|

काठमाडौं : धन भेटिनु नेपाली समाजका निम्ति शुभको संकेत होइन। सित्तैमा भेटिने सम्पत्तिले फाइदा गर्दैन भन्ने विश्वास नेपाली समाजमा रहेको छ। त्यही विश्वास नेपालको आदिवासी थारू जातिमा रहेको छ।

थारू जातिको यस्तै कथा बोकेको नाटक 'करोट' अहिले काठमाडौंस्थित सर्वनाम थियटरमा मञ्चन भइरहेको छ। करोट अर्थात् कोल्टे फेर्नु। हाँसीखुसी सुखदुख गरेर बाँचिरहेको संयुक्त परिवारको खुसी एउटा सानो कारणले तुहिन्छ भन्ने कथा करोटमा देखाउन खोजिएको छ।

करोट थारू भाषाको नाटक हो। जसको लेखन तथा निर्देशन नाट्यकर्मी प्रणव आकाशले गरेका हुन्। एउटा सुखीसाथ मिलेको परिवारलाई बर्बाद गर्न ठूलो कुरा चाहिँदैन, सानो लालच भए पुग्छ भन्ने कथा करोट नाटकमा देखाउन खोजिएको नाटकका लेख तथा निर्देशक प्रणव आकाशले जानकारी दिए।

नाटकको माध्यम थारू भाषा रहेपनी यो आम परिवारको कथा रहेको प्रणव बताउछन्। उनले नाटक हेरिदिन सबै थारू तथा गैर थारू समुदायलाई आग्रह गरेका छन्। नाटकमा एउटा परिवारको कथासँगै तराईको थारू समाज, संस्कृतिको समेत अवलोकन गर्न पाइनेछ।

जहाँ एउटा घरको सजावटदेखि माछा मारेको लगायतका दृष्य समेत हामीले हेर्न पाउनेछौँ। नाटकमा परम्परागत थारू संस्कार र थारू समाज देखाउन नाटकका निर्देशक र कलारकारले उत्तिकै मेहनत गरेका छन्। 

ख्याल बगालको प्रस्तुतिमा थारू फिल्मस् प्रोडक्शन प्रा.ली.को सहआयोजनामा पुस ६ देखि नाटक सर्वनाम नाटकघर कालिकास्थानमा मञ्चन भइरहेको छ। नाटक आगामी पुस २१ गतेसम्म मञ्चन हुनेछ।

नाटकमा कलाकारहरू ईन्द्र चौधरी, दीपक पछलडङ्ग्या, लक्ष्मी चौधरी, भूमिका चौधरी, निरजबाबु चौधरी, सुनिता चौधरी, उर्मिला चौधरी र शान्ति चौधरीले अभिनय गरेका छन्।

थारू भाषा, संस्कृतिमै आधारित रहेर राजधानीमा मञ्चन भएको 'करोट' नाटक दोस्रो हो। यसअघि प्रणवले शुसील चौधरीको लेखनमा 'भूरभुरा रहर' थारू भाषाको नाटक निर्देशन गरेका थिए। जो दुई वर्ष पहिले मञ्चन भएको थियो। काठमाडौंपछि दाङ, बाँके, बर्दिया र कैलालीमा पनि नाटक मञ्चन गर्ने तयारीमा रहेको निर्देशक आकाशले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.