विचार

मेरा अनौठा सम्बन्ध
SHARES

पुस १२, २०७५

    कहाँ जुनी काट्ने मेसो मात्र, जीवन त अनौठो संयोगहरूको गुच्छा पनि हो। कहाँ संयोगको सगरमाथा मात्र, आश्चर्यको समुद्र पनि त हो।

    जबदेखि मानव जातिको मस्तिष्कमा सामान्य चेतना जाग्न थाल्छ, तबदेखि सम्बन्ध र चाहनाका असीमित पहाड पनि खडा हुँदै जान्छन्। त्यसैले मस्तिष्क जति छिप्पिँदै जान्छ, चाहनाका उकाली पनि बढ्दै जान्छन्। अनि पो सम्बन्धमा कहिले मिठास त कहिले चुकको स्वाद पनि आउँदोरहेछ। तर समग्रमा जीवन यथार्थको ऐना हो, जसलाई फर्केर हेर्दा मीठो अनुभूतिको चाङसँगै अपत्यारिला घटनाका प्रेत पनि अगाडि नाच्दारहेछन्। समग्रमा विगतका सुख–दु:ख त ऐनाबाट आफ्नो बिम्बझैँ आफूसँगै ओझेल हुँदै जाँदारहेछन्।

    जीवनमा यस्ता पनि घटना हुन्छन्- बाल्यकालमा घटे पनि अहिलेसम्म बिर्सन नसकिने। अचम्मकै छ हाम्रो दिमागी ‘हार्डडिस्क।’ आवश्यक लागेको कुरो स्टोर गर्ने, बाँकी सबै तत्काल डिलिट। हिजोआजका कम्प्युटरभन्दा निकै उन्नत।

    मेरो बाल्यकाल बाबा-ममीको सामीप्यमा बितेन भन्न मिल्दैन तर दुवै जना जागिरे। उनीहरूका पनि आफ्नै पीडा। नक्सालस्थित बाल मन्दिरले संचालन गरेको शिशु स्याहार केन्द्रबाट मेरो स्कुले जीवन सुरु भयो। पहिलो दिन स्कुलको बस चढ्दा भक्कानिएको क्षण अहिले पनि कहाँ बिर्सिएको छु र! त्यसताका ममी नेपाल बैंकको न्युरोड शाखामा कार्यरत। घर फर्कंदा कहिलेकाहीँ बसले न्युरोड नै छाडिदिन्थ्यो। ममीको कार्यालय अगाडि नै अर्थात् न्युरोड गेटसँगै टाँसिएको घरमा हस्तकलाको बिक्री केन्द्र थियो।

    त्यहाँको ‘सोकेस’मा एउटा भव्य बुद्धको मूर्ति सजाएर राखिएको थियो। एक दिन मलाई त्यो मूर्ति घर ल्याउन मन लाग्यो। ममीलाई भनेँ। बिचरी उनको के गच्छे त्यो मूर्ति मलाई किनिदिने! धेरै बेर सम्झाइन्, म मानिनँ। रुन थालेँ। केही नलागेर न्युरोडको बाटोमै लडिदिएँ। त्यसपछि ममीको दिमागमा जमेको रिस यसरी पग्लेर हातमा आइपुग्यो कि के भन्नु! सिधै चड्कनका रूपमा मेरो गालामा बजारियो। त्यो बेला एकै पटक तीन लोक, चौध भुवन देखेको आजसम्म बिर्सिएको छैन। फेरि जिन्दगीमा फर्किएर त्यो मूर्तिलाई कहिल्यै हेरिनँ, कस्सम!

    आमाको हातबाट जति रिस गालामा बज्रिन्छ, त्यति नै आँखामा माया पनि छल्किँदोरहेछ। त्यही शिशु स्याहार केन्द्रमा हुँदा एक दिन मेरो निकै करपछि ममीले स्कुलमा नै मलाई लिन आउने बाचा गरेर फकाइफुल्याई पठाइन्। घर फर्किने बेला ममी आइनन्। उनी आउने आशामा स्कुलबाट बस नै चढ्न मानिनँ। बस मलाई छाडेर हिँड्यो। ममीले भने मलाई लिन आउँछु भनेको चटक्क बिर्सिछन्। म घन्टौँ त्यो स्कुलको गेटमा ममीको बाटो ताकेर बसेँ। घर नआइपुग्दासम्म उनलाई कुनै मतलब भएन। लिन आउँछु भनेको सम्झनै रहेनछ। म हराएँ भनेर अनेकौँ स्थानमा खोजी भएछ। जब साँझ उनी झल्याँस्स भइन्, स्कुल आइपुगिन्। त्यो बेला उनले मलाई अंकमाल गरेर भक्कानिएको पनि कहाँ बिर्सन सकेको छु र! आजसम्म।

    जीवनमा हरेक सम्बन्ध समुद्रको छाल जस्तै लाग्छन् मलाई। कहिले कुन चट्टानमा ठोक्किएर बाटो मोड्दै फरक धारबाट बग्छ, थाहै नहुने। न समुद्रलाई, न त त्यो बगिरहेको पानीलाई नै। अनि कतिपय सम्बन्ध ‘डिफ्रिज’मा जमेको बरफझैँ। बिजुलीको नियन्त्रणमा रहने बरफको सम्बन्धझैँ। जहिलेसम्म बिजुली छ, त्यसबेलासम्म अद्भूत रूपमा एकआपसमा जोडिएर रहने तर सामान्य गडबडीमा नै पानी बनेर बगेर जाने। ‘डिफ्रस्ट’ हुने। त्यसपछि हरेक थोपाको गन्तव्य फरक, नियति फरक।

    बाचा गरेर बनाइएका कतिपय सम्बन्धले समेत यस्तै नियति भोग्नुपर्छ अनि बाचाबिनाका सम्बन्ध पनि कहिलेकाहीँ जीवनको मिठास बनिदिन्छ। सधैँ सुगन्ध छरिरहने तर सम्बन्धमा एउटा इमान्दारी भने हुनै पर्छ। नजिक भए पनि टाढा भए पनि यादबाट कसैलाई टाढा राख्न सकिँदैन। विद्यालय जीवनमा बन्ने साथीभाइहरूसँगको सम्बन्ध सायद त्यही ‘डिफ्रिज’को बरफझैँ हुन्छ कि जस्तो लाग्छ। मेरा पनि एकाध त्यस्ता साथी थिए, जो स्कुले जीवनमा अत्यन्त नजिक रहे। ‘रेफ्रिजेटर’ले बरफलाई जमाएर राखेझैँ स्कुले जीवनले जकडेर राखेको तर पछि को कहाँ, को कता? पत्तै भएन। धन्य सामाजिक संजालले फेरि केहीलाई मनको नजिक ल्याइदिएको छ।

    उमेर जसको पनि आउँछ, त्यस्तो। जहाँ कुनै राम्री केटी देख्यो कि मन न हो, चसक्क भइहाल्यो। सायद मेरै लागि बनेजस्तो। जीवनमा मेरै लागि बनेकी जस्तो लागेकी कतिसँग एक पटक मात्र आँखा जुध्यो होला। कतिसँग मीठा गफ मात्र भए होलान्। कतिसँग अलिक अगाडि बढेर खाजासम्म सँगै खाइयो होला। त्यस्ता सबै सम्बन्ध पानीको फोकाझैँ कहिले कहाँ बिलाए, पत्तो पनि भएन। ती सबै अतीतलाई साँचेर मुस्काउने माध्यम मात्र पो रहेछ!

    हुनत ‘को-एडुकेसन’मा पढियो तर आजकालका केटाकेटीझैँ केटीहरूसँग खुलेर बोल्नै जानिएन। बोले पनि एक-दुई जनासँग बोलियो। बोल्यो कि भोलिपल्टदेखि साथीभाइले नामै लिएर गिज्याउन थालिहाल्थे। त्यसैले केटीसँग टाढै बस्नु उचित लाग्ने। के गर्नु, बोल्न मन लागे पनि साथीभाइको डरले चुप लाग्नुपर्ने। त्यो बाध्यताले भविष्यमा शालीनताको परिचय पाउँदा अहँ, कदापि खुसी लागेन बरु त्यही कारण जीवनमा कहीँ कसैलाई गुमाएँ कि भन्ने जस्तो पो लाग्छ। समयसँगै यस्ता चाहनाका पत्रहरू पनि खुल्दै जाँदोरहेछ, जसले विगत सम्झेर चुकचुकाउनबाहेक के नै पो गर्न सकिन्छ र! 

    ममीबाबा अफिस गएपछि मलाई काँधमा बोकेर ऊ भट्टीमा जान्थ्यो। जाँड खान्थ्यो। उसको खेत अहिले चाबहिलमा मेडिकेयर अस्पताल बनेको स्थानमा थियो। घाम छल्न खेतमा बनाइने छाप्रोमा मलाई राखेर ऊ काम गर्थ्यो। म त्यति चकचके पनि थिइँन रे! निकै माया गर्थ्यो। घरमा मलाई कसैले सोध्दा भनिदिन्थ्यो रे- ‘घ्याङमा गएर छ्याङ खाएर आएको।’ 

    कहिलेकाहीँ ज्ञानी बन्दाको बोझसमेत अहिले आफ्नै मनलाई काउकुती लगाउने बहाना बनिदिँदोरहेछ अनि त्यो पनि शालीनतामै पर्दोरहेछ। नचाहँदा नचाहँदै पनि ममा यतिसम्म शालीनताको ‘ट्याग’ लाग्यो कि सबैले अति विश्वास गर्ने। बानी व्यहोरामा इमान्दार सम्झने। म भने आफैँलाई त्यो स्थानमा राख्न चाहन्नँ वा सक्दिनँ। मेरा कतिपय व्यवहार कि भोग्नेलाई थाहा छ कि म स्वयंलाई। नदेख्ने र नभोग्नेका लागि म अति ज्ञानी छु। शालीन छु अनि ज्ञानी पनि छु। मैले पनि समयसँगै आवश्यकताअनुसार जीवनलाई भोगेकै छु। नचाहेर पनि कतिलाई धोका दिएकै छु। तर पनि कदापि ग्लानि छैन, आफैँलाई आफ्नो जिन्दगीको भोगाइप्रति। जिन्दगीको हिँडाइप्रति। मानिसले अरूसँग सक्ला तर अहँ आफैँसँग कहिल्यै सक्दैन, झूटो बोल्न।

    पेसाले पत्रकार भएपछि घर आउने समय उही थियो- भूतले खाजा खाने समयमा। भर्खर विवाह भएको थियो। त्यसताका म रेडियो सगरमाथामा काम गर्थें। दैनिक पत्रिकामा काम गर्ने पत्रकारभन्दा त चाँडै नै घर आइन्थ्यो। बैंकर पिताको संगत व्यहोरेकी मेरी श्रीमतीजीलाई पत्रकारको दिनचर्या अचम्मको लागेछ। एक दिन मेरा पिता मदिरामा मस्त रहेको बेला कुरा लगाउन पुगिछन्। ‘बाबा, खै मलाई त हजुरको छोरोको चालचलन ठीक लाग्दैन। सधैँ ढिलो आउने।’ मेरा पिता बुहारीको गुनासो सुनेर हाँसेछन् अनि भनेछन्, ‘नडरा! सोझै छ त्यो। मैले आफ्नो २५औँ जन्मदिन २५ जना महिलासँग मनाएको थिएँ। तेरो पोइसँग त्यस्तो ह्याउ छैन।’ मेरी श्रमितीजी फ्ल्याट! पत्नीजीले यो कुरा सुनाउँदा म हाँसेँ मात्र। बस्, हाँसेँ।

    तर जिन्दगीमा यति मीठा सम्बन्ध पनि भोगियो कि जसको कुनै नाम हुँदैन। आमाबाउ जागिरे भएका कारण मेरो बाल्यकालको केही समय बुद्धिमानको संगतमा बित्यो। नाम बुद्धिमान संगत, पेसाले किसान। जसलाई हेपेर होइन, माया गरेर म बुद्धि नभएको ज्यापु भन्थेँ। एक नम्बरको जँड्याहा। मेरा ममीबाबा कार्यालय जाँदा त्यसले नै मेरो रेखदेख गर्थ्यो। ऊसँगको कति धमिलो सम्झना अहिले पनि छ।

    ममीबाबा अफिस गएपछि मलाई काँधमा बोकेर ऊ भट्टीमा जान्थ्यो। जाँड खान्थ्यो। उसको खेत अहिले चाबहिलमा मेडिकेयर अस्पताल बनेको स्थानमा थियो। घाम छल्न खेतमा बनाइने छाप्रोमा मलाई राखेर ऊ काम गर्थ्यो। म त्यति चकचके पनि थिइँन रे! निकै माया गर्थ्यो। घरमा मलाई कसैले सोध्दा भनिदिन्थ्यो रे- ‘घ्याङमा गएर छ्याङ खाएर आएको।’ घरमा ठूलाबडाले गर्ने कुराअनुसार बुद्धिमानको अलिक चोर्ने बानी पनि रहेछ। त्यसैले उसलाई पत्नीले छाडेकी रे! तर उसले हाम्रो घरमा कहिल्यै एक पैसा पनि चोरेको रहेनछ। बरु जाँड खान मन लाग्दा पैसा नहुँदा माग्दोरहेछ। मेरो विचारमा ऊ चोर थिएन। नराम्रो कहिल्यै सिकाएन। बरु सुनेअनुसार शारीरिक रूपमा ऊ सन्तान जन्माउन सक्षम थिएन। धन्य! बुद्धिमान वास्तवमा बुद्धिमान नै रहेछ।

    पत्नीले छाड्दा सहजै स्वीकार्‍यो आफ्नो कमजोरी। आजको बजारमा भाउमा करोडौँको सम्पत्ति भाइहरूलाई बाँड्यो अनि एक दिन त्यही जाँडको नशामा कहिल्यै नउठ्ने गरी सुत्यो। बुद्धिमानको घरमा बसेर जयबागेश्वरीमा निस्कने हरेक जात्रा हेरिन्थ्यो। खाजा खाइन्थ्यो। उसलाई अनेकौँ कुरा भनेर जिस्क्याइन्थ्यो, सताइन्थ्यो। ऊ बाललीला मानेर हाँसिदिन्थ्यो, खुसी हुन्थ्यो तर अहँ कहिल्यै रिसाएन। न तीन लोक, चौध भुवन देख्ने गरेर चड्कायो, न त अंकमाल गरेर भक्कानिएर रोयो। बस्! कहिल्यै नमाझेर सुन जस्तो बनेको दाँत देखाएर हाँसी मात्र रहन्थ्यो। लाग्छ, पत्नीबाट सन्तान पाउन नसकेको पीडामा मैले उसलाई मह्लम लगाएको थिएँ कि! नत्र एउटा नेवार किसानले बाहुनको छोरोलाई त्यति उपद्रो माया गर्दैन थियो होला। उसका टोलका पुराना बासिन्दाहरू आज पनि बुद्धिमानले मलाई गरेको मायाको कुरा उठाउँछन्। मलाई भेटेको बेला, खुसी लाग्छ।

    अर्का थिए, बलराम दाइ। बलराम श्रेष्ठ। हाम्रो घरमा फलामको कारखाना थियो उनको। ‘शिवशक्ति मेटल वर्क्स’ ‘स्थापित २०३६’ लेखिएको साइजबोर्ड आज पनि आँखाबाट ओझेल भएको छैन। बलराम दाइ मनमोजी स्वभावका। सायद विवाह नभइसकेकाले पनि होला। पैसा हुँदा पैसा दिन्थे, घुमाउन, खुवाउन लैजान्थे- उनको साइकल चढाएर। उनीसँग त्यही साइकल चढेर विश्वज्योतिसम्म फिल्म पनि हेर्न पुगेको थिएँ। मौका पाए बाबाको मोटरसाइकल मागेर पनि घुमाउन लैजान्थेँ। म उनका साथ लागेर उनकी प्रेमिकालाई पनि भेट्न जान्थेँ। औधी माया गर्थें।

    हरेक दशैँमा हामी उनीसँग टीका लगाउँथ्यौं। उनले साझेदारीमा मेरा बाबासँग फलाम बिक्री गर्ने व्यापार पनि गरे। दुई जनाको मन मिलेन। टाढा भए। म निकै रोएको थिएँ त्यो दिन। बलराम दाइ फेरी कहिल्यै फर्किन्न भनेर हाम्रो घरबाट हिँडेको दिन। स्वाभाविक रूपमै हामी पनि टाढा भयौँ। त्यो सम्बन्ध बिग्रनु अगावै उनको विवाह पनि भइसकेको थियो तर ती प्रेमिकासँग होइन। म कारमा उनीसँगै बसेर बेहुली लिन गएको थिएँ। उनका भाइभन्दा म उनका लागि प्यारो थिएँ जस्तो लाग्छ।

    आखिर पानीको फोको नै त रहेछ सम्बन्ध। बाबा र बलराम दाइबीचको तीक्तताले हामीलाई पनि असर पार्‍यो। उनको घरमा आउजाउ पनि कम भयो तर पनि बन्दै भइसकेको थिएन। एक दिन अचानक बलराम दाइ देवघाटको नारायणी नदीमा डुबेर मरेको समाचार सुनेँ। पशुपतिमा लास ल्याउँदा उनको फुलेको लासले उनी नै हो भन्न सकिनँ। मान्न सकिनँ। मेरो मान्नु र नमान्नुको के नै अर्थ नै हुन्छ र सत्यको अगाडि। भाउजुले सेता लुगा लगाएको हेर्न सक्दिनँ जस्तो लाग्यो। किरिया बसेको ठाउँमा पनि गइनँ। कहीँ कतै आज पनि बलराम दाइ जीवितै छन् कि जस्तो पनि लाग्छ। तर के गर्नु, मनले नमाने पनि उनको मृत्युलाई मेरो आँखाले भने स्वीकार्‍यो, थामिन सकेन। जसरी बुद्धिमान मरेको खबरले बगेका थिए यी आँखा।

    मनको अगाडि जातको कुनै अर्थ रहँदैन। बुद्धिमान र बलराम दाइ दुई नेवारसँग यो बाहुनको छोराको आत्मीयता यति कसिलो रह्यो कि आजका कुनै जातिवादीलाई बुझ्न गाह्रै पर्ला। 

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]