|
Photo : fsm-media.com

काठमाडौं : राष्ट्रिय कर दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ। मूल्य अभिवृद्धि कर लागू भएको दिन मंसिर १ गतेलाई हरेक वर्ष राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको छ। 

२०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर भ्याट लागू भएपछि आर्थिक वर्ष २०६९/२०७० देखि राष्ट्रिय कर दिवस मनाउन लागिएको हो। यो वर्ष  ‘गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको आन्तरिक राजस्व विभागले जनाएको छ। 

विभागका महानिर्देशक चुडामणि शर्माले गतवर्ष ४ सय ७५ अर्ब राजस्व सङ्कलन गरेकोमा यसवर्ष ५ सय ६६ अर्ब सङ्कलन गर्ने लक्ष्य राखिएको बताए। विभागले अहिले देशका विभिन्न ३० जिल्लामा ४९ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ। 

कर दिवसका अवसरमा सन्देश दिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा राजस्व प्रशासन थप दायित्व बोधका साथ सक्षमता पूर्वक परिचालित भई सरकारको वित्तिय आवश्यकता पूरा गर्न खरो उत्रिन जरुरी रहेको उल्लेख गरेका छन्। उनले कर प्रशासनलाई अझ बढी स्वच्छ, पारदर्शी, करदाता र सूचना प्रविधी मैत्री बनाउन र सबै नागरिकलाई कर प्रति सचेत बनाई कर तिर्ने बानीको विकास गर्न थप प्रेरणा मिलोस भन्ने कामना पनि गरेका छन्। 

यस्तै, अर्थमन्त्री कृष्णबहादुर महराले आगामी दिनमा कर सहभागिता र राजस्व प्रशासनबाट स्वच्छ कर व्यवहार प्रदर्शन हुन सकेमा राजस्व प्रणाली अझ बलियो हुन गई सरकारी खर्चमा मुलुक आत्मनिर्भर हुनसक्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.