|

काठमाडौं : मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछी बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। रिपोर्टर्स क्लब नेपालमा मिडिया टप नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो विमोचन गरेका हुन्।

सार्वजनिक गीतको लय/शब्द रचना माधव भण्डारीको रहेको छ। गीतमा गोपाल तिवारी र राधा तिवारीको आवाज छ। राजेश तिमिल्सीनाको निर्देशन तथा प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ। रामजी खाँड र करिश्मा ढकालको नृत्य देख्न सकिन्छ भने भिडियोका दृश्य करन चौसिरले क्यामरामा कैद गरेका हुन्।

कार्यक्रममा बोल्दै गायक तिवारीले आफूले बजारमा ल्याएको यो भाकाबाट निकै आशावादी रहेका बताए। करिव १० वर्ष पहिले ‘आए दिदी’ बोलको तीज भाकाबाट चर्चित बनेका गायक तिवारीले दर्जनौं गीतमा आवाज दिइसकेको बताए। कार्यक्रममा गीतका रचनाकार माधव भण्डारीले अहिलेको परिवेश सुहाउँदो भाका रहेका कारण पनि यो गीत सबैको मनमा बस्न सफल हुने विश्वास गरे।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, नवलपरासीकी अध्यक्ष तथा गीतकी गायिका राधा तिवारी, हिमालयन इन्टरनेश्नलका अध्यक्ष सविन घिसिङ, नेपाली राष्ट्रिय बाजा सारंगीका वरिष्ठ सर्जक खड्क गन्धर्वलगायतले गीतको शुभमना तथा आफ्ना कुरा राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.