|

धनगढी : गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि मेची नेत्रालय काँकरभिट्टा ट्रेनिङ सेन्टर झापा तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा मंगलबारदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ क्लबलाई पराजित गर्दै मेची नेत्रालय अघिल्लो चरणमा पुगेको हो। खेलको अधिकांश समय आक्रामक रणनीतिमा रहेका दुबै टोलीले गोल गर्न भने सकेनन्। निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि सडन डेथमा झापाले ७–६ को जित दर्ता गरेको हो।

सडन डेथमा सुदूरपश्चिम ११ का बिदेशी खेलाडी लावल ओलाकानको प्रहार अकासिएपछि झापाको जित पक्का भएको थियो। त्यस अघि सडन डेथमा माधव भण्डारीको प्रहारलाई दिप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए। दिपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए। सुदूरपश्चिम ११ का लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिप तामाङ र चेतन कुमार थारुले गोल गरे। झापाका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे। कप्तान खामीर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए। उनले १० हजार रुपैयाँ हात पारे। विजेता टोली झापाले अब पुस २८ गते एपिएफको सामना गर्नेछ। प्रतियोगिताअन्तर्गत बुधबार हुने खेलमा नेपाल पुलिस क्लबले मोरङ ११ को सामना गर्नेछ। यस अघि एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको उद्घाटन गरेका थिए। 

मौफसलकै सर्वाधिक धनराशीको प्रतियोगीताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट खेलाडीले यामाहाको १५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५/१५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ। प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुने छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.