बाबुरामले नसकेको मनास्लु क्षेत्र रवीन्द्र अधिकारीले खोल्ने

|

पोखरा : सातौँ लिट्रेचर फेस्टिभलको तेस्रो पोखरा संस्करणमा दोस्रो दिनको एक बजे देखि २ बजेको सेसन थियो। सेसनमा छलफलको शीर्षकको थियो ‘किन घुम्ने नेपाल’ भिजिट नेपाल २०२०। यस विषयमा छलफलका लागि आए पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भिजिट २०२० का संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य र पर्यटन व्यवयायी आङछिरिङ शेर्पा ।

शिवरात्रिका जोगी गनेर २० लाख पर्यटक पुर्‍याउने?

कार्यक्रम संचालक रहेका पत्रकार सुजित महतले सुरुमै पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई यस वर्षको ११ महिनामा १० लाख पर्यटकले नेपाल भ्रमण गरे भनेर खुसियाली मनाएको विषयमा प्रश्न गरे। जवाफमा मन्त्री अधिकारीले भने, ‘यो वर्षको ११ महिनामै १० लाख पर्यटकले नेपाल घुमे। यो खुसीको कुरा हो। तर, हामी २०२० मै २० लाख पर्यटक नेपाल भित्र्याउने भनेर लागेका छौँ।’

त्यसपछि भिजिट नेपाल २०२० का संयोजकसमेत रहेका वैद्यलाई महतले व्यंगात्मक शैलीमा प्रश्न गरे, ‘अहिले १० लाख पर्यटकले नेपाल घुमेछन्, अबको एक वर्षमा २० लाख पुर्‍याउने तपाईंहरूको लक्ष्य छ। त्यो २० लाख शिवरात्रिमा आउने जोगीहरूसमेत गणना गरेर हो? कसरी बढाउन सकिन्छ पर्यटक?’ 

वैद्यले जवाफ फर्काए, ‘म सुरुमै किन बढेन नेपालमा पर्यटन भन्ने बारे भन्छु। म अध्यक्ष हुँदा चार पटक प्रधानमन्त्री नै फेरिए। राजनीतिक दलको रोजाइमा गृह लगायतका मन्त्रालय परे। सबैभन्दा कम रोजाईमा उद्योग वाणिज्य र पर्यटन पर्थे तर जनतालाई यिनैले छुन्थे। राजनीतिक दलले यसमा कति महत्व दिएको भन्ने प्रष्ट थियो। अर्को पर्यटकको संख्या कसरी बढाउने भन्ने विषयमा मेरो भनाइ जोगी होस वा पाँच तारे होटल जहाँ बस्छ त्यो पर्यटक नै हो।’

उनले नेपालको पर्यटन क्षेत्रको ठुलो चुनौती नेपालीले मुलुकलाई मायाँ नगर्नु र प्रचार नगर्नुलाई औँल्याए। उनले नेपालीले नै केही नगरेसम्म विदेशी मात्र आएर केही नहुनेसमेत बताए।

नेपाल एयरलाइन्स मजबुत बनाऔँ

पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले जबसम्म नेपाल एयरलाइन्स मजबुत हुँदैन तब सम्म नेपालको पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए। ‘नेपाल एयरलाइन्स मजबुत नबनाएसम्म नेपालको पर्यटन विकासको परिकल्पना गर्न सक्दैनौँ,’ उनले भने, ‘नेपाल सरकारको पर्यटन नीति कस्तो छ?, पर्यटन नीति पर्यटक मैत्री, ब्यवसायी मैत्री, श्रमिक मैत्री छ कि छैन? त्यसमा ठुलो भर पर्छ । यसका लागि म हाम्रै छिमेकी तिब्बतको उदाहरण दिन्छु। सन् २००६ मा तिब्बतमा वार्षिक तीन लाख ६० हजार पर्यटक भित्रिए तर, सन् २०१७ मा एक करोड १० लाख पर्यटक भित्रिए। यो कसरीभन्दा सन् २००७ मा रेलमार्ग चीनले हरेक ठुला शहरसँग जोडिदियो। अर्को पर्यटन नीति सबै मैत्री बनायो र सम्भव भयो। हामी यसो किन नगर्ने?’

आठ महिनामा भैरहवाबाट हवाइ उडान

पर्यटनमन्त्री अधिकारीले अबको आठ महिनामा भैरहवा विमानस्थलबाट उडान सुरु गरेपछि पर्यटकको संख्या वृद्धि हुने विश्वास व्यक्त गरे। ‘अहिले हामीले २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राख्दा हाँसोको विषय बनेको छ। तर २० लाख पर्यटक भित्राउनको निम्ति पूर्वाधारहरू निर्माण कामहरू भइरहेको छ।’ मन्त्री अधिकारीले यही उद्देश्यलाई मध्यनजर गर्दै लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, निजगण अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र केही विमानस्थल बन्ने क्रम जारी रहेको बताए। उनले सन् २०२० सम्ममा पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सकिने दाबी गरे।  देशको कुल गार्हस्थ उत्पादनको १० प्रतिशत पर्यटन क्षेत्रले योगदान दिने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे।

छिटै रेस्टिकेटबाट हट्दै मनास्लु

तीन जनालाई नेपालको पर्यटन क्षेत्रको बारेमा प्रश्न सोधेका पत्रकार महतले दर्शकलाई कडा प्रश्न गर्न आग्रह गरे। अगाडि नै बसेर मन्त्री अधिकारी, उद्योगी वैद्य र पर्यटन व्यवसायी शेर्पाको कुरा सुनिरहेका गणेश गुरुङले हात उठाए। स्वयमसेवकले उनलाई माइक थमाए। अनि उनले भने, ‘हामी नेपाल भ्रमण वर्ष मनाउँदै छौँ। पर्यटकहरूको संख्या बढाउँने कुरा गर्दैछौँ। अन्नपूर्ण, धौलागिरी क्षेत्रमा जति पर्यटक आउँछन् यहाँसँगै रहेको मनास्लुलाई किन बिर्सन्छौँ ? केही कुरामा पनि अन्नपूर्ण भन्दा कम नरहेको मनास्लु क्षेत्रको रेस्टिकेट एरिया खोल्न किन ध्यान गएन ?’

गणेश गुरुङको प्रश्नमा थप्दै पर्यटन व्यवसायी शेर्पाले पनि मन्त्री अधिकारीलाई नै प्रश्न गरे, ‘अन्नपूर्ण क्षेत्रका मान्छेलाई पैसा सोर्न भ्याई नभ्याई हुने मनास्लुका मान्छे दुर्बिन लगाएर पर्यटक कहाँ छन् भनेर खोज्नुपर्ने?’

जवाफमा मन्त्री अधिकारीले भने, ‘अब मनास्लु पनि खुल्छ । खुम्बुवानलगायत अन्न बन्द भएका सबै क्षेत्र खुल्छन्। अन्नपूर्ण र मनास्लु भौगोलिक  हिसाबले पनि उस्तै छन्। मनास्लु जान चाहने पर्यटकहरू उत्तिकै छन्। अब छिटै ८० हजार हाराहारी पर्यटक मनास्लु पुग्दैछन्।’

मनास्लु क्षेत्र सन् १९९२ देखि रेस्टिकेट क्षेत्रमा रहँदै आएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए। मनास्लु क्षेत्र खोल्नका लागि अहिले मात्र होइन पहिले पहिले पनि पहलहरू हुँदै आएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्थानीयले डेलिकेशन गई मनास्लु संरक्षित क्षेत्र खुल्ला गर्न आग्रह गर्दा अब खुल्छ भन्ने आश्वासन पाएर फर्केका मनास्लु बासी अहिलेसम्म निराश नै छन्। मनास्लु क्षेत्रमा वार्षिक रूपमा मुस्किलले छ हजार हाराहारी मात्रै पर्यटकहरू जाने गरेका छन्।

‘मनास्लु क्षेत्र खोल्न समस्या छ। बाबुराम प्रधानमन्त्री हुँदा डेलिकेशन जाँदा अब खुल्छ भनेर गाउँलेलाई आश्वासन दिएर पठाइयो,’ कुटनितिक क्षेत्रका जानकारसमेत रहेका एकले भने, ‘यो खुल्नको लागि चाइनाको पनि ग्रिन सिग्नल चाहिँछ। बोर्डर सेक्यूरिटीको कुरा छ। मन्त्रीले बोल्दैमा विश्वास गर्न सक्ने अवस्था छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.