|

पोखरा : पोखरास्थित नेपाल पर्वतारोहण संघले सञ्चालन गरेको अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा रुपमा दुई कर्मचारी नियुक्ति गरिएपछि विवाद शुरु भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आदेशमा संग्राहलयमा टिकट जाँचकी पदमा अप्सरा पौडेल र टिकट बिक्रेतामा विष्णुमाया देवकोटालाई कर्मचारी नियुक्ति गरिए पछि गुनासो आएको हो। यसअघि टिकट जाँचकीको रुपमा स्थायी कर्मचारी विकल लामाले काम गर्दै आएका थिए। उता टिकट बिक्रेतामा भने कर्मचारी धेरै भएको संग्राहलय स्रोतले बतायो। यसअघि नै दुई जना कर्मचारी रहेको बिक्रेता पदमा एक जनाले मात्र काम भ्याउँदै आएको बताइएको छ। हाल सो पदमा तीन जना कर्मचारी भएका छन्।

‘आफ्नो निकटको मान्छेलाई जागिर खुवाउने नाममा अनावश्यक कर्मचारी किन भर्ती गराइयो?’ संग्राहलयका एक कर्मचारीले भने, ‘अर्काे कुरा कर्मचारी भर्ना गर्नु परे नियम त छ नि।’ संग्राहालयमा कर्मचारी भर्ना गर्न सार्वजनिक रुपमा कर्मचारी आवश्यकताको सूचना प्रकाशन गरी खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोट गर्ने नियम छ।

दुई कर्मचारी भर्ती मन्त्री अधिकारीलाई पर्यटन सचिव कृष्ण देवकोटाले सहयोग गरेका छन्। उनीहरु दुवैले आफन्तलाई संग्राहलयमा कर्मचारीको रुपमा भर्ती गराएको स्रोतले बतायो। मन्त्री अधिकारी र सचिव देवकोटा पनि नजिकका आफन्त भएको बताइएको छ। 

नियुक्तिपत्रविनै हाजिर

हाल नियुक्त अप्सरा पौडेल नियुक्तिपत्रविनै कर्मचारीको रुपमा कात्तिक महिनादेखि नै कार्यालयमा हाजिर भएर काम गर्न थालेकी थिइन्। उनको नियुक्तिपत्र भने मंसिर १७ मात्र आयो। नियुक्तिपत्र नबुझे पनि उनी कार्यालयमा अन्य कर्मचारी सरह हाजिर गर्दै आएकी थिइन्।  पर्यटन सचिवको आफन्त भनिएकी विष्णुमाया भने नियुक्तिपत्र आएको मितिबाट मात्रै कार्यालयमा हाजिर भएकी हुन्।

प्रतिस्पर्धाका कर्मचारीलाई हटाइयो

यसअघि प्रतिस्पर्धाबाट छनोट भएकी एक कर्मचारीलाई हाल हटाइएको स्रोतले बतायो। नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले टिकट सेलर पदमा कार्यरत रचना कुवँरलाई कार्यालय नआउन भनेका थिए। कुँवरले छ महिनासम्म मासिक १८ हजार रुपैयाँ तलब समेत बुझेकी थिइन्। 

‘मैले प्रतिस्पर्धामै नाम निकालेकी थिएँ। छ महिना काम पनि गरेँ,’ रचनाले टेलिफोनमा भनिन्, ‘एक्कासी स्टाफ धेरै भयो अब नआउ भनेर अध्यक्षले भन्नुभयो।’ यस विषयमा जानकारी लिन फोन गर्दा अध्यक्ष लामाले फोन उठाएनन्। तर, आफू अहिले जापान रहेको भनेर मोबाइलमै म्यासेज भने पठाए।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई पटक पटक फोन गर्दा फोन उठाएनन्। उनका स्वकीय सचिव अर्जुन अधिकारीले भने कर्मचारी नियुक्ति गरिएको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए। ‘यस विषयमा न मन्त्री ज्यूलाई, न मलाई, कसैलाई थाहा छैन, कस्ले भन्यो यो कुरा?’ स्रोतका अनुसार संग्राहलयमा थप कर्मचारी पनि नियुक्ति गर्ने तयारी भइरहेको स्रोतले बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.