|

काठमाडौं : प्रधानन्यायाधीशमा प्रस्तावित चाेलेन्द्रशम्शेर जबराले आफू प्रधानन्यायाधीश नियुक्त भए अदालतहरूमा भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउने बताएका छन्। 

आफ्ना अनुभव, इच्छा र कार्ययोजना संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत गर्दै जबराले आइतबार न्यायालयलाई भ्रष्टाचार मुक्त गर्ने र छिटो छरितो न्याय सम्पादन गर्ने बताएका छन्। 

उनले भने, 'न्यायालयमा हुने अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने छु। अनियमितता र भ्रष्टाचारका तरिका पहिचान गरेर कारबाहीका लागि पहल गर्नेछु।' जबराले न्यायालय सुधारका लागि विभिन्न संयन्त्र बनाएर अगाडि बढ्ने बताए। 

त्यसैगरी, सर्वाेच्च अदालतमा कामकाे भारका आधारमा जनशक्ति कम भएकोले अब सर्वाेच्च अदालतमा न्यायाधीश दरबन्दी बढाउन पहल गर्ने जबराले बताए। उनले न्यायाधीश नियुक्तिका लागि नयाँ नीति बनाउन काम गर्ने र न्यायाधीश नियुक्ति गर्न समानुपातिक र समावेशी प्रणाली अपनाउने बताए। अदालतकाे प्रभावकारिता बढाउन फैसला कार्यान्वयनमा पनि पहल गर्ने जबराले बताए। 

जबराले देशकाे वर्तमान अवस्थामा संघीयता कार्यान्वयनमा न्यायालयले भूमिका खेल्नुपर्ने अवस्था आएकाे बताएका छन्। उनले आफू प्रधानन्यायाधीश नियुक्त भए सर्वाेच्च अदालतलाई संघीय शासन प्रणाली अनुसार बदल्न नेतृत्व गर्ने बताए। उनलेे न्यायालयमाथि जनताकाे चासोलाई सम्बाेधन गर्न आवश्यक रहेको र त्यसलाई विभिन्न तवरबाट सम्बाेधन गर्न पहल थाल्ने बताए। 

संसदीय सुनुवाइ समितिका सदस्यहरूले प्रधानन्यायाधीशमा प्रस्तावित जबरालाई उनले विगतमा गरेका फैसला, समितिमा आएका उजुरीमा आधारित रहेर प्रश्न गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.