|

इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदारीमा रहेका लिभरपुल र म्यानचेस्टर सिटी बिहीबार राती प्रतिस्पर्धा गर्दै छन्। सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राती पौने २ बजे हुनेछ। बहुप्रतीक्षित भिडन्तमा सिटीले उपाधि होडमा आफूलाई बलियो बनाउन लिभरपुलको अपराजित यात्राको अन्त्य गर्नुपर्नेछ भने लिभरपुल भने अग्रता फराकिलो बनाउने ध्याउन्नमा मैदानमा उत्रनेछ। 

स्टार खेलाडीले भरिएका दुवै टिमको भिडन्तलाई यस पटकको प्रिमियर लिगको उपाधिको नक्सा केही हदसम्म क्लियर पार्न सक्ने खेलका रूपमा समेत हेरिएको छ। २९ वर्षपछि प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलको आतिथ्य गर्न आतुर रहेको सिटीका प्रशिक्षक पेप ग्वार्डिआलाले उच्च फर्म रहेको क्लब लिभरपुलमा जति दबाब छ, त्यति नै आफूमा रहेको बताए। उनले यो खेल आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको भन्दै लिभरपुलभन्दा ७ अंकले पछि भएकाले यो दूरीलाई घटाउने राम्रो मौका सदुपयोग गर्ने चुनौती रहेको बताए। ग्वार्डिओलाले भने, ‘हामी उत्कृष्ट फुटबल खेल्नेछौँ। अन्तिम समयसम्म पनि उपाधिका लागि नै खेल्नेछौँ।’

त्यस्तै, लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले सिटीविरुद्धको खेल कठिन हुने बताए। सिटी निकै बलियो टिम रहेको र प्रशिक्षक पनि उत्कृष्ट रहेको उनको भनाइ थियो। आजको खेलमा सिटीका इल्के गुन्डोगन एक खेल गुमाएर टिममा फर्किँदै छन्। यस्तै, केभिन डी ब्रुइनले पनि टिमको प्रशिक्षणमा सहभागिता जनाएका थिए। फाबियन डेल्फा भने टिममा हुनेछैनन्। उनी प्रतिबन्धमा परेका छन्।

यता, लिभरपुलका मिडफिल्डर जेम्स मिल्नर चोटका कारण दुई खेलमा बाहिर हुँदा सिटीविरुद्ध मैदानमा फर्किनेछन्। अल्बेर्टो मोरिनो पनि फिट भएका छन् भने जोर्डन हेन्डसन र बेबी केइटा पनि टिममा रहनेछन्। सिटीले गत सिजनमा लिभरपुललाई ५-० ले हराएको थियो। पछिल्ला ११ खेलमा सिटीले तीन बराबरी र सात खेलमा हार व्यहोरेको छ। यी दुई टिम अहिलेसम्म कुल १६४ पटक खेलका छन्ऽ जसमा सिटीले ४३ खेल जितेको छ भने ७९ खेल हारेको छ। ४२ खेल बराबरी भएका छन्। 

इतिहास हेर्ने हो भने पनि लिभरपुल सिटीमाथि हावी रहेको छ। त्यसमा पनि लिभरपुलले अवे खेलमा ३१ खेल जितेको छ भने २९ खेल हारेको छ। सिटीले घरेलु मैदानमा २९ मा जीत र ३१ मा हार व्यहोरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.