|

काठमाडौं : संविधान निर्माण सम्बन्धी कानुन निर्माणमा संसदीय समितिलाई सक्रिय बनाउन सभामुख ओनसरी घर्तीले संसदीय समितिको बैठक बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोक्ने भएकी छिन्। संसदीय समितिका सभापतिहरुसँगको परामर्शपछि सभामुख घर्तीले समयसीमा निर्धारण गर्ने भएकी हुन्। समितिको बैठक लगत्तै दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म संसद बैठक चलाउने सभामुखको तयारी छ।

सिंहदरबारमा मंगलबार प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिहरुसँगको परामर्शपछि सभामुख घर्तीले मंसिर दोस्रो सातादेखि संसद बैठक अपरान्ह १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निष्कर्षमा पुगेकी हुन्। 'संसदमा अब सुरु हुने प्रश्नोत्तरको दिन र विशेष परिस्थिति बाहेक अबदेखि संसद बैठक १ बजेबाट गर्ने सभामुखको तयारी छ,' सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने। 

संसद र समितिको बैठक समय हेरफेर किन?

संविधान निर्माणको अवस्थामा मुलुक रहेपनि संविधान कार्यान्वयनका लागि निर्माण हुनुपर्ने कानुन निर्माणको गति सुस्त छ। संसदमा संविधान कार्यान्वयन लागि आवश्यक कानुन सहित अन्य गरी ४० वटा विधेयक दर्ता भएका छन्। ती विधेयक समितिमा छलफलका क्रममा छन्। समितिको बैठक प्राय बिहान राखिन्छ।

सभामुख ओनसरी घर्तीले खाजा तथा खाना कुपन कटौती गरी भत्ता दिने निर्णय गरेपछि समितिको बैठकमा सांसदहरु बिहानै उपस्थित हुन गाह्रो मान्छन्। कतिपय अवस्थामा कोरम नपुगेर समिति बैठक स्थगित हुने गरेको छ। यसकारण पनि समितिमा छलफलमा रहेका कानुनले पूर्णता पाउन समय लागिरहेको छ। '१० बजे देखि १ बजेसम्म समिति बैठक राखेपछि सांसदहरुले खाना खाएर बैठकमा उपस्थित हुने मौका पाउँछन् सांसदहरुको सहभागिता पनि बढ्ने भएकाले समितिको सक्रियता बढ्नेछ,'सभामुखका प्रेस सल्लाहकार शर्मा भन्छन्।

यता व्यवस्थापिका संसद बैठकमा समेत सांसदहरुको उपस्थिति न्युन हुने गरेको छ। सांसदहरुको उपस्थिति न्युन हुँदा महत्वपूर्ण छलफल समेत प्रभावित भइरहेका हुन्छन्। त्यो अवस्थाको अन्त्य गर्नपनि सभामुखले समितिक र संसद बैठकको समय हेरफेर गर्न लागेको संसद सचिवालयले जनाएको छ।

सभामुखको तयारीले कानुन निर्माणमा तीव्रता पाउने अपेक्षा

सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन सम्बन्धी कानुन  निर्माणमा १८ घन्टा खर्च गर्न संसदीय समितिलाई मंगलबार निर्देशन दिएकी छिन्। उनको निर्देशन र योजना कार्यान्वयन भएमा  संसदीय समितिले कानुन निर्माणमा तीव्रता दिने दलका प्रमुख सचेतकहरुको अपेक्षा छ। 'सभामुखको तयारी व्यवाहारिक छ, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने,'१० बजेदेखि १ बजेसम्म समिति बैठक राख्दा समितिले पनि युद्धस्तरमा काम गर्न सक्छ संसद बैठक १ बजे राख्दा समितिको काममा पनि अवरोध हुँदैन।'

 यस्तै राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले सभामुखको निर्णय कार्यान्वयनमा आए संसद तथा समिति कोरम नपुगेर स्थगन गर्नुपर्ने अवस्था नआउने बताउँछन्। '१० बजेदेखि समिति बैठक हुँदा सांसदहरु खाना खाएर उपस्थित हुन्छन्। १ बजेदेखि संसदमा उपस्थित हुनुपर्छ यसले कोर नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आउन नदेला,' गिरीले भने।

सभामुख ओनसरी घर्ती मंसिर ४ गते रसिया भ्रमणमा जाँदैछिन्। साताव्यापी भ्रमण सकेर  फर्किएपछि आफ्नो योजना कार्यान्वयनमा ल्याउने सभामुखको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.