|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तका दोषीलाई कारबाही गर्न सरकार चुकेको बताएकी छन्। उनले निर्मला बलात्कार र हत्या प्रकरणलाई राज्यले नै ढाकछोप गर्न खोजेको पनि आरोप लगाइन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा सचेतक भुसालले सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नै भनेको र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि बेलाबेला अनुसन्धानमा प्रहरी चुकेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यो चुक के थियो भनेर प्रश्न गरिन्।

उनले भनिन्, 'कसको आदेशमा निर्मलाका बलात्कारी र हत्याराको प्रमाण सुरक्षाकर्मीले नष्ट गरेका हुन्? सरकारले जानकारी दिनुपर्‍यो।' भुसालले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रममा निर्मला हत्यामा संलग्न पक्राउ परिसकेको भन्दै दिएको अभिव्यक्ति कुन आधारमा थियो भनेर प्रश्न गरेकी थिइन्।

भुसालले निर्मला हत्यामा संलग्न भनेर पक्राउ परेका विशाल चौधरी र प्रदीप रावललाई यातना दिएको दाबी गरेकी छन्। उनले यातना दिएर अपराध स्वीकार गराउन प्रहरीले भूमिका खेलेको र त्यो मानवअधिकार उलंघन भएको बताइन्। उनीहरूको मानसिक अवस्थामा गम्भीर क्षति पुगेको उनको धारणा थियो।

साथै निर्मलाका बुबाको मानसिक अवस्था गुम्न लागेको र आमाले न्याय नपाएको भुसालको भनाइ थियो। उनले यस्तो अवस्थामा 'राज्य गम्भीर हुन जरुरी छ कि छैन?' भनेर प्रश्न गरिन्। उनले निर्मला पढ्न गएको र त्यहाँबाट हराएको घरका बम दिदी बहिनीलाई बचाउने गरी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति पनि चासो राखेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.