|

काठमाडौं : विश्वभर जलवायुको असर परिरहेको बेलामा सिन्धुपाल्चोकमा जलवायु सम्मेलन हुने भएको छ। जिल्ला समन्वय समिति महासंघको आह्वानमा मेलम्ची नगरपालिकाको ज्यामिरे गुफाडाँडामा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा तीन तिने प्रथम राष्ट्रिय जलवायु सम्मेलन पुस १५, १६ र १७ गते हुने भएको छ।

बुधबार काठमाडौंमा संचार केन्द्र नेपालमा भएको पत्रकार सम्मेलनमा नेपालमा पहिलो पटक हुन लागेको यो जलवायु सम्मेलन एकदमै महत्त्वपूर्ण रहेको जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दासले बताइन्। कार्यक्रममा ७७ जिल्लाका समन्वय समितिका प्रमुखहरूको उपस्थित हुनेछ। जलवायुको असरले नेपाललाई पारेको क्षतिको असरबारे विश्वलाई सचेत गराउने यो सम्मेलनको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

सम्मेलनले दीर्घकालीन असरबाट बच्नका लागि सचेत गराउने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद पूर्वमन्त्री अग्नि सापकोटाले बताए। जलवायुको विषय महत्त्वपूर्ण विषय भन्दै सापकोटाले यस विषयमा समयमै ध्यान दिन नसके नेपालले र विश्वले ठूलो क्षति भोग्ने धारणा राखे। 'हामीले गल्ती गरेका छैनौँ तर पनि हामीले यसको सजाय किन भोग्ने?', उनले भने, 'यसको क्षतिपूर्ति हामीले पाउनुपर्छ।'

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसद पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले हिमाल बचाउन सक्दा मानव सभ्यता बचाउन सकिने भनेर बताए। जलवायुको असरले सबैभन्दा बढी नेपाललाई असर गरिरहेको पनि उनले बताए। भर्खरै नेपालका राष्ट्रपतिले नेपालको प्रतिनिधित्व गरेर पनि आइसकेको अवस्था रहेका कारण पनि उक्त कार्यक्रममा राष्ट्रपतिलाई प्रमुख अतिथि बनाएको तामाङले जानकारी दिए।

सम्मेलनमा देशका ७७ जिल्लाका नाम अंकित नेपालको झण्डा राखिने र उक्त सम्मेलनमा पृथ्वी र आकाशको प्रतिमासमेत राखिने सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए।

कार्यक्रममा सिन्धुपाल्चोक घोषणापत्र जारी गरी जलवायुअनुकूल योजना निर्माणबारे सन्देश विश्वलाई दिने योजना रहेको आयोजकले जानकारी दिएको छ। सम्मेलनले जिल्लामा भएका पर्यटकीय स्थलको प्रचारप्रसार समेत हुने भएकाले सम्मेलनबाट सिन्धुपाल्चोकको विकासमा ठूलो टेवा पुग्ने तामाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.