|

धनगढी : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) ले  निर्मला पन्तको हत्यारालाई आफ्नो पार्टीले कारबाही गर्ने बताएका छन्। बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रवक्ता प्रकाण्डले निर्मलाको हत्यारालाई सरकारले कारबाही गर्न अक्षम रहेको बताएका हुन्।

‘यो अब सरकारको बसमा छैन, सरकारले गर्ने भए अहिलेसम्म गरिसक्थ्यो। अब यो जनताको बसमा छ’ उनले भने, ‘जनताको पहलकदमीमा, पार्टीको नेतृत्वमा यो घटनाको सत्यतथ्य जनताको बिचमा ल्याएर पार्टीले कारबाही गर्छ गर्छ। यत्ति लेखिराख्नुस्, टाइममात्रै दिनुस्।’

सरकारमा संलग्न र उच्च पदस्त व्यक्तिका छोराछोरीमाथि यस्तो घटना  नभएका कारण उनीहरू गम्भीर नभएको उनले आरोप लगाए। ‘ओलीजीकै छोरीलाई त्यस्तो भएको भए ओलीजी के गर्नु हुन्थ्यो? बादलजीकै छोरीलाई त्यस्तो परेको भए बादलजी के गर्नुहुन्थ्यो। प्रचण्डकै छोरीलाई परेको भए के गर्नुहुन्थ्यो होला। शेरबहादुरकै छोरीलाई परेको भए के गर्नुहुन्थ्यो?’ भन्ने प्रश्न गर्दै प्रकाण्डले भने, ‘अहिलेका नेताहरू र शासकहरू जनताको गार्जेन भएनन् ।’

प्रकाण्डले वर्तमान सरकार हटाउने चलखेल भइरहेको बताएका छन्। भारत र अमेरीकासँग वर्तमान प्रधानमन्त्री केपी ओलीको नमिलेका कारण यस्तो चलखेल सुरु भएको उनले बताए। ‘इन्डिएन र अमेरिकासँग केपीजीको मिलेको रहेनछ भन्ने त देखियो नी त! त्यो किन मिलेन? त्यो उहाँले भन्दै जानुहोला । त्यही कारणले गर्दा सरकारलाई त हटाउन थालेका छन्’ प्रकाण्डले दोहोराए, ‘हटाउन थालेका छन्। त्यो मैले उहाँहरूको संसदीय खेलभित्रको कुरा गर्‍या।’

उनले वर्तमान सरकार स्थायी हुन नसक्ने दाबी गरे। उनले भने, ‘५ वर्ष त टाढाको कुरा भयो, एक बर्ष  पनि जाँदैन । यो खेल भएको छ ।’

अहिलेको सरकार विगठन गरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल वा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार ल्याउने खेल भइरहेको प्रकाण्डले टिप्पणी गरेका छन्। उनले संसदवादी दल र तीनका नेताहरू विदेशी शक्ति केन्द्रको गोट्टी भएको आरोप लगाए।

प्रकाण्डले पूर्वराजा ज्ञानेन्द्र शाह सत्तामा आउने सम्भावना नरहेको दाबी गरेका छन्। 'ज्ञानेन्द्र शाह यहाँ आएर सत्ता लिन्छु भन्ने मैले सोचेका पनि छैनन् र लिने अवस्था पनि छैन' उनले भने,  ‘ज्ञानेन्द्र शाहले त्यो मुर्खता गरे भने अहिले त नागार्जुन छ, त्यसपछि त्यो पनि सिद्धिन्छ।’

प्रकाण्डले महासचिव विप्लप र आफूबीच फाँटो ल्याउन देशी विदेशी शक्तिहरू लागि परेको पनि बताएका छन्। ‘यो त हाम्रो क्रान्ति, जनता र राष्ट्रको विरुद्ध षड्यन्त्र हो’ उनले भने। १८ हजार मान्छेको बलिदानी गरेर पुरानो सत्तामा जानेहरूले विप्लप यहाँ नरहेको र भारतमा रहेको आरोप लगाइरहेको उनले बताए।

देशभर विप्लवको पार्टीले चन्दा आतंक फैलाएको चर्चा चलिरहेका बेला प्रकाण्डले आफ्नो पार्टीको चन्दा असुली गर्ने नीति नरहेको बताएका छन्। उनले पार्टीको गतिविधि सञ्चालनका लागि राष्ट्रिय पूँजिको पक्षधर उद्योगी व्यवसायीहरूबाट स्वैच्छिक सहयोग लिएको बताएका छन्। ‘व्यवस्थापनमा सहयोग लिने पार्टीको नीति छ’ प्रकाण्डले भने, ‘जबरजस्ती त टाढाको कुरा भया, चन्दा लिने पनि नीति छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.