|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ।

विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो। आधा दर्जन बालबालिका शनिबार बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे। १० देखि १३ वर्षसम्मका बालबालिका हातमा दर्जनौँ पुस्तक लिएर हिँडिरहेको अवस्थामा भेटिएका हुन्। 

बनेपा जनागालका मुक्ति विष्टले पछिल्लो समय बालबालिकालाई यसरी प्रयोग गर्नेको संख्या बढ्दै गइरहेको बताउँछन्।, 'ल हेनुहोस्, अंकल यो किताब पढ्नुुस् है भन्दै सानासाना बालकले क्रिश्चियन धर्मसम्बन्धी पुस्तक दिएर गए', उनले भने। केही नबुझ्ने बालबालिकालाई किन प्रचारमा पठाइएको होलान् उनको प्रश्न थियो। 

आफूलाई युसुफ बताउने पुस्तक बाँडिरहेका १२ वर्षका बालकले 'चर्चको अंकलले बजारका पसल र बाटोमा हिँड्ने मान्छेलाई पुस्तक दिनु' भनेर पठाएको बताए। उनीसँगै पनौती र काठमाडौं इमाडोल घर बताउने अन्य दुई बालक पनि पुस्तक बाँड्दै हिँडेका भेटिए। 'यी किताब बाँडिसकेपछि अंकलले चक्लेट किनिदिनुहुन्छ', साइमन नाम गरेका अर्का बालकले खुशी हुँदै भने। बिहानको चिसोमा किताब बाँडिसकेर चर्चको ‘प्रार्थना’मा जान उनी हतारिएका देखिन्थे। 

यस विषयमा बेतानी चर्चका पाष्टर सुजन सुन्दासले भने आफूहरूले कुनै उद्देश्यका साथ बालबालिकालाई प्रयोग नगरेको बताए। 'बच्चा आफैँले पुस्तक निकालेर आफुखुशी बाँडेका हुन्, हामीले प्रयोग गरेका होइनौँ' उनले भने। जिल्लाका मानव अधिकारकर्मी भोजराज तिमल्सिना जिल्लामा पछिल्लो समय धर्म र राजनीतिमा बालबालिका प्रयोग बढ्दै जानु दुःखद् भएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.