‘दबाबले मेलमिलाप दिवस'
‘दबाबले मेलमिलाप दिवस'
काठमाडौं : नेपाली कांग्रेसले पुस १६ मा प्रत्येक वर्ष राष्ट्रिय एकताको सन्देश दिँदै राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ। कांग्रेस संस्थापक नेता वीपी कोइराला प्रधानमन्त्री भएकै समय २०१७ साल पुस १ गते राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन र दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा १६ वर्षपछि, २०३३ साल पुस १६ गते राजासँग विद्रोह नभई मेलमिलाप गरेर अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकाल्दै निर्वासनबाट वीपी नेपाल आएको सन्दर्भलाई कांग्रेसले मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ। उनी २०१७ देखि ०२५ सालसम्म जेलमा बसेका थिए भने त्यसपछि २०३३ सम्म भारतमा निर्वास जीवन बिताएका थिए।
सबैलाई मेलमिलापको सन्देश दिने कांग्रेसमा भने सायदै कहिल्यै भएन होला मेल। सबै दल मिलेर जानुपर्ने सन्देश बोक्ने कांग्रेस पार्टी भित्रका गुट मिलाउन भने कमै समय खर्चेको कांग्रेस नेताहरूले नै स्वीकार्ने गर्छन्। पछिल्लो समय पार्टीभित्रको मेलमिलापमा भने सक्रियता देखाएको कार्यकर्ताले महसुस गरेका छन्।
महासमिति बैठकपछि कांग्रेस एक भएको सभापति शेरबहादुर देउवाले घोषणा गरेका थिए। तर त्यसको केही दिनमै नेता कृष्णप्रसाद सिटौलाले आफूहरू त्यो एकतामा सहमत नभएको भन्दै प्रतिवाद गरे। अन्य नेताहरू प्रकाशमान सिंह, अर्जुनरसिंह केसी, शेखर कोइरालालगायत पनि असन्तुष्ट रहेको बताइएको छ। उनीहरूले वरिष्ठ नेता रामचन्द्र पौडेल स्वार्थमा फसेको आरोपसमेत लगाउँदै आएका छन्।
पार्टीभित्रको यो बेमेलता अहिलेको मात्र होइन। विगतदेखि नै कांग्रेस एक भएर अघि बढ्न सकेको छैन। महासमिति बैठकपछिको एकतामा सभापति देउवा र पौडेल मात्र सामेल भए। अन्य नेताहरू भने आफ्नै गुटमा मस्त छन्। महासमिति बैठक सकिएपछि नेताहरूले आफ्नो गुटका नेतामार्फत कार्यक्रम आयोजना गर्न लगाउँदै आएका छन्।
एकताको सन्देश दिने भनिएको महासमिति बैठकपछि पार्टीमा केही फरकपन त आयो तर, गुटलाई संस्थागत गर्न नयाँ समीकरणको सुरु भयो। वरिष्ठ नेता पौडेलको नेतृत्वमा रहेको असन्तुष्ट समूहले छुट्टा-छुट्टै गुटको प्रयास गरिरहेको छ उता पौडेलसँगै रहेको भनिएको कोइराला परिवारमा समेत दुई धार प्रष्ट देखिन्छ। विगतदेखि सभापति देउवालाई मौन समर्थन गर्दै आएका महामन्त्री डा.शशांक कोइराला र सुजता कोइराला पछिल्लो समय देउवासँग नजिक छन् भने डा.शेखर कोइलाला देउवासँग असन्तुष्ट बन्दै आएका छन्।
महासमिति बैठकबाट एकताको सन्देश लिएर महासमिति सदस्यहरू घर पुग्न नपाउँदै पार्टीमा गुटगत विभाज देखिएको भन्दै कांग्रेस नेताहरूले भने चिन्ता व्यक्त गरेका छन्। ‘पार्टीमा रहेको गुट गिरोहले गर्दा हामी प्रतिपक्षको सिटमा आइपुग्यौँ’, पूर्वमहामन्त्री तारानाथ रानाभाट भन्छन्, ‘ त्यसकारण हामीले महासमिति बैठकमा एक हुनुपर्छ भनेर आवाज उठायौँ। नेताहरूका गला मिलाएर एकताको सन्देश पनि दियौँ। तर महासमिति सदस्यहरू घर पुग्न नपाउँदै म एक छैन है भन्नु दुखद् हो।’
मेलमिलाप दिवस मनाए पनि बेमेलताको अवस्थाले कांग्रेस कमजोर बनेको पुराना नेताहरूको बताउँछन्। कांग्रेसले विपीको सम्झनामा भन्दा पनि दबाबका कारण मेलमिलाप दिवस मनाउन बाध्य भएको कांग्रेसका पुरान नेताको आरोप छ।
‘वीपीको विचारमा काम गर्ने संघसंस्थाले वीपीको विभिन्न सदर्भ मनाउँदै आएको छ। यसले पार्टीलाई पनि लाज भयो’, पुराना नेता विनयध्वज चन्द भन्छन्,‘ पार्टीले वीपीलाई सम्भिएर होइन। दबाबमा परेर कार्यक्रमको आयोजना गरेको हो।’ नेताहरूले गुट चलाएर पार्टी सिध्याएको उनको आरोप छ। ‘अहिले त नेपाली कांग्रेस भन्ने नै छैन विभिन्न नामअनुसार समूह र गुट छ’, उनले भने ‘यसले पार्टी सिध्याएको छ।’
पार्टीका नेताहरूले वीपीको नाम लिएर सत्तामा जाने बाटो बनाएको उनको आरोप छ। ‘उनीहरू वीपीको विचारलाई भजाएर सत्तामा जान्छन्’, उनले भने, ‘वीपीको विचारलाई आफ्नो दुनो सज्याउने माध्यम बनाए।’
वीपीको चाहना गुट र गिरोह नभएको कांग्रेस नेता केबी गुरुङ बताउँछन्। ‘वीपीले गुट र गिरोह चाहनुहुन्न थियो। विचारमा वादविवाद हुनुलाई उहाँ स्वाभाविक मान्नुहुन्थ्यो’, उनले भने, ‘तर अहिलेका नेताहरू लेनदेन र बार्गेनिङका लागि गुट चलाउँछन्।’
पछिल्लो समय नेताहरू व्यक्तिग स्वार्थमा भुल्दा पार्टी कमजोर बनेको उनको भनाइ छ। ‘केका लागि मेलमिलाप दिवस मनाउने? पार्टीभित्र मेल छैन अरूलाई मेलमिलापको सन्देश दिने?’, उनले भने, ‘नेताहरू व्यक्तिगत स्वार्थमा फसे। यो वीपीको चाहना थिएन।’
तर राजनीतिक विश्लेषक भने यस्ता कार्यक्रमहरूले नै पार्टीलाई एक बनाउँदै लैजाने तर्क गर्छन्। गुट/उपगुटमा विभाजित कांग्रेसका नेताहरूले इतिहास निर्माताले गरेका यस्ता कामलाई सामूहिक रूपमा लिने र यसले द्वन्द्व कम गर्न सहयोग गर्ने विश्लेषकहरूको बुझाइ छ।
‘अहिले शेरबहादुरजी र रामचन्द्रजीको मुख्य गुट छ। कृष्ण सिटौलाले गगन थापाहरूसहित अर्को गुट चलाएका छन् भने इमोसनबाट राजनीतिक चलाउने कोइराला परिवारको आफ्नो छुट्टै गुट छ’, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘तर यो गुटबीच पनि कुनै मुद्दाले एक बनाउँछ। यो दिवस मनाउन सबै गए नि! एउटाको मात्र कार्यक्रम त भनेनन् नि। यस्ता मुद्दाहरूले पार्टीलाई एकता गर्छ। द्वन्द्व क्रमश समाधान हुँदै गएको छ।’
महासमिति बैठकले पनि सबैलाई एक ठाउँमा ल्याउन नसकेको उनले बताए। ‘महासमिति बैठकमा शेरबहादुर र रामचन्द्र मिलेको देखियो। कांग्रेसमा तीन/चारवटा गुट छ। दुईवटा गुट मिल्दैमा कांग्रेस मिल्दैन’, उनले भने, ‘दुई ठूलो नेताले हामी मिल्दा सबै मिल्छन् भन्ने सोचे।’
तर देउवा र पौडेलको एकता दिगो हुन सक्ने विश्लेषक आचार्यको आँकलन छ। ‘दुई नेताबीच जुँगाको रेखी बस्दादेखिकै संघर्ष छ। उनीहरूले सानैदेखि लोकतन्त्रका लागि सँगै जेलनेल भोगेका छन्’, उनले भने, ‘उनीहरूबीच एकअर्कामा प्रतिस्पर्धा हुन सक्छ। तर बीचमा कसैले बाजी मार्दा एकअर्काबीच माया र त्याग हुन्छ। सायद त्यसैले उनीहरूले हामीबीच डिप लभ छ भनेका होलान्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।