवार्ता भएको छ। दुई साता यतै बसेर नयाँ वर्षसमेत मनाउने योजनाका साथ पोखरा आएका ज्ञानेन्द्र र पार्टी प्रशिक्षणमा आएका थापाबीच ज्ञानेन्द्रको परिवार बस्दै आएको माउण्ट ग्लोरी रिसोर्टमा शुक्रबार बिहान नौ बजेदेखि सवा १० बजेसम्म भेटवार्ता भएको हो। 

राप्रपाका गण्डकी प्रदेश कमिटीका एक सदस्यका अनुसार उनीहरूबीच सवा घण्टा ‘ब्रेकफास्ट मिटिङ’ भएको थियो। भेटवार्ताको क्रममा राप्रपाले उठाउँदै आएको राजासहितको हिन्दु राज्यको विषयमा छलफल भएको उनले बताए। ‘हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले उठाउँदै आएको राजासहितको हिन्दु राज्य पुनर्स्थापनाको बारेमा धेरै छलफल भएको हामीलाई जानकारी भएको छ,’ ती सदस्यले थाहा खबरसँग भने, ‘अहिलेको देशको वर्तमान राजनीतिक विषयमा र फुटेका राप्रपाहरू एक हुने विषयमा बढी कुरा भयो।’

थापाले राजासँग भेटवार्ता गरेपछि ट्वीटसमेत गरेका छन्। थापाले देशको वर्तमान अवस्थाप्रति पूर्वराजा चिन्तित रहेको उनले लेखेका छन्। राजासँगको भेटपछि ट्वीट गर्दै उनले लेखेका छन्, ‘पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन पोखरामा आएको बेला पोखरामा नै निजी भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसँग आज बिहान शिष्टाचार भेटगर्ने अवसर प्राप्त भयो। मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएँ।’

पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित गत सोमबारदेखि पोखराको भ्रमणमा रहेका हुन्। शुक्रबार बिहान मात्रै अध्यक्ष थापाले पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै आगामी फागुन ७ गतेदेखि राजासहितको हिन्दु राज्यको माग गर्दै जनसंघर्ष गर्ने घोषणा गरेका थिए। अहिले पूर्वराजाको पोखरा भ्रमणलाई निकै चासोको रूपमा हेरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.